सरकारको बर्खास्तगीमा परेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का सर्वोच्च अदालत गएका छन्।
आफुलाई बर्खास्त गर्ने निर्णय विरुद्ध उनले बुधवार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
बर्खास्तगीको पत्र ल्याएर आएपछि उनको रिट निवेदन दर्ता भएको सर्वोच्च प्रवक्ता नारायण पन्थिले जानकारी दिए।
अन्तरिम आदेशद्वारा सरकारको निर्णय खारेज गर्ने आदेश दिन खड्काले सर्वोच्च समक्ष माग गरेका छन्।
आफुलाई चारवर्षका लागि नियुक्त गरिएको र अझै डेढवर्ष आफ्नो कार्यकाल रहेको रिटमा उल्लेख छ। सरकारले आफुविरुद्धका आरोप प्रमाणीत गर्ने मौका र आफ्नो सुनुवाई नगरि गैर कानुनीरुपमा हटाएको जिकिर खड्काले लिएका छन्। अझै औपचारिक पत्र नपाइसकेको उल्लेख गर्दै उनले सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन आदेशको माग गरेका हुन्।
आयल निगमको जग्गा खरिद गर्दा व्यापक अनियमितता गरेको प्रकृया पुरा नगरेको र भ्रष्टाचार गरेको सार्वजनिक भएपछि संसदले पनि उनलाई हटाउन सरकारलाई पटकपटक निर्देशन दिएको थियो।
सरकारले असोज २ गते खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको थियो।