दाङमा ४० हजार मतदाता थपिएका छन । मंगलबारसम्म २१ हजार ९ सय १२ महिला र १८ हजार ४८ पुरुष गरी ४० हजार मतदाताहरु थप भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । दाङमा असार १४ गते भएको दोस्रो चरणको निर्वाचनमा २ लाख ९१ हजार बढी मतदाता थिए ।
जिल्लामा नामावली दर्ता गराउने महिलाको संख्या धेरै देखिएको छ । जिल्ला निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकृत विजयकुमार कार्कीका अनुसार पछिल्लो समय हरेक क्षेत्रमा महिला सहभागिता बढ्दै जाँदा सचेतना बढेर महिला मतदाताहरु थपिने क्रम बढेको तर्क गरे ।
साउन १ देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय र १६ देखि स्थानीय तहका सम्वन्धित कार्यालयहरुमा पुगेर विवरण संकलन गर्दा समेत गाँउ–गाँउबाट नयाँ मतदाताहरु थपिने क्रम बढेको कार्कीले बताए । ‘ साँझ बिहान घरायसी काममा व्यस्त रहने गृहणी महिलाहरु यसपटक गाउँ घरमै संकलन जाँदा नाम दर्ता गराउन गएको देखियो ।’ कार्कीले भने ।
बाहिरी जिल्लाबाट बसाईसराई गरी आएका र अघिल्लो समयमा विविध कारणले छुट्न पुगेकाहरुले यसलाई सदूपयोग गर्न खोजेको उनले बताए । तर,अन्तिम समयमा लगातारको वर्षाले प्रभावित गरेको हुँदा समय थपेर छुटेका मतदाताहरुले अवसर पाएका उनले बताए ।
बाढीले गर्दा जिल्लाको यातायात ठप्प हुँदा मतदाता संकलनमा प्रभाव परेको उनले बताए ।