नेपाली कांग्रेसले तेस्रो चरणको स्थानीय तह निर्वाचन हुने प्रदेश नम्बर २ मा व्यापक तालमेल गर्दैछ। अहिलेसम्म दुई वटा नगरपालिकामा तालमेल गर्ने टुंगो लागिसकेको छ।
पूर्व-पश्चिम राजमार्गले छोएका अझै ८ स्थानीय तहमा माओवादीसँग चुनावी तालमेल हुन सक्ने कांग्रेस नेता आनन्द ढुंगानाले बताए।
ती मध्ये बारा जिल्लाको निजगढ र धनुषाको मिथिला नगरपालिकामा कांग्रेस माओवादी तालमेल हुने पक्का भइसकेको र अरू ठाउँबारे छलफल भइरहेको कांग्रेस नेता आनन्द प्रसाद ढुंगानाले बताए। यी दुवै ठाउँमा कांग्रेसका मेयर र माओवादीका उपमेयर संयुक्त उम्मेदवार हुनेछन्।
तराईमा कांग्रेसको राम्रो पकड भए पनि पहाडी बस्ति भएका स्थानमा एमालेको राम्रो भोट छ। एमाले पकड भएका ठाउँमा माओवादीसँग तालमेल गर्ने रणनीति कांग्रेसले बनाएको छ।
सर्लाहीको लालबन्दी र हरिवन नगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिकामा पनि तालमेल गर्नेबारे छलफल भइरहेको नेता रमेश रिजालले जानकारी दिए।
बाराको जितपुर-सिमरा उपमहानगरपालिकामा पनि तालमेल गर्ने भनेर कांग्रेसले माओवादीसँग छलफल चलाइरहेको छ।
त्यस्तै सिराहा जिल्लाका तीन नगरपालिकामा पनि माओवादीसँग तालमेल गर्ने कुरा छलफलकै क्रममा छ।
सिराहा कांग्रेस सभापति रामचन्द्र झाका अनुसार मिर्चैया, गोलबजार र सर्जनाहा नगरपालिकामा तालमेलको कुरा चलिरहेको छ।
'हाम्रो जिल्लाका सबै ठाउँमा टिकट वितरण भइसक्यो। अब तीन वटा नगरपालिकामा बाँकी छ। मिर्चैया, गोलबजार र सर्जनाहा नगरपालिकामा माओवादी तालमेल हुन्छ केही घण्टा कुर्न भन्दै केन्द्रबाट खबर आएको छ,' उनले भने।
यता केन्द्रमा भने कांग्रेस माओवादी छलफल जारी छ।
उनीहरुले एक चरण छलफल गरेर सकिसकेको र अहिले बैठक स्थगित भएको ढुंगानाले बताए। अब अर्को चरणको बैठकका लागि कुरा भइरहेको जानकारी उनले दिएका छन्।
'कहाँ कहाँ तालमेल हुन्छ हामीले ३/४ बजेतिर निर्णय गर्छौँ, ८ ठाउँमा तालमेल गर्ने भनेर कुरा चलिरहेको छ। पहिलो चरणको बैठक सकियो, एकछिनमा फेरि बस्ने छौँ,' उनले भने।
केही ठाउँमा भने तालमेलको विरोध समेत भएको छ। रौतहटको चन्द्रपुर नगरपालिकाका केही कांग्रेसहरूले तालमेल भए चुनावमा भाग नलिने निर्णयसमेत गरेका छन्।
२ नम्बर प्रदेशमा १ सय ३६ स्थानीय तह छन्। ती मध्ये ७३ नगर र ५९ गाउँपालिका छन्। ३ उपमहानगरपालिका र एक महानगरपालिका छन्।
वीरगञ्ज महानगरमा तालमेलको चर्चा चले पनि अब तालमेल हुन नसक्ने कांग्रेसका नेता रिजालले बताए।