वीरगञ्ज मेयर टिकट पाउनको लागि राष्ट्रिय जनता पार्टीको दुई समूह बीच झडप भएको छ ।
पार्टीले चुनावमा जाने घोषणा गरेकै दोस्रो दिन टिकटको लागि बिमल श्रीवास्तव र राजेशमानसिंह श्रेष्ठ समूहबीच वीरगञ्जको कुमुप्यालेस होटलमा झडप भएको हो ।पर्सा जिल्लाको टिकट वितरणको जिम्मेवारी पाएका केन्द्रीय पर्यवेक्षक विजय गुप्तालले आयोजना गरेको कार्यकर्ता भेट कार्यक्रम शुरू नहुँदै दुवै समूहले चर्को नाराबाजी गर्न थालेपछि झडप भएको थियो ।
‘झडपपछि छलफल बिथोलिएर पछिसम्म सडकमै नाराबाजी चलिरहेको थियो । पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहेका विजय गुप्ता अगाडि नै मेयर आकांक्षी केन्द्रीय नेता श्रीवास्तव र राजेशमान समूह बीच झडपले पार्टीको अनुशासनलाई नै चुनौती दिएको थियो’, एक स्थानीय नेताले भने, ‘अहिले नै यस्तो अवस्था छ, चुनावमा त के एकअर्काले सहयोग गर्लान रु अनि कसरी राजपाको चुनावमा जीत हुन्छ ।’
कार्यक्रमको शुरूमै केन्द्रीय महासचिव राजेशमान सिहं (श्रेष्ठ)को नेतृत्वमा आएको जुलुस कार्यक्रमस्थलमा पुगेपछि अर्का महासचिव समेत रहेका विमल श्रीवास्तव पक्षले नाराबाजी गर्न थालेपछि तनाव उत्पन्न भएको थियो ।
चर्को नाराबाजी भइरहँदा कार्यकर्ताबीच धकेलाधेकल र झडप समेत भएको एक सहभागीले बताए ।
पार्टी एकीकरणभन्दा पहिलादेखि नै वीरगञ्जको मेयर पदका उम्मेदवार बन्न आकांक्षी रहेका दुवै जनाले केहि समयदेखि कार्यकर्ता तथा मतदाता रिझाउन छुटाछुट्टै कार्यक्रम गर्दै आएका थिए । पार्टीभित्र उत्पन्न ठूलो ध्रुविकरणले गर्दा राजपा पर्सामा अहिले नै दुईफाटोमा ल्याएको छ ।
पोखरिया नगरपालिका र ११ गाउँपालिकाको उम्मेदवारीका लागि आकांक्षीहरूको पहिचान गर्न यो पहिलो भेला राखिएको थियो, तर दुई समूहबीच नाराबाजीले परिस्थिति असहज बनाएपछि छलफल रोकिएको केन्द्रीय नेता शिव पटेलले बताए ।