अबेर राति ८ बजेसम्म उम्मेदवारी सकिएको छैन। जिल्ला समन्वय समिति कार्यालय पर्सामा राखिएको वीरगन्ज महानगरपालिकाका पदाधिकारी उम्मेवारहरुको मनोनयन पत्र दर्ता कार्यक्रममा ठूलो भीड लागेको छ। कर्मचारीलाई भ्याइनभ्याइ छ। सुरक्षाकर्मी तथा अधिकारीहरूलाई व्यवस्था मिलाउन रातिसम्म कठिनाइ परेको छ।
अधिकांश ठूला दलका वडाअध्यक्ष तथा सदस्यका पदमा वागीहरूले स्वतन्त्र उम्मेदवार दर्ता गराउनको लागि रातिसम्म समय लगाएका छन्।
बिहान १० बजेदेखि उम्मेद्वारी दर्ताको समय तोकिए पनि दिउँसो १२ बजेसम्म मेयरका स्वतन्त्र उम्मेदवारले मात्र मनोनयन पत्र दर्ता गराएको थिए। अधिकांश दल आजको दिनलाई चुनावी शक्ति प्रदर्शनको रूपमा लिएको वीरगन्जका मतदाताहरुको भनाइ छ। आजको दिनमा अधिकांश दलहरुले दिउँसोसम्म टिकट वितरण तथा बजागाजाका साथ जुलुस प्रदर्शनमा सकाएकोले नै समयमा उम्मेदवारी गर्न नसकेको हो।
युवा अभियन्ता आसुशर्राफले सबै ठूला दलहरू चुनालाई शक्ति प्रदर्शनको रूपमा लिएका छन्। फड्किलो चुनावी गीतहरू बजाइएको छ। गाउँबाट ठूल ठूला ब्यानर झन्डाका साथ आफ्ना समर्थक ओरालेको छन्।
दिउँसो ६ बजेसम्म वीरगन्ज महानगरपालिकाको मेयरमा स्वतन्त्रसँगै १८ जना र १३ जनाले उपमेयरमा उम्मेद्वावारी दर्ता गराएका छन्।
बुधबार दिनभरी वीरगन्ज महानगर चुनावमा रंगमा रंगिएको थियो।
नेपाली कांग्रेसको तर्फबाट पार्टीका पर्सा जिल्ला सभापति अजय द्विवेदी, एमालेबाट बसरूद्दीन अन्सारी, सङ्घीय समाजवादी फोरम नेपालबाट प्रदेश कोषाध्यक्ष विजय कुमार सरावगी, माओवादी केन्द्रबाट युवा नेता रहबर अन्सारी, राष्ट्रिय जनता पार्टीको तर्फबाट महामन्त्री राजेशमान सिंह, फोरम लोकतान्त्रिकबाट विमलप्रसाद श्रीवाश्तव, नयाँशक्ति पार्टीबाट मुन्नाकुमार साह, नेकपा मालेबाट लक्ष्मीराज न्यौपाने, नेपाली जनता दलबाट मनोज रौनियारले पार्टीगत रुपमा मेयरमा उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी मेयर पदको लागि स्वतन्त्रमा विकाश राउत अहिर, छोटेलाल राउत कुर्मी, लक्ष्मण साह तेली, महम्मद रज्जा, देउकीलाल कानू, बिल्टु राम बरई उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृतको कार्यालय पर्साले जानकारी गराएको छ।
यसैगरी उपमेयरमा काङ्ग्रेसबाट शान्ति कार्की, एमालेबाट सोफिया आचार्य, माओवादी केन्द्रबाट दुर्गा क्षेत्री, सङ्घीय समाजवादी फोरम नेपालबाट पिड्ढी यादव, राजपाबाट रम्भा मिश्र, फोरम लोकतान्त्रिकबाट रिड्ढी यादव, नेपाली जनता दलबाट मैथली राउत, राप्रपा (प्रजातान्त्रिक) बाट सुमेश्वरनाथ उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन्।
स्वतन्त्र रुपमा उपमेयरमा अमोद गिरी, श्यामबाबू पटेललगायत १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
बडाअध्यक्ष तथा बडासमिति सदस्यको मनोनय पत्र दर्ता गराउनेको बाकलो उपस्थिति भएको कारण बिहिबार मात्र सबै उम्मेदवारहरुको नाम सार्वजनिक गर्ने निर्वाचन कार्यालयले जनाएको छ।
३२ वटा वडा रहेको वीरगन्ज महानगरका एक लाख ८ हजार पाँच सय एक मतदाता रहेका छन्। एक सय ३२ दशमलव ७ वर्गकिलोमिटर क्षेत्रफलमा महानगरपालिकाको साँध फैलिएको छ। पर्सा जिल्लाको पुर्वीकिनारमा बारासँग जोडिएको र दक्षिणतिर भारतीय सिमानाको दशगजाले घेरिएको २१.१७ बर्ग किलोमिटर साँघुरो भुभागमा रहेको घना अबादीको क्षेत्र बीरगन्ज उपमाहानगरपालिका थियो।
अहिले कायम क्षेत्रफल पुरानो वीरगन्जभन्दा साढे ६ गुणा बढी हो।