मेयरमा टिकट नपाएपछि राष्ट्रिय जनता पार्टीका महामन्त्री बिमल श्रीवास्तवले पार्टी फुटाएर विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक गएका छन्।
वीरगन्ज महानगरपालिकाको मेयरमा राजपाबाट दाबेदार मानिएका श्रीवास्तवले टिकट नपाएपछि मंगलबार राजपा त्याग्दै लोकतान्त्रिक फोरममा प्रवेश गरेका हुन्।
उनीसँगै राजपाका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षसहित पार्टीको विभिन्न पदमा रहेका सयौँ नेता कार्यकर्ताले राजपा परित्याग गरेको घोषणा गरेका छन्।
राजपा नेपालका केन्द्रीय सदस्य शशिकपुर मियाँ, पुरुषोत्मलाल झा, जनाद्र्धन सिंह यादव, दीपक तिवारीलगायतले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
श्रीवास्तवले राजपा नेपालका केन्द्रीय नेतृत्वले नेता कार्यकर्ताको उचित मूल्यांकन नगरी तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि टिकट वितरण गरेकाले पार्टी परित्याग गरेको दाबी गरे।
‘म वीरगन्जमा मेयरको दाबेदार थिएँ, राजपाले मलाई टिकट नदिएर अरूलाई नै दियो, जसरी पनि मेयर हुनै थियो त्यसैले लोकतान्त्रिक फोरम रोजेँ,’ सेतोपाटीसँग कुरा गर्दै श्रीवास्तवले भने,‘भोलि हामी निर्वाचन आयोग गएर मनोनयन दर्ता गर्छौ।’
राजपाले वीरगन्जको मेयरमा अर्का महामन्त्री राजेशमान सिंह श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेपछि श्रीवास्तव पार्टी छोडेका हुन्।
मंगलबार दिउँसो १२ बजे राजपाबाट टिकट नपाउने निश्चय भएपछि श्रीवास्तवले प्रारम्भमा संघीय समाजवादी फोरम नेपालसँग कुरा अगाडि बढाएका थिए। तर, आफू जसरी पनि मेयरमा चुनाव लड्ने प्रस्ताव राखेपछि उपेन्द्र यादव नेतृत्वको फोरम प्रवेश गर्न पाएनन्।
फोरम लोकतान्त्रिकले श्रीवास्तवलाई उम्मेदवार बनाउने निश्चित गरेपछि उनी उक्त पार्टीमा प्रवेश गरेका हुन्।
उनलाई लोकतान्त्रिक फोरमले मेयरको उम्मेदवार बनाउने अध्यक्ष विजयकुमार गच्छदारका स्वकीय सचिव कन्हैया ठाकुरले सेतोपाटीलाई बताए।