दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार संघीय समाजवादी फोरम नेपालले अग्रता अझै बढाएको छ।
नेपाली कांग्रेसको प्रमुख पदका उम्मेदवार अजय कुमार द्विवेदीलाई पछाडि छोडेका संघीय समाजवादी फोरम नेपालका प्रत्यासी विजय कुमार सरावगीले मतान्तर १३०१ पुर्याएका छन्।
७३०७२ मत गणना हुँदा सरावगीले १६८४१ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै नेपाली कांग्रेसका द्वीवेदीले १५५४० मत प्राप्त गरेका छन्
त्यस्तै उप-प्रमुख पदमा भने नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। नेपाली कांग्रेसको तर्फबाट प्रमुख पदकी प्रत्यासी शान्ति कार्की झन्डै १९ सयभन्दा बढी मतको अन्तरले संघीय समाजवादी फोरम नेपालकी पिंकी देवी यादवलाई उछिनिरहेकी छन्।
कार्कीले १७ हजार ९ सय ५ मत ल्याउन सफल भएकी छन् भने फोरमकी पिंकी यादवले १५ हजार ९ सय ७६ मत प्राप्त गरेकी छन्।
त्यसैगरी प्रमुख पदमा १० हजार ८५ मत प्राप्त गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) को प्रमुख पदका प्रत्यासी राजेशमान सिंह तेस्रो स्थानमा पुगेका छन्। सतगणनाको सुरूवातमा अग्रता लिएका उनी क्रमशः पछि परेका हुन्।
नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ८ मतले चौथो स्थानमा अघि रहेका छन् । उनले ७ हजार ६ सय २१ मत ल्याएका छन् भने नेकपा एमालेका बसरुद्दीन अन्सारीले ७ हजार ६ सय १३ मत ल्याएका छन् ।
७ हजार १ सय १ मत प्राप्त गर्दै नेपाली लोकतान्त्रिक फोरमका विमल प्रसाद श्रीवास्तव छैठो स्थानमा रहेका छन्।