नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले राजा महेन्द्रले गर्न नसकेको काम केपी ओलीले गरेर देखाएको बताएका छन् ।
अाइतबार दाङको तुलसीपुरमा अायोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका पोख्रेलले राष्ट्रियताको सवालमा केपी ओलीले राजा महेन्द्रका भन्दा राम्रो काम गरेकै कारण सत्ताबाट हटाउने षडयन्त्र भएको दाबी गरेका हुन् ।
‘चीनसँगको ऐतिहासिक सम्झौता होस् वा नाकाबन्दीको समयमा भारतको ज्याजती विरुद्ध ओलीको अडान त्यो अनुकरणीय छ ।’ नेता पोख्रेलले भने, ‘राष्ट्रियताको सवालमा एमालेले निर्वाह गरेको भूमिकाबाट आत्तिएका देशी विदेशी शक्तिले ओलीलाई पदबाट हटाउने षडयन्त्र भएपनि जनता जागेर एमालेलाई सम्मान गरेको उनको धारणा थियो ।
उनले २ नं. प्रदेशको निर्वाचनमा पनि एमाले नै पहिलो शक्ति बन्ने ठोकुवा गरेका थिए । राजपाका महामन्त्री, माओवादी, उपेन्द्र यादव लगाएतका दलहरूबाट एमालेमा केन्द्रीय नेताहरू एमालेमा पार्टी प्रवेश गर्ने क्रम बढ्दै जानुले त्यही संकेत गर्ने उनको दाबी थियो ।
उनले प्रदेश नं. २ को निर्वाचनलाई जनमत संङग्रह जस्तै हुने बताए । संविधान संशोधन बिना निर्वाचन हुनै सक्दैन भन्ने पक्ष र संशोधन नगरी निर्वाचन गर्नुपर्छ भन्ने पक्ष बीचको जनमत संङग्रहका रुपमा असोज २ को निर्वाचनलाई लिनु उपयुक्त हुने उनको भनाइ छ । कपिलवस्तु लगाएतका क्षेत्रमा सम्पन्न निर्वाचनमा राजपा नेपाल लगाएतका दलहरूले निर्वाचन बहिष्कार गर्दा पनि ७७ प्रतिशत मतदान भएको हुँदा संविधान संशोधन बिना निर्वाचन हुन सक्दैन भन्नेहरू असफल भएको बताए ।
प्रदेश र प्रतिनिधी सभाको निर्वाचन एकै चरणमा गराउँदा एमाले विजयी बन्ने त्रासले सरकारले मंसिरको निर्वाचन दुई चरणमा गराउन खोजेको उनको आरोप छ ।
पहिलो चरणमा पराजित भएपछि दोस्रो चरणमा गठबन्धन गर्ने उद्धेश्यका साथ दुई चरणमा निर्वाचन गराउन खोजिएको भएपनि अब एमाले सँगै एक्लै भिड्न सक्ने हैसियत कुनै दलको नभएको जिकिर गरे ।
दाङ प्रदेश नं. ५ को राजधानी बन्नेमा कुनै आशंका नगर्न उनको आग्रह थियो । तर, यो साझा प्रयासबाट मात्रै संभव हुने उनले बताए ।
उनले नेपालगञ्जलाई औद्योगिक सहर, कपिलवस्तुलाई पर्यटन सहर र दाङलाई प्रदेश नं.को प्रशासनिक सहरका रुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए ।