वीरगन्जस्थित नेशनल मेडिकल कलेजले कर तिर्न अटेरी गरेकोले तिराउनु पर्ने कर असुल्न वीरगन्ज महानगरपालिकाले कडा कदम चाल्ने भएको छ।
संघीय मामिला तथा स्थानीय विकास मत्रालयलाई वीरगन्ज महानगरपालिकाले गत जेठ २ गते गरेको पत्राचारमा राजश्व असुलीका लागि आवश्वयक सहयोग गर्न माग गरेको थियो।
महानगरपालिकाले पटक पटक पत्राचार गरे पनि नेशनल मेडिकल कलेजका सञ्चालक तथा एमालेका तर्फबाट महानगरका मेयर उम्मेद्वार बसुरुद्दिन अन्सारीले अटेरी गरेकोले कडा कारवाही अगाडि बढाउन पत्राचार गरिएको महानगपालिकाका राजश्व महाशाखाका नायव सुब्बा नवराज थापाले सेतोपाटीलाई बताए।
‘राजश्व तिर्न नेशनल मेडिकल कलेजलाई पटक पटक ताकेदा गरे पनि अटेरी गरेकोले कडा कारबाहीका लागि मत्रालयमा सहयोग मागेका छौ,’ नेशनल मेडिकल कलेजलाई राजश्व असुलीको लागि पटक पटक गरिएको ताकेदाको मोटो फाइल देखाउँदै थापाले भने, ‘हामीले फेरि मत्रालयलाई पत्रचार गरिसकेका छौ।’
चार दिन अघि मात्र महानगपालिकाका राजश्व महाशाखाका प्रमुख भएर आएका शम्भु गुप्ताले नेशनल मेडिकल कलेजसँग लिनुपर्ने राजश्व जसरी पनि उठाउने दाबी गरे।
महानगपालिका कार्यालयको करिब १० करोड कर तिर्न अटेरी गर्दै बक्यौता राखेका नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरूदीनलाई एमालेले मेयरको टिकट दिएसँगै उनी कलेजमा आफू प्रबन्ध निर्देशक नरहेको बताउँदै आएका छन्।
कलेज सञ्चालक बोर्डमासमेत रहेका अन्सारी महानगरको मेयरमा उम्मेद्वार भएलगत्तै स्थानीय जनताले पनि उनले कर तिर्नुपर्ने बताउँदै आएका छन्।
‘महानगरको कर पचाउन खोज्ने ब्यक्तिलाई एमालेले मेयरको उमेद्वावार बनाउनु दुःखदायी पूर्व राजनीतिक अवस्थाको चित्रण गर्छ,’ समाजसेवी राकेश यादवले भने, ‘दलहरुले जनतालाई हाकाहाकि रूपमा भ्रष्टाचारलाई बढावा नदिए हुन्छ अब यो चुनावले सबैलाई बताउने छ ।’
तत्कालिन उपमहानगपालिकाको कार्यालयले पटक-पटक ताकेदा गरे पनि नेशनल मेडिकल कलेजले अटेरी गरी घरजग्गा कर बक्यौता राखेका छन्। वीरगन्ज महानगरपालिका कार्यालयका अनुसार नेशनल मेडिकल कलेजले तिर्नुपने ९ करोड २ लाख ४७ हजार ९ सय ९६ रूपैया ४३ पैसा घरजग्गा कर बक्क्यौता राखेको छ।
महानगरका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले गत जेठ २३ मन्त्रालयलाई पत्र लेखि ९ करोड २ लाख ४७ हजार ९ सय ९६ रुपैया ४३ पैसा महानगरपालिकाले नेशनल मेडिकल कलेजबाट असुल गर्नुपर्ने जानकारी दिएको थियो।
यसरी कलेज सञ्चालनमा आएदेखि महानगरपालिका कार्यालयलाई तिर्नुपर्ने १० करोड ३८ लाख भन्दा बढी बक्यौतामध्ये १ करोड २९ लाख ३३ हजार ७८ रूपैया ४२ पैसा तिरेका मेयर उम्मेदवार अन्सारीले बाँकी रकम तिर्न तीन वर्षदेखि अटेरी गर्दै आएका छन्।