अपहरणमा परेका रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीको खोजि गर्न राप्ती अञ्चल प्रहरी प्रमुख एवम् एसएसपी दिलिप चौधरी नेतृत्वको टोली रोल्पा जान लागेको हो।
प्रदेश नं. ५ का प्रहरी प्रमुख एवम् एआईजी मिङमार लामाले सेतोपाटीलाई दिएको जानकारी अनुसार अपहरणमा परेका गाउँपालिका अध्यक्ष घर्तीको खोजि गर्न हेलिकोप्टर मागेको र त्यो सम्भव नभए गाडीबाटै भए पनि एसएसपी चौधरीको नेतृत्वमा प्रहरी टोली रोल्पा जाने छ।
उनले अध्यक्ष घर्तीको खोजि गर्न रोल्पा र रूकुमबाट व्यापक मात्रामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए। त्यसैगरी सीमा जोडिएका जिल्लाहरू प्यूठान, दाङ, सल्यानलगाएका क्षेत्रमा पनि प्रहरीले निगरानी बढाएको एआईजी लामाले बताए। ‘रोल्पामा मात्रै नेपाल प्रहरीको सात वटा युनिटहरु खटिएका छन्, सशस्त्र प्रहरी पनि त्यतिकै मात्रामा परिचालन गरिएको छ,’ उनले भने ।
थवाङ २ कोईलावाङस्थित ससुरालीमा बसेका गाउँपालिका अध्यक्ष घर्तीलाई बिहिबार राति साढे ११ बजेतिर पिशाव फेर्न बाहिर निस्किएको मौकामा नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताले अपहरण गरेर लगेको लामाले बताए। ‘१०/१२ जनाको संख्यामा रहेका नकापधारी व्यक्तिहरुले घर्तीलाई नियन्त्रणमा लिएर लगेको भन्ने जानकारी प्राप्त भएको छ,’ एआईजी लामाले भने।
घर्तीकी पत्निले मेरो श्रीमानलाई किन र कहाँ लैजान लाग्नु भएको? भन्ने प्रश्न गर्दा अपहरणकारीले भनेका रहेछन् ‘आत्तिनु पर्दैन, हामी उहाँलाई सम्मानपूर्वक राख्ने छौं, हाम्रो उद्धेश्य शनिबार प्रचण्डको कार्यक्रम असफल तुल्याउनु मात्रै हो।’
शनिबार थवाङमा प्रथम गाउँसभा उद्घघाटन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रोल्पा आउने कार्यक्रम छ। त्यही कार्यक्रम विफल तुल्याउन गाउँपालिका अध्यक्ष घर्तीलाई अपहरण गरेको अनुमान प्रहरीले गर्दै आएको छ।
अपहरित गाउँपालिका अध्यक्ष घर्ती माओवादी लडाकुका पूर्व कमाण्डर समेत हुन्। घर्तीको खोजीमा रोल्पा जान लागेको एसएसीसहितको सुरक्षा टोली शनिबार पूर्वप्रधानमन्त्री प्रचण्डको कार्यक्रम सकेर मात्र दाङ फर्किने लामाले जानकारी दिए।