दाङ जिल्लामा क्रियाशिल प्रमुख तीन राजनीतिक दलहरूले आगामी मंसिरमा हुने संघीय निर्वाचनको लागि उम्मेदवारको लगभग टुङ्गो लगाएका छन्।
उम्मेदवार टुङ्गो लगाउनको लागि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू दाङमै आएका थिए। काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व सिंचाई मन्त्री दीपक गिरी र श्रम तथा रोजगार राज्यमन्त्री अझै गृह जिल्ला दाङमै छन् ।
नेपाली काँग्रेसले केन्द्रीय सदस्य गिरीलाई निर्वाचन क्षेत्र नं. ३ बाट संघीय उम्मेदवारको रुपमा अघि सार्ने निश्चित भएको छ । गिरीको नामसहित अन्य व्यक्तिको नामपनि केन्द्रमा सिफारिस भएपनि टिकट गिरीले नै पाउने निश्चित रहेको नेपाली काँग्रेस दाङका एकजना पदाधिकारीले सेतोपाटीलाई बताए ।
गिरी यसअघि निर्वाचन क्षेत्र नं. ३ अर्थात साविक निर्वाचन क्षेत्र नं. ५ बाट निर्वाचित सांसद पनि हुन् । त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा काँग्रेसबाट यसअघि क्षेत्र नं. ३ बाट निर्वाचित सांसद राजु खनाल र समानुपातिक सांसद अनिता देवकोटको नाम संघीय निर्वाचनका लागि सिफारिस भएको छ ।
त्यसैगरी, निर्वाचित क्षेत्र नं. १ बाट काँग्रेसभित्र प्रभावशाली मानिने केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खुमबहादुर खड्काकी पत्नी एवं सांसद शीला खड्का, साविक क्षेत्र नं. २ बाट निर्वाचित सांसद सुशीला चौधरी र निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद एवं केन्द्रीय सदस्य पार्वती डिसी चौधरीको नाम संघीय निर्वाचनका लागि सिफारिस भएको स्रोतले बताएको छ ।
तर, प्रदेशका उम्मेदवार चयन गर्न भने काँग्रेसलाई निकै सकस भएको छ ।
दर्जनौं आकाँक्षी भएपछि प्रदेश उम्मेदवार चयनमा निकै कठिनाई उत्पन्न भएको नेपाली काँग्रेस दाङका सचिव शंकर डाँगीले जानकारी दिए । ‘प्रदेश सभाका लागि उम्मेदवार चयन गर्न निकै तनाव छ र त्यसको लागि मंगलबार (आज) छलफल हुँदैछ ।’ सचिव डाँगीले भने ।
क्षेत्रबाट आकांक्षीको ठूलो लिष्ट जिल्लामा सिफारिस भएर आएको उनले बताए । सचिव डाँगीले आज जिल्लामा आइपुगेपछि त्यसबारेमा आजको कार्य समितिको बैठले निर्णय गर्ने जानकारी दिए ।
नेकपा एमालेका संघीय उम्मेदवारनेकपा एमालेले संघीय निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ ।
एमाले जिल्ला सचिव हिरा चन्द्र केसीलाई निर्वाचन क्षेत्र नं. ३ को संघीय उम्मेदवारका रुपमा प्रस्ताव गरिएको छ । उनको मात्रै नाम सिफारिस भएकोले काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले र केसीका बीचमा प्रतिस्पर्धा हुने निश्चित जस्तै छ ।
एमालेले यसअघि काँग्रेसका दीपक गिरीसँग पराजित एमालेका उत्तर कुमार वलीलाई यस पटक भने उक्त क्षेत्रबाट प्रदेश सभाका लागि नाम सिफारिस गरेको छ । त्यस्तै, नेकपा एमालेको स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री शंकर पोखरेललाई निर्वाचन क्षेत्र नं. २ बाट संघीय उम्मेदवार बनाउने निश्चित जस्तै छ । यदि त्यसो भएमा दाङको क्षेत्र नं. २ मा माओवादीका कृष्णबहादुर महरा र पोखरेलबीच प्रमुख प्रतिस्पर्धा हुने देखिन्छ।
त्यसैगरी, एमालेले जिल्ला इञ्चार्ज एवं वैकल्पिक केन्द्रीय सदस्य मेटमणी चौधरीलाई निर्वाचन क्षेत्र नं. १ बाट संघीय उम्मेदवार बनाउने गरी सिफारिस गरेको छ ।
जिल्ला सचिव हिरा चन्द्र केसीका अनुसार संघीय निर्वाचनका लागि तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लागेको भएपनि प्रदेश सभाका उम्मेदवारको टुङ्गो लाग्न भने अझै केही समय लाग्ने छ । आकांक्षी धेरै रहेकोले प्रदेश सभाको उम्मेदवार चयनमा कठिनाई रहेको केसीले बताए।
माओवादी केन्द्रमाओवादी केन्द्रले पनि संघीय निर्वाचनको लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेर पठाइसकेको छ ।
निर्वाचन क्षेत्र नं. १ मा पहिलो संविधान सभाको निर्वाचनमा काँग्रेस नेता खुमबहादुर खड्कालाई हराउन सफल इन्द्रजित चौधरी र जिल्ला सह–इञ्चार्ज एवं पोलिट व्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरेको छ ।
चौधरी पार्टी विभाजनपछि वैद्य माओवादीमा गएका थिए भने उनी रामबहादुर थापा बादलसँगै माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका हुन् ।
त्यसैले, यी दुईमध्ये कसको नाममा टिकट आउँछ भन्ने टुङ्गो लागिनसकेको जिल्ला सह–इञ्चार्ज निर्मल आचार्यले बताए ।
निर्वाचन क्षेत्र नं. २ मा भने परराष्ट्र तथा अर्थमन्त्री कृष्णबहादुर महराको नाम लगभग अन्तिम जस्तै रहेको स्रोतले बताएको छ । यद्यपी यो क्षेत्रबाट माओवादी केन्द्रका नारायण प्रसाद शर्माको नाम पनि सिफारिस भएको जिल्ला सह–इञ्चार्ज आचार्यले सेतोपाटीलाई बताए ।
दशैं मनाउनको लागि परराष्ट्रमन्त्री कृष्णबहादुर महरा झण्डै एक हप्ता दाङमा बसेर राजधानी गएका थिए ।
रोल्पाको स्थायी बासिन्दा भएपनि महरा पहिलो संविधान सभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । तर, दोस्रो संविधान सभाको निर्वाचनमा उनी रोल्पाबाटै चुनाव लडेर जितेका थिए ।
छिमेकी जिल्ला रोल्पा लगायत पहाडी जिल्लाहरू रुकुम, प्यूठान र सल्यानबाट बसाई सरेर दाङ आएकाहरूको संख्या अधिक रहेको हुँदा तिनैको मतले निर्वाचन जित्न सहज हुने भएकोले फेरि महरालाई माओवादीले पहिले जितेको निर्वाचन क्षेत्र नं. ३ तथा हालको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार बनाउन लागेको हो ।
यही क्षेत्रमा एमालेका प्रभावशाली नेता शंकर पोख्रेलपनि भिड्न थालेकोले निर्वाचन क्षेत्र नं. २ मा सबैभन्दा बढी प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
त्यसैगरी माओवादी केन्द्रले पूर्व सांसद कुवेर वली र नेता जगप्रसाद शर्मा ‘अपार’लाई निर्वाचन क्षेत्र नं. ३ बाट चुनाव लडाउने गरी नाम केन्द्रमा सिफारिस गरेको जिल्ला सह–इञ्चार्ज आचार्यले बताए ।