नेकमा माओवादी केन्द्रको सचिवालय बैठकले निर्वाचन अभियानलाई तिब्र पार्ने निर्णय गरेको छ।
वीरगञ्जमा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले त्यस्तो निर्णय गरेको हो। बैठकले २ नम्वर प्रदेशमा माओवादीप्रतिको आकर्षण बढ्दै गएको निष्कर्षसहित स्थानीय तह, प्रदेश र संघको निर्वाचन अभियानलाई तिब्र पार्ने निर्णय गरेको छ।
बैठकले तराई-मधेशका जिल्लाहरुमा निकै ठूलो धनजनको क्षति भएको र जनजीवन कष्टकर बनेको निष्कर्ष निकाल्दै बाढी प्रभावित जिल्लाहरुलाई संकटग्रस्त जिल्लाको रुपमा घोषणा गरी राहतको विशेष प्याकेज सञ्चालन गर्न सरकारलाई आब्हान गर्ने निर्णय पनि गरेको छ।
‘अहिले मधेशमा माओवादीको पक्षमा निकै ठूलो लहर देखिएको छ, हामी आवश्यकता र औचित्यका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग तालमेलको नीति लिन्छौं’, बैठकपछि अध्यक्ष प्रचण्डले भने, ‘मूख्यः मधेशकेन्द्रित दललाई प्राथमिकता दिने निर्णय गरेका छौं। मधेशमा माओवादीलाई ठूलो सफलता मिल्नेमा हामी विश्वस्त छौं।’
बैठकले आसन्न निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर राजनीतिक ध्रुवीकरणको अभियानले माओवादी केन्द्रमा नयाँ उत्साह र आत्मविश्वास बढेकाले राजनीतिक ध्रुवीकरणको अभियानमा जोड गर्ने निर्णय पनि गरेको छ।
बैठकपछि अध्यक्ष प्रचण्डले भने,‘मधेशमा बाढीबाट ठूलो धनजनको क्षति भएको छ, यसले हामीलाई निकै सम्वेदनशील बनाएको छ।’
प्रचण्डले संविधान संशोधन विधेयक एमालेको चरम नश्लवादी सोच र राप्रपाको विभाजनले असफल भएको भन्दै संघ र प्रदेशको निर्वाचनपछि फेरि संशोधन गर्न सकिने तर चुनावअघि सम्भव नभएको बताए।
बैठकमा माओवादी केन्द्रमा हालै समाहित भएका नेताहरु देवेन्द्र पौडेल, रामेश्वर राय यादव, रामचन्द्र झा र पासाङ शेर्पाले आफ्ना अनुभूति राख्दै शक्तिशाली पार्टी निर्माणका लागि मुद्दा र ध्येय मिल्ने शक्तिसँग पार्टी एकता गर्नुपर्नेमा जोड दिएका थिए ।