तेस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि रौतहटमा उत्साहपूर्वक मनोनयन दर्ता भएका दिनदेखि अहिले जिल्ला भरी चुनावी रौनक छाएको छ ।
असोज २ गते हुन गइरहेको स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि १६ नगरपालिका र २ गाउँपालिका गरी १८ वटा स्थानीय तहको उम्मेदवारहरूले विभिन्न गाउँ र टोल-टोलमा गई भोट मागिरहेका छन् ।
करीब २० वर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार लगायत मतदाताहरू हर्षित छन् । केही दिनदेखि भोट माग्न केन्द्रीय नेताहरू नै मतदाताको घरदैलो पुगेका थिए।
रौतहटका दलित समुदाय भने ठूला तथा मधेसवादी दलले आफ्नो वर्गका व्यक्तिलाई प्रमुख पदमा सहभागिता नगराएकोमा दुखित छन् ।
‘२० वर्ष को अन्तरालमा हुन गइरहेको स्थानीय तहका चुनावमा भाग लिन पाउँदा खुसी भएको छु ।’ नेपाल राष्ट्रिय दलित संघका जिल्ला अध्यक्ष सुखारी बैठाले भने,‘ तर रौतहटमा ठूला पार्टीहरूले दलित वर्गका समुदायलाई प्रमुख पदमा सहभागिता नगराएकोमा दुखी छु । ’
आफूलाई दलितको नेता भन्ने मधेसवादी दलका पार्टीले पनि प्रमुख पदमा सहभागिता नगराएको उनले बताए । रौतहट जिल्लामा दलित वर्गका धेरै युवाहरू छन् जुन स्थानीय तहका प्रमुख पदमा रहेर जिल्ला,गाउँ र देशलाई विकास गर्न सक्षम भएको बैठाले सुनाए ।
त्यसैगरी,अर्का स्थानीय सामसरन्दर ठाकुरले पनि स्थानीय तहका निर्वाचनमा भाग लिँदा एकदमै खुशी भएको बताए । ‘कहिले भोट खसाल्ने दिन अाउँछ र भोट हाल्छु भन्ने आतुरमा छु ।’ उनले बताए ।
उनले पनि स्थानीय तहका चुनावमा प्रमुख पदका लागि दलित वर्गलाई सहभागिता नगराएकोमा दुखेसो पोखे ।
रौतहटमा अहिले १८ वटा स्थानीय तहमा १८ मेयर, १८ उपमेयर, १५७ वडा सदस्य, सदस्य ६२८ गरी कुल ८२१ जना पदाधिकारी चयन हुनेछन् । जिल्लामा २७७ मतदान स्थल र ४३४ मतदान केन्द्र कायम गरिएको छ । मनोनयन दर्ता भएको दिन देखि निर्वाचन तथा मतगनणासम्म जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी सात हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।