अर्थ राज्यमन्त्री उदय शमशेर राणाले स्थानीय तहको निर्वाचनले स्थानीय तह अधिकार सम्पन्न भएको बताउँदै स्थानीय तहले नै आम्दानीका स्रोतहरू बढाउन ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
शनिबार इलामको रोङ गाउँपालिकाको प्रथम गाउँसभालाई उद्घाटन गर्दै अर्थराज्यमन्त्री राणाले स्थानीय निकायलाई सर्वोपरी बनाउनका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिए।
रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालय कर्मचार्य, पूर्व सांसद टीकाराम लाप्चा, महासमिति सदस्य बेनुपराज प्रसाईंलगायतका नेताले रोङ गाउँपालिकाको सामाजिक, आर्थिक, भौतिक, धार्मिकलगायतका विभिन्न क्षेत्रका समस्याका बारेमा अर्थराज्यमन्त्री समक्ष जानकारी गराएका थिए।
दुई करोडमा पुस्तकालय
इलाम जिल्लाका ३१ वटा सामुदायिक विद्यालयमा रु दुई करोड १५ लाखको लगानीमा पुस्तकालय बनेका छन्।
विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयमा साढे छ लाखका रुपैयाँ दरले पुस्तकालय निर्माण भएको जिल्ला शिक्षा कार्यालय इलामका शाखा अधिकृत निर्मल ढुंगेलले बताए।
उनका अनुसार यो कार्यक्रमबाट हाल ४० वटा विद्यालयमा पुस्तकालय स्थापना भएका छन्। जिल्लामा जम्मा ८९ वटा सामुदायिक विद्यालय रहेका छन्। रासस