राष्टिय जनता पार्टीको केन्द्रीय सदस्य एवम सभासद रमेश पटेलको गाउँबाट संघीय समाजवादी फोरम नेपालको उम्मेदवार वडाअध्यक्षमा विजयी भएका छन् ।
मधेश आन्दोलनको केन्द्र विन्दु रहेको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २५ मा संघीय समाजवादी फोरम नेपालका वडाअध्यक्षका उम्मेदवार विसराज राउत कुर्मी ६ सय ६३ मत प्राप्त गरेर विजयी भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छ ।
नेपाल लोकतान्त्रिक फोरमको कोषाध्यक्ष एवम सभासद आशा चतुर्वेदीको वडासमेत रहेको सो वडामा फोरम लोकतान्त्रिकका उम्मेदवार द्धितीय स्थानमा रहेका छन् । नातामा चतुर्वेदीका भतिजा पर्ने आशुतोष चतुर्वेदीले ५ सय ७० मत प्राप्त गरेर निकटमत प्रतिद्वन्द्वी रहेका छन् ।
वीरगञ्ज महानगरपालिकाको सो वडामा राजपाका उम्मेदवार रामाकान्त प्रसाद कुर्मीले ४०९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।
राजपाले महामन्त्री राजेशमान सिंहलाई वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि अर्का महामन्त्री विमल श्रीवास्तव पार्टी परित्याग गरी नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गर्दै वीरगञ्जको मेयरमा चुनाव लडेका थिए ।
विमल श्रीवास्तवसँगै लोकतान्त्रिकमा प्रवेश गरेका आशुतोष चतुर्वेदी वडा अध्यक्षमा चुनाव लडेका थिए ।