प्रतिनिधिसभामा दलीय हैसियत पाउनका लागि तीन प्रतिशत ‘थ्रेस होल्ड’ कायम गरिएपछि अब दलहरूको संख्या घट्ने निश्चित भएको छ ।
दलीय हैसियत पाउनका लागि एक सिट प्रत्यक्ष समेत जित्नुपर्छ । प्रतिनिधिसभा निर्वाचन र प्रदेश सभा निर्वाचन सम्बन्धी विधेयकमा थ्रेस होल्ड राखिएको हो ।
प्रदेशसभाका लागि भने डेढ प्रतिशत ‘थ्रेसहोल्ड’ कायम गरिएको छ । ‘तीन प्रतिशत मत नल्याउने र एक सिट प्रत्यक्ष निर्वाचन नजित्नेले दलीय हैसियत पाउने छैनन्।’ एमाले सांसद गंगालाल तुलाधरले सेतोपाटीसँग भने,‘तीन प्रतिशत पनि मत नल्याउनेको समानुपातिक मतको कुनै अर्थ हुनेछैन।’
साना दलहरूले भने यसको विरोध गरेका छन् । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पैसाका भरमा मात्रै निर्वाचन जित्ने व्यवस्था ल्याउन खोजिएको आरोप लगाए ।
रुपान्तरीत संसद हुँदै अहिलेसम्म आइपुग्दा पार्टीहरू फुट्ने र जुट्ने क्रम चलिरहेको छ । अहिले संसदमा २६ वटा पार्टीहरू रहेका छन् । ‘थ्रेस होल्ड’ कायम भएपछि यो संख्या घट्ने निश्चित छ । दोस्रो संविधानसभालाई आधार मान्ने हो भने प्रतिनिधि सभामा दलीय हैसियत पाउने दलहरू एक दर्जन मात्रै हुन्छन् । पहिलो दल नेपाली कांग्रेसले समानुपातिकतर्फ २५ प्रतिशत भन्दा बढी मत पाएको थियो । नेकपा एमालेले २३ र नेकपा माओवादी केन्द्रले १५ प्रतिशत भन्दा बढी मत पाएका थिए ।
चौथो ठूलो दल बनेको तत्कालीन राप्रपा नेपालले ६ प्रतिशत भन्दा बढी मत पाएको भए पनि उसले प्रत्यक्षतर्फ एक सिट पनि जितेको थिएन । राणा नेतृत्वको राप्रपाले प्रत्यक्षतर्फ तीन सीट जिते पनि समानुपातिकतर्फ जितेको सीट जोड्दा तीन प्रतिशत पुर्याएको थिएन ।
यी दुई पार्टी एकीकरण भएर विभाजन भई राप्रपा र राप्रपा प्रजातान्त्रिक बनेका छन् । दोस्रो संविधान सभापछिका ६ वटा पार्टीहरू मिलेर अहिले राष्ट्रिय जनता पार्टी(राजपा) बनेको छ ।
सबै पार्टीको समानुपातिक मत जोड्दा पाँच प्रतिशत भन्दा बढी हुन्छ । त्यसैले दोस्रो संविधान सभाको मत कायम भयो भने राजपाले दलीय हैसियत पाउन सक्छ । मधेसी जनअधिकार फोरम र संघीय समाजवादी पार्टी मिलेर बनेको संघीय समाजवादी फोरमको पनि समानुपातिक मत तीन प्रतिशतभन्दा बढी छ । दुई पार्टीको मत जोड्दा यो प्रतिशत आएको हो ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि तीन प्रतिशतको नजिक मत ल्याएको थियो । जनमुक्त पार्टीसँगको एकतापछि नेपाल लोकतान्त्रिक फोरम बनेको छ । पार्टी एकतापछि लोकतान्त्रिक फोरमको समानुपातिक मत प्रतिशत तीन प्रतिशत भन्दा बढी हुन्छ ।
नेपाली कांग्रेस,नेकपा एमाले र नकेपा माओवादी केन्द्रलाई ‘थ्रेस होल्ड’ले कुनै असर गर्दैन। दोस्रो संविधानसभामा पाएको मतलाई जोगाउन सके भने राजपा, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले पनि ‘थ्रेस होल्ड’ पार गर्नेछन् ।
दुवै राप्रपालाई भने ‘थ्रेस होल्ड’ पार गर्न ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ ।