दुई दिनपछि नेपालीहरुको महान चाड दसैँ सुरु हुदैँछ। बिहिबार दसैँको घटस्थापना छ। त्यही दसैंमा घर जान तेस्रो चरणमा स्थानीय चुनाव भएको प्रदेश नम्बर २ मा खटिएका कर्मचारीलाई हतार छ। परिवारसँग समय बिताउने चाहनाले दसैँअगाडि जतिसक्यो छिटो मतगणना सक्ने धाउन्नमा छन्।
रौतहटको गरुडा नगरपालिकामा खटिएका निर्वाचन अधिकृत नविनकुमार जोशीले गए रातिबाट नै मतगणना सुरु गरे। बिहानबाट उनले दुई स्थानमा गणना सुरु गराए। दलीय प्रतिनिधिलाई पनि दसैँको हतारो छ।
कतिपय निर्वाचनमा खटिएका कर्मचारी टाढा पुग्ने पर्ने भएकाले समयको चापमा छन्।
‘दसैँ आयो भन्ने उहाँहरुलाई पनि थाहा छ, आजै पाँच ठाउँमा गणना सुरु गर्ने भनेका छौँ’, जोशीले भने, ‘विवाद नआए हुन्थ्यो।'
मतगणनामा विवाद भए समय लम्बिने चिन्ता जोशीलाई छ। उनलाई १९ हजार ६ सय मत गनिसक्नु छ।
जोशीलाई जस्तै सर्लाहीको बागमती नगरपालिकाका निर्वाचन अधिकृत अशोकराज रेग्मीलाई पनि दसैँको हतारो छ। दसैँ मान्न उनी सर्लाहीबाट पर्वत पुग्नु पर्नेछ।
‘दसैँ त कताकता, मत गन्नुपर्नेछ पहिला’, रेग्मी भन्छन्, ‘हतार गरौँ लतार होला भन्ने डर।'
उनी सबैको समन्वय भए पाँच दिन भित्रै गणना सक्ने योजनामा छन्। समन्वयका लागि दलीय प्रतिनिधसँग उनले छलफल गरिरहेका छन्।
महोत्तरीको एकडारा गाउँपालिकामा खटिएका कृष्णप्रसाद पुडासैनीलाई दसैँ मनाउन काठमाडौँ आउनु छ। दश हजार मत खसेको गाउँपालिकामा पाँच दिनमा मतगणना सक्ने उनको लक्ष्य छ।
तर गणनाका लागि खटाउने सक्षम कर्मचारी अभावमा ढिलाइ भइरहेको छ। ‘काममा त्यति दक्ष मानिस भेटिएनन्’, पुडासैनी भन्छन्, ‘दसैँ भ्याउने लक्ष्य हो।'
स्थानीय दलीय प्रतिनिधि र उम्मेदवारको सहयोग पाउने आशा उनले पनि राखेका छन्।
पर्सामा खटिएका पोखराका गोविन्दप्रसाद पोखरेले कम्तीमा दुई स्थानमा मतगणनाका लागि दलीय प्रतिनिधिलाई मनाउने प्रयास गरिरहेका छन्। दलीय प्रतिनिधि धेरै हुँदा मतगणना अगाडि बढाउन उनलाई समस्या छ।
‘दलीय प्रतिनिधिहरु अब दसैँ यहीँ मनाउने भन्नुहुन्छ’, पोखरेल हाँस्दै सुनाउँछन्, ‘एक ठाउँमा मत गणना गर्ने हो भने त दश दिन लाग्छ।‘
पोरखेल पर्साको जिराभवानी गाउँपालिकाका निर्वाचन अधिकृत हुन्।
पर्साका प्रहरी उपरिक्षक सुदीप गिरी दसैँको हतारो निर्वाचनमा खटिएका कर्मचारीलाई बढी भएको उल्लेख गर्छन्। सुरक्षामा खटिएकाहरुलाई दसैँका बेला पनि काम गर्नुपर्ने पुरानै जिम्मेवारी भएको उनले बताए। ‘हामीलाई त के दसैँ, के चाडपर्व, जिम्मेवारी पुरा गर्नुपर्छ’, उनले भने, ‘निर्वाचन प्रक्रिया पूरा गर्ने जिम्मेवारी छ।‘
गिरी निर्वाचन प्रक्रिया र मतपत्र जटिल भएकाले मतगणना लम्बिने देख्छन्। तर दलहरुबीच चाँडै गर्ने सहमति बन्ने उनलाई अाशा छ।
दसैँको हतारोले निर्वाचनको मतपरिणाम भने छिटो आउने देखिन्छ। त्यसो त निर्वाचन आयोगले पाँच दिन भित्रै मतगणना सक्न सोमबारै मुख्य निर्वाचन अधिकृतहरुलाई निर्देशन दिइसकेको छ।
आयोग प्रवक्ता नवराज ढकालले दसैँ नजिकिएको हिसाब गरेरै पाँच दिनमा मतगणना सक्न निर्देशन दिएको बताए। 'त्यसका लागि हामीले थप समूह बनाएर गणना गर्न भनेका छौं आवश्यक बजेट पनि पठाएका छौं,' ढकालले भने, 'सहजीकरण गर्न हरेक जिल्लामा तीन जना कर्मचारी पनि पठाएको छ।'
उनले सामान्य अवस्थामा मतगणना भएमा वीरगन्ज महानगरसहित सबै ठाउँको मतगणना सकिने बताए।
प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा सोमबार मतदान भएको थियो। मंगलबार अपरान्हसम्म झन्डै सय स्थानीय तहमा मतगणना भइरहेको आयोगले जनाएको छ।