नेपाली कांग्रेस पर्सामा रहेको गुट-उपगुटको कारण वीरगञ्जको मेयर तथा उपमेयरको उम्मेदवारी विवाद बढ्दै गएको छ ।
पार्टीको केन्द्रीय सदस्य डा शेखर कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले चुनाव प्रचार प्रसार सुरू गरेपनि उपमेयरको उम्मेदवारीलाई लिएर पुन: विवाद बढेको छ ।
पार्टीका केन्द्रीय सदस्य रमेश रिजालले प्रस्तावित गरेको प्रियंका केशरीको नाममा नेपाली कांग्रेस पर्साका सभापति तथा वीरगञ्ज महानगपालिकाका मेयरका उम्मेदवार अजय द्धिवेदीले चर्को विरोध जनाएपछि विवाद बढेको हो ।
पार्टीका बयोबृद्ध ८८ वर्षिय नेत्री शान्ति कार्कीलाई उपमेयर बनाउने केन्द्रीय नेताहरूले मौखिक आश्वासन दिएपछि अजय द्धिवेदीले केन्द्रीय नेता शेखर कोइरालाको नेतृत्वमा चुनाव प्रचार प्रसार सुरू गरेपनि आइतबारदेखि उपमेयरमा प्रियंका केशरी नाम आउन थालेपछि पुन: विवाद बढेको हो।
प्रियंका केशरीलाई पार्टीले वीरगञ्ज महानगपालिकाको उम्मेदवार बनाए आफू मेयरमा चुनाव नलड्ने जिल्ला सभापति अजय द्धिवेदीले अडान राखेपछि दुवैजनाको उम्मेदवारी परिवर्तन गरिने बारे पार्टी छलफल सुरू भएको छ ।
मेयरमा नेपाली कांग्रेसले पूर्वसभासद एवम वीरगञ्ज उद्योग वाणिज्य सघंका अध्यक्ष ओम प्रकाश शर्मालाई टिकट दिनेबारे छलफल बढेको जनाइएको छ । शर्मा नेपाली कांग्रेसका केन्द्रीय नेता बिमलेन्द्र निधि निकट रहँदै आएका छन् ।