प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा आफूले संविधान संशोधनको विषयमा बोलेको कुराको बचाउ गरेका छन्।
पाँच दिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफूले दिल्लीमा बोलेको कुरा ठीक भएको बताए।
‘विदेशमा गएर केही पनि नबोल्ने भन्या छ र?’, पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘कहाँ के बोल्ने भन्ने कुराको नीति बनाउँ न त पहिला, नत्र के बोल्ने भनेर कसलाई सोधेर जाने?’
उनले संविधान संशोधन प्रस्ताव सरकारले संसदमा पेस गरेको र मधेसी जनताको भावना अनुसार त्यो पारित हुन नसकेको जिकिर गरे। ‘सरकारले पेस गरेको संशोधन प्रस्ताव ठीक थियो, सरकारले अझ पनि संविधान संशोधनको प्रयास गर्छ,’ देउवाले भने, ‘मैले यही कुरा भारतमा पनि भनेको हुँ।’
भारतीय समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सरकारले पेस गरेको संविधान संशोधन प्रस्ताव संसदमा दुई तिहाइ नपुग्दा फेल भएको र फेरि पनि दुई तिहाइ पुर्याएर संशोधन गर्ने ‘वाचा’ गरेको भन्दै आलोचना भएको थियो।
प्रमुख प्रतीपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवाको सो अभिव्यक्तिले संसदको धज्जी उडाएको बताएका थिए।
तर प्रधानमन्त्री देउवाले भने आफ्नो भारत भ्रमणले नेपालीको शीर ठाडो भएको दाबी गरे। ‘यो भ्रमणले दुई देशको सम्बन्ध पनि सुधार भएको छ,’ उनले भने।
प्रधानमन्त्री देउवा भदौ ७ गते राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका थिए।
यो पनि पढ्नुस्: प्रधानमन्त्री देउवाको भारत भ्रमणको रिपोर्ट कार्ड