निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दुई नम्बर प्रदेशका ८ जिल्लामा भोलिदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने भएको छ। २ नम्बर प्रदेशमा असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ।
भोलिदेखि लागु हुने आचारसंहिता नेपाल सरकार र नेपाल सरकारको मन्त्री, स्थानीय निकाय/तह र यहाँका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र यहाँ कार्यरत सुरक्षाकर्मीका लागि लागु हुनेछ।
यस्तै निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था र सार्वजनिक पद धारण गरेको व्यक्तिलाई पनि लागु हुने आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए।
उम्मेदवारको हकमा उम्मेदवारले मनोनयन दर्ता गर्ने मिति अर्थात भदौ २१ गते देखि आचारसंहिता लागू हुनेछ।