हरेक वर्षको अगष्ट १५ मा मनाइने भारतको स्वतन्त्रता दिवस नेपालमा एक साता अगाडि नै मनाइएको छ।
विमिष्टेक सम्मेलनका क्रममा बिहिबार राजधानी आएकी भारतकी परराष्ट्र मन्त्री नेपालमा भएको अवसर पारी भारतीय दूतावासले आफ्नो ७०औ स्वतन्त्रता दिवस मनाएको हो।
लैनचौरस्थित भारतीय राजदूतावासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती तथा नेपालका लागि भारतका राजदूत मन्जिभ सिंह पुरी लगायत नेपालका उच्च पदस्थ सरकारी कर्मचारी र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू पुगेका थिए।
कार्यक्रममा करिब ५०० जना नेपाली र नेपालस्थित विदेशी कुटनीतिक कर्मचारी, पत्रकार, व्यवसायी, उद्योगीहरूको सहभागिता थियो।
कार्यक्रममा भारतले नेपालमा गरेको सहयोगको विषयमा छोटो वृत्त चित्रसमेत देखाइएको थियो।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त सुमधुर र अमूल्य रहेको चर्चा गर्दै त्यसलाई पारस्परिक समझदारी, सम्मान र एक अर्काका आकांक्षा र संवेदनशीलताले विशिष्ट तुल्याएको बताए।
उनले दुई देशबीच विविध क्षेत्रमा व्यापक सहयोगका साथै खुला सिमानाका कारण जनस्तरको सम्पर्कले आपसी सम्बन्धको गहिराई र गहनतालाई चित्रित गरेको चर्चा गरे।
प्रजातान्त्रिक मूल्य र मान्यताको संस्थागत विकास तथा समावेशी प्रतिनिधित्वको सुनिश्चिततासँगै नेपाली जनताले उत्साहपूर्वक विकास चाहेका र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबैको साथ सबैको विकास’ अवधारणाबाट सारा नेपाली उत्साही भएका प्रधानमन्त्रीले बताए। उनले भने– गरिबी, रोगव्याध, निरक्षरता, भोकमरी, विनाश र विध्वंशबाट मुक्ति तथा दिगो शान्ति, स्थायित्व र समावेशी विकास हाम्रो साझा चाहना हो ।
नेपाल र भारतबीचको विशिष्ट सम्बन्धलाई संरक्षण, प्रवद्र्धन एवम् सुरक्षित तुल्याउन भारतका नेतासँग सहकार्य गर्न आफू प्रतिबद्ध रहेको बताउँदै उनले दुवै देशबीच सघन संवादमा भएको बढोत्तरी तथा उच्चतम तहमा हुने राजनीतिक परामर्श र सम्पर्कले भरोसा र आत्मविश्वासका निम्ति मार्ग प्रशस्त गरेको विचार व्यक्त गरे।
‘आगामी भदौमा हुने मेरो भारत भ्रमणका बेला प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय नेतासँगको भेटमा आपसी चासोका विषयमा हुने विचार आदानप्रदानले युगौँ पुरानो हाम्रो सम्बन्धलाई अझ विस्तृत एवम् प्रगाढ बनाउनेछ,’उनले भने।
भारतका बाह्यमामिलामन्त्री सुष्मा स्वराजले सफल र परिपक्व ७० वर्षको भारतको लोकतन्त्र भारतीय जनताप्रति समर्पित भएको र नेपालको लोकतन्त्र पनि सफल हुने विश्वास व्यक्त गरिन्। उनले भारतले हासिल गरेको प्रगतिबाट छिमेकी पनि लाभान्वित हुनुपर्छ भन्ने प्रधानमन्त्री मोदीको मान्यतालाई भारतले आत्मसात् गरेको बताइन्। राजनीतिक मतभेदले विकासका कार्यमा अवरोध सिर्जना गर्न हुँदैन, स्थायित्व, समृद्धि र विकासका निम्ति सबै राजनीतिक दलका नेता एकताबद्ध हुनुपर्नेमा उनले जोड दिइन्।
यसैबीच भारतीय दूतावासले आगामी अगष्ट १५ मा पनि औपचारिक कार्यक्रम गर्ने जनाएको छ।