सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देश बीचको सम्बन्ध थप प्रगाढ बनाउन भूमिका खेलेको बताएका छन् ।
आइतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका सवालमा भिन्न ढंग कुरा उठाउनु गलत भएको बताए । प्रधानमन्त्रीको भ्रमणको क्रममा पुराना सन्धि सम्झौताहरूको मात्रै पुनरावलोकन भएको तर, नयाँ सन्धि सम्झौता केही नभएको मन्त्री बस्नेतले बताए ।
प्रतिपक्षी हुँ भन्दैमा राष्ट्रियताको सवालमा मनपरी बोलेर राजनीति नगर्न उनले प्रतिपक्षी एमालेलाई आग्रह पनि गरेका थिए । त्यस्तै, उनले सरकार अल्पमतमा छ वा यसको विकल्प शुरू भइसकेको छ भन्नु गलत हुने बताए । ‘ आक्कल झुक्कल र आंशिक रूपमा कुरा चल्नुको अर्थ छैन ।’ मन्त्री बस्नेतले भने
अहिले दश प्रतिशत असन्तुष्टहरू पनि सहमतिमा आएको हुँदा प्रदेश र संघको निर्वाचन एकै चरणमा हुने विश्वास व्यक्त गरे । मन्त्री बस्नेतले २०७४ लाई जनप्रतिनिधि चुन्न पाउने खुसीको वर्ष भएको बताए ।
‘संविधान कार्यान्वयनको वर्ष, नेपाली जनता बीचको एकताको वर्ष र खुसीको वर्ष हो ’ मन्त्री बस्नेतले भने । एकात्मक राज्य प्रणालीमा चलेको कर्मचारी संयन्त्र अहिले संघीय संरचनामा जाँदा व्यवस्थापनमा केही समस्या भएपनि दशैं अगाडिसम्म कर्मचारी व्यवस्थापन गरिसक्ने उनले बताए ।