नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अबको दुई- चार दिन भित्रै नेपाली सेनाको प्रदेश कार्यालय सरकारले तोक्ने बताएका छन् ।
आइतबार दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री समेत रहेका पुनले प्रहरी प्रमुखको अस्थायी प्रदेश कार्यालय तोकिसकेको हुँदा अबको दुईचार दिन भित्रै नेपाली सेनाको पनि प्रदेश कार्यालय तोक्ने तयारी भइरहेको जानकारी दिए ।
उनले दाङमा नेपाली सेनाको प्रितना आउने बताए । ‘यसअघि नै तुलसीपुरस्थित १९ नम्वर बाहिनीलाई यहाँबाट अन्यत्र स्थानान्तरण गर्ने निर्णय भइसकेको छ। तर अझैं बाहिनी तुलसीपुरमै छ ।’ उनले भने
यसैबीच सत्ता साझेदार दलका नेता पुनले मंसिरमा हुने दुई चरणको निर्वाचन अघि यो गठबन्धन कायमै रहने बताए । उनले भने ‘मंसिरमा दुई चरणको निर्वाचन कुनैपनि हालतमा हुन्छ र यो गठबन्धन पनि कुनैपनि हालतमा कायमै रहन्छ ।’
त्यसैगरी उनले प्रदेश नं. २ मा हुन गइरहेको तेस्रो चरणको निर्वाचन शान्ति पूर्ण रुपमा सम्पन्न हुने जानकारी दिए ।
यसअघि निर्वाचन बहिष्कार गरेका दलहरू समेत अहिलेको निर्वाचनमा सहभागी भएको हुँदा निर्वाचन शान्ति पूर्ण हुने उनको धारणा थियो । उनले प्रदेश निर्वाचन तथा संघीय निर्वाचनपछि संविधान कार्यान्वयनको पाटो सहज रुपमा अगाडि बढ्ने आशा व्यक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका प्रदेश नं. ५ का प्रदेश इञ्चार्ज समेत रहेका पुनले दाङ नै प्रदेश नं. ५ को राजधानी बन्ने दाबी गरे ।
‘दाङ प्रदेश राजधानी बन्ने निश्चित छ’ पुनले भनेका थिए ‘ दाङलाई राजधाानी बनाउने सवालमा प्रमुख दलहरूका बीचमा सहमति आवश्यक बन्नेछ ।’ कार्यक्रममा उनले नेपालगञ्ज र बुटवललाई समेत समान रुपमा विकास गर्ने योजना प्रस्तुत गरेका थिए ।