रौतहटमा बाढीले बगाउँदा आइतबार दिउँसोसम्ममा ९ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन्।
सुत्केरी बेथा लागेकी एक महिलालाई स्वास्थ्य संस्था लैजाने क्रममा रौतहटमा एकै परिवारका ६ जनाको बाढीले बगाएर मृत्यु भएको रौतहटका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
परोहा गाउँपालिका–३ का ३५ वर्षीय चन्दन किशोर यादवसहित उनका २७ बर्षिय श्रीमती सर्मिला यादव, ५४ बर्षिय आमा सुमित्रादेवी, ३८ बर्षिया भाउजु ललिता देवी , २५ बर्षिया भतिजा सरोज यादव र ५ वर्षीय छोरी छोटु कुमारीको घटनास्थलमै ज्यान गएको स्थानीय शेख वकिलले जानकारी दिएका छन्।
राजपुरमा रहेको स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन उनीहरु भारतीय नम्बरको जिपमा चढेर आएका थिए। चालक र अर्का एक व्यक्ति भने जीपबाट हाम फालेर बाँचेका थिए।
राजपुर, परोहा गाउँपालिका–३ स्थित दमारचौक नजिकका बाढीले बमनहरको बांधकटान गरेको बाढीमा उनीहरु चढेको जीप बगाउँदा ६ जनाको ज्यान गएको हो।
आइतबार दिउँसो इसनाथ गाउँपालिका ९ का १४ बर्षीय सकिल देवान, देवाही गोनाही -२ का ६५ बर्षिया जोगिया देवी, दुर्गा भगवती-६ की ४० बर्षिया कोसिला देवीको बाढीले बगाएर मृत्यु भएको रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिएका छन्। साथै पाँच जना बाढीमा हराइरहेका छन्।
गौरमा १० देखि १५ फिटसम्म पानी जमेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
जिल्लामा १० हजार भन्दा बढी घरहरु पूर्णरुपमा क्षती पुगेको र ३० हजार भन्दा बढी घरमा बाढीले क्षती पुर्याएको स्थानीय प्रशासनले अनुमान गरेको छ। क्षतीको विवरण आउने क्रम जारी जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
माधवनारायण, देवाहीगोनाही, कटहरीया, दुर्गाभगवती, गुजरा, बृन्दाबन, गढीमाइ, फतुवा बिजयपुर, मौलापुर, बौधिमाइ, परोहा ,इशानाथ, राजपुर गाउँपालिकाका अधिकांश बस्तिहरु डुवानमा परेका छन ।
जिल्लाको करिब ८५ प्रतिशत भूभाग डुवानमा परेका छन् भने सदरमुकाम गौरको मुख्य बजारहरु डुवानमा परेका छन्। जिल्ला प्रहरी कार्यलय, अदालत, कारागार, जिल्ला प्रशासन कार्यालय, मालपोत लगाएत तीन दर्जनभन्दा बढी सरकारी कार्यालय समेत डुवानमा परेको छ।
कार्यालयको तत्लो तलामा पानी जमेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
जिल्ला कारागारका एकसय भन्दा बढी कैदीहरु लाइ माथील्लो तलामा सारीएको छ कार्यलयले जनाएको छ।
चादी, लमाहा, गुजरा, झांझ, अडुवा ,लालबकैया नदीमा आएको बाढी बस्तिमा पसेको छ। बागमती नदीमा पनि पानीको बहाव बढेको छ ।
स्थानिय प्रशासनसँग उद्धार गर्ने साधन स्रोत नहुँदा हजारौं मानिसहरु ढुवान क्षेत्रमा नै बस्न बाध्य छन्।
हजारौ मानिसहरु राहात र उद्धारको पर्खाइमा रहेका छन् तर सरकारले अहिलेसम्म उद्दार गर्न नपुगेको स्थानीयले गुनासो गरेका छन्।