केन्द्र र प्रदेशसभा निर्वाचनका लागि कास्की कांग्रेसमा १ सय ५९ जनाले निवेदन दिएका छन् ।
कास्कीका केन्द्रमा ३ र प्रदेशमा ६ वटा पदका लागि क्षेत्रीय समितिहरूमा १ सय ५९ जनाको निवेदन परेको हो । जिल्ला समितिले उम्मेदवारहरूको नाम संकलनको जिम्मा क्षेत्रीय समितिलाई दिएपछि क्षेत्र नं १ मा ५९, क्षेत्र नं २ मा ४५ र क्षेत्र नं ३ मा ५४ जनाले उम्मेदवार बन्न निवेदन दिएको क्षेत्रीय समितिहरूले जनाएका छन् ।
बैठकमा पार्टीभित्रको मर्यादा क्रमलाई ध्यान दिँदै नाम केन्द्रीय समितिमा सिफारिस गर्ने नेपाली कांग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले बताए । उनले सबै नाम पठाउने कि केही नाम मात्र पठाउने भन्ने बारेमा मंगलबार बस्ने कास्की कांग्रेसको पदाधिकारी र क्षेत्रीय समितिको आवश्यक राय पछि मात्रै केन्द्रमा पठाउने निर्णय भएको जानकारी दिए ।
कास्की क्षेत्र नं १ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षततर्फ कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञ बहादुर थापा, पूर्व सभामुख तारानाथ रानाभाट, सांसद जीवन परियार, फत्ते बहादुर गुरुङ, गुरु बराल, तिलक रानाभाट, कृष्ण बहादुर कार्कीले उम्मेदवार बन्न निवेदन दिएको क्षेत्रीय सभापति विर्जमान गुरुङले जानकारी दिए ।
त्यसैगरी, प्रतिनिधिसभाको समानुपातिकतर्फ गौरी सापकोटा, सरस्वती गुरुङ, परशुराम वी पोखरेल, पदमशरण रेग्मी, तारा अधिकारी र हुम बहादुर गुरुङ आकाङ्क्षी देखिएका छन् । क्षेत्र नं १ (क) प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ २३, समानुपातिकतर्फ ८, क्षेत्र नं १ (ख) को प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ८ जनाले निवेदन दिएका छन् ।
त्यस्तै, क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोभियत बहादुर अधिकारी, ऋषिराम काफ्ले, देवराज चालिसे, युवराज लामिछाने, डा परमेश्वर पोखरेल र गुरु प्रसाद बरालले निवेदन दिएको क्षेत्रीय सभापति विजय आचार्यले बताए ।
यसैगरी, समानुपातिकतर्फ रजनी केसी, सकुन्तला कोइराला, प्राडा रामचन्द्र पोखरेल, खेम कुमारी बराल, विन्दा देवी आले, गंगा बहादुर खत्री र पद्मसिंह गुरुङ उम्मेदवारको आकाङ्क्षी छन् । प्रदेशसभा क्षेत्र नं २ (क) को प्रत्यक्ष र समानुपातिकमा ५ र ५ जना आकाङ्क्षी छन् । क्षेत्र नं २ (ख) मा प्रत्यक्षतर्फ १० र समानुपातिकमा ९ जना उम्मेदवारको आकाङ्क्षी रहेका उनले बताए ।
यस्तै, क्षेत्र नं ३ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सांसद शारदा पौडेल, पूर्व सांसद शुक्रराज शर्मा, पूर्व राज्यमन्त्री महादेव गुरुङ्ग, खेमराज पौडेल, बाबुराम आचार्य, दीपक गुरुङ र भरतजंग कुवर रहेका छन् । त्यसैगरी, समानुपातिकतर्फ भोला थापा, सुरेन्द्र बहादुर भारी, कृष्ण कुमारी परियार, रामजी कुवर, गौमती थापा, गंगा केसी, मन बहादुर विश्वकर्मा लामगादे, राम प्रसाद अधिकारी र पोषनाथ शर्माले आकाङ्क्षी रहेका क्षेत्रीय सभापति पोषनाथ शर्माले जानकारी दिए ।
त्यस्तै प्रदेश सभा क्षेत्र नं ३ (क) को प्रत्यक्षतर्फ ८, समानुपातिकतर्फ १७, क्षेत्र नं ३ (ख) मा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ६ जनाले उम्मेदवार बन्न निवेदन दिएको उनले बताए ।
आज बसेको जिल्ला समितिको बैठकले तीन वटै क्षेत्रका क्षेत्रीय समितिहरूले पठाएका नाममा छलफल भएको कास्की कांग्रेसका प्रवक्ता नविन सिग्देलले जानकारी दिए ।