धनुषा, सिरहा, सप्तरी र महोत्तरी जिल्लामा राजनीतिक दलहरूले निर्वाचन प्रसारप्रसारमा बालबालिकाको प्रयोग गरिरहेको राष्ट्रिय मानवअधिकार आयोग निर्वाचन अनुगमन टोलीले जनाएको छ ।
आयोगद्वारा जनकपुरधाममा आज आयोजित पत्रकारसम्मेलनमा आयोगका सदस्य सुदीप पाठकले प्रसारप्रसारका क्रममा तुल, ब्यानर, टोपी, भेस्ट र ठूलो आवाजमा लाउडस्पिकरको प्रयोग गरिएको पाइएको बताए ।
अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती महिला र अशक्त मतदातालाई कसरी मतदान स्थलसम्म सजिलो तरिकाबाट मतदान गराउनेबारे अन्योलमा रहेको र कतिपय मतदान केन्द्रहरू खोला तरेर जानु पर्ने भएकाले पानी परेमा वैकल्पिक व्यवस्था मिलाइएको पाइएन भनी विज्ञप्तिमा उल्लेख छ ।
मतदाता शिक्षा प्रभावकारी नभएको, केही जिल्लाका मतदान केन्द्रहरू खुल्ला चौरमा रूखमुनि भएको र हालै आएको बाढीले बाटोहरू बिग्रिएको अवस्थामा रहेकोतर्फ ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तिमा उम्मेदवारले प्रसारप्रसारका क्रममा भारतीय नम्बरप्लेटका गाडी व्यापकरूपमा प्रयोग गरेको र केही मतदान केन्द्रमा अझ पनि हिलो र सप्तरीको राष्ट्रिय प्राथमिक विद्यालयको मतदान केन्द्रमा तीन फिटसम्म पानी जमेको पाइएको उल्लेख गरिएको छ ।
स्थानीय प्रशासनले शान्ति सुरक्षाका लागि केही जिल्लामा मानिसलाई नियन्त्रणमा लिएको र आममतदातामा निर्वाचनप्रति उत्साहपूर्ण सहभागिताका लागि प्रतीक्षारत रहेको पाइएको पनि जानकारी गराइएको छ ।
सदस्य पाठकले सबै जिल्लामा शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गरिएको जानकारी सुरक्षा निकायबाट गराइएको पनि बताए । रासस