दाङको बबई गाउँपालिकामा बिहिबार पाँच दलले बन्द आह्वान गरेका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीले गरेको बन्दका कारण बिहानैदेखि बबई गाउँपालिकाको सामान्य जनजीवन प्रभावित भएको छ ।
नेपाल विद्यार्थी संघ क्षेत्र नं. ५ का क्षेत्रीय सचिव झूपु क्षेत्रीले पाँच दलको बन्दको कारण गाउँपालिकाको कार्यालय खुल्न नसकेको, स्थानीय बजार, यातायात र शैक्षिक संस्था ठप्प रहेको बताए । बबई गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमबाट त्यहाँका गाउँ, टोल, सडक, खेल मैदान जस्ता स्थानहरूको नाम परिवर्तन गरी एमालेका नेताहरूको नामबाट नामाकरण गरेपछि पाँच दल विरोधमा उत्रिएको नेविसंघका क्षेत्रीय सचिव क्षेत्रीले सेतोपाटीलाई बताए ।
असार १४ मा भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनवाट बबई गाउँपालिकाको प्रमुखमा एमालेका भूवनेश्वर पौडेल र उपप्रमुखमा एमालेकै सावित्रा विक निर्वाचित भएका थिए । बबईमा एमालेका उम्मेदवार विजयी भएपछि उक्त गाउँपालिका भित्रका रंगशाला, गाउँ,टोल र सडकहरूको नाम मनोमानी रूपमा मदन भण्डारी, नेत्रलाल अभागीको नाममा नामांकरण गरिएका छन् ।
‘कुनै टोलको नाम सूर्य टोल राखिएको छ भने एमालेका स्थानीय कार्यकर्ता नाममा ज्योति नगर , शिव नगर नामांकरण गरेपछि आन्दोलनमा उत्रनु परेको हो ।’ साविक पुरन्धारा गाविसका काँग्रेस सभापति बलबहादुर बुढाले भने । एमालेबाट निर्वाचित पदाधाकारीले अरू राजनीतिक दल र स्थानीयवासीसँग सल्लाह नै नगरी एउटै गाउँपालिकामा पाँच स्थानाका नामहरू मदन भण्डारीबाट राखेपछि विरोध गर्नु परेको बुढाले बताए ।
उनले स्थानीय इतिहास मेट्न नहुने र कुनै अमुक दलका नेताका नाममा धमाधम नामांकरण गर्ने निर्णय नसच्याउँदासम्म आन्दोलन नरोकिने बताए ।
स्थानीय स्तरमा एमालेले सार्वजनिक स्थलहरूको नाम धमाधम पार्टी र पार्टीका नेता कार्यकर्ताको नामबाट नामांकरण गरेपछि त्यो रोक्न माग गर्दै भदौ दश गते पाँच दल बबई गाउँपालिकामा डेलिगेशन गएका थिए । काँग्रेसको नेतृत्वमा पाँच दलले १६ गते हंसपुरस्थित गाउँपालिकाको कार्यालयमा धर्ना दिएका थिए ।
बुधबार साँझ पाँचदलले एमालेको नामंकरण विरुद्ध बबई गाउँपालिकामा मसाल जुलुस प्रदर्शन गरेका थिए । पाँच दलले सार्वजनिक स्थलहरूको नामांकरण पार्टी र नेताको नामबाट गर्न नहुने आफूहरूको मागको कुनै सुनुवाई नभएको भन्दै विरोध स्वरुप बिहिबार बबई गाउँपालिका बन्द गरेको बताएका छन् ।