आपूर्ति मन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगममा भएको भ्रष्टचारको विषयमा दोषि भेटिए कसैलाई पनि नछाड्ने बताएका छन्। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको बाह्रौ साधारणसभा तथा छैठौ महाधिबेशनको पोखरामा उद्घाटन गर्दै मन्त्री मण्डलले मन्त्रालय अन्तर्गत कुनै पनि ठाउँमा भ्रष्टचार भएको पाए कुनै पनि हालतमा नछाड्ने बताए ।
जस्तो सुकै परिस्थितिमा पनि दोषीलाई कारबाही गरेर छोड्ने उनको दाबी छ। ‘दोषी ठहर भएको खण्डमा कारबाही गर्ने कुरामा मन्त्रालय दृढतापूर्वक लाग्छ,’ उनले भने ‘पेट्रोलियम व्यवसायमा आधुनीकिरण आवश्यक छ।’
आधुनीकिरण गर्न सरकारी र निजी क्षेत्र दुबै लाग्नु पर्ने उनको भनाई छ। उनले नेपाली ग्यास बुलेटमा आएको समस्या छिटै समाधान हुने बताए। समाधानका लागि प्रधानमन्त्रीले भारत भ्रमणका बेला राख्ने एजेण्डामा समाबेस भएको बताए।
कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का ५ वर्ष भित्रमा ९० दिनलाई पुग्ने गरि भण्डारण क्षमता पुर्याउने बताए । उनले जस्तो सुकै परिस्थितमा पनि ५ वर्ष भित्रमा ९० दिनलाई पुग्ने गरी भण्डारण क्षमता पुर्याउने गरि काम भइरहेको दाबी गरे। जग्गा खरिद बारे सञ्चार माध्यममा आएका समाचारले आफूलाई केही फरक नपर्ने बताए।
उनले आयल निगम भित्रै सिस्टममा सुधार गर्नुपर्ने अवस्था रहेको बताए। आयल निगमलाई समाप्त पार्ने खेलमा केहि तत्व लागेको भन्दै खड्काले निगमलाई बचाउन सबै लाग्नुपर्ने बताए । उनले ट्याङकरमा लकर सिस्टमलाई छिटै पुरा गर्ने बताए। अहिलेसम्म ४ सय ट्याङकरमा लकर राखिसकिएको र बाँकी रहेकामा पनि क्रमशः राख्दै जाने बताए ।
उनले पम्ममा जादाको लसलाई नाप तौल तथा गुणस्तरले दिने रिपोटका आधारमा कार्यान्यन गर्ने बताए।
कार्यक्रममा व्यवसायीहरुले नेपाली ग्यास बुलेट सञ्चालनमा ल्याउन नपाउँदा व्यावसायीलाई मर्का परेको, पेट्रोलियम पद्धार्थमा लस बढ्दै गएको लगाएतका समस्याहरु रहेको बताएका थिए।
दुई दिनसम्म सञ्चालन हुने अधिबेशनले नयाँ नेतृत्व चयन गर्दै सकिने छ। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी समितिका देशभरबाट करिब २ सय जना प्रतिनिधिहरु सहभागी छन्।