अनसनकै बीच डा. गोविन्द केसीको आन्दोलनको मर्म बिथोल्ने गरी चिकित्सा शिक्षा कानुन ल्याउन नहुने भन्दै सांसदहरूले विरोध गरेपछि संसदीय समितिको बिहीबार बैठकले पारित गर्न सकेन।
संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिमा उक्त विधेयक विचाराधीन छ। समितिअन्तर्गतको कार्यदलले केही संशोधनसहित तयार पारेको प्रतिवेदनले अनसनरत डा. केसीको माग सम्बोधन नहुने भन्दै सांसदहरूले विरोध गरेपछि प्रतिवेदन पारित हुन नसकेको हो।
कार्यदलले विधेयकमा परेका संशोधनलाई सम्बोधन गरेको भन्दै प्रतिवेदन पारित गर्न समितिकी सभापति रञ्जु झाले सांसदहरूसँग आग्रह गरेकी थिइन्। कांग्रेसका सुजता चौधरी, टिएल चौधरी, मुक्ता यादव, माओवादीकी निशा साह, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थारुहटकी रुक्मिणी चौधरी लगायतले ‘कार्यदलको प्रतिवेदनमा थप छलफल जरुरी रहेको’ भन्दै तत्काल पारित गर्न नहुने बताएका थिए।
सांसदहरूको विरोधपछि सभापति झाले आमन्त्रित र पत्रकारहरूलाई बाहिर पठाएर छलफल गरेकी थिइन्। गोप्य छलफलमा समेत सहमति नभएपछि शुक्रबार ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।
गोप्य बैठक आधा घन्टा पनि बस्न सकेको थिएन। समस्या समाधान नहुने गरी ल्याइएको विधेयक अघि बढाएर उपलब्धि नहुने भएकाले छलफल जरुरी रहेको बैठकपछि नेपाली कांग्रेसकी सांसद सुजता परियारले सेतोपाटीलाई बताइन्।
केसी सम्बन्धनको विषयमै अनसन बस्दै आएका बेला कार्यदल केही नबोलेकाले समस्या सम्बोधन नहुने माओवादी केन्द्रकी सांसद निशा साहले बताइन्।
यसअघिको बैठकमा कांग्रेस सांसद तेजुलाल चौधरीले यो विधेयक विवादित भएकाले छलफल गरेर मात्र पारित गर्नुपर्ने धारणा राखेका थिए।
संघीय लोकतान्त्रिक मञ्च थारुहटकी सांसद रुक्मिणी चौधरीले सामाजिक सञ्जालमा समेत विधेयकको चर्चा भएकाले छलफल जरुरी रहेको बताएकी थिइन्। नेपाली कांग्रेसकी सांसद मुक्ता यादवले प्रतिवेदन अध्ययन गरेर मात्रै अघि बढाउने बताएकी थिइन्।
एमाले सांसद राजेन्द्र पाण्डेले भने संसदको बैठक एक साताको लागि स्थगित हुने भएकाले विधेयक पारित गर्नुपर्ने बताएका थिए ।
‘एकातिर विधेयक पारित गरेर डा केसीको अनशन तोड्नु छ, अर्कातिर संसद एक साताका लागि स्थगित हुँदैछ,’ उनले भने, ‘हामीले ठूलो प्रयास गरेर विधेयक तयार पारेका छौं। यसलाई ढिलो नगरी पारित गर्नुपर्छ।’
बैठकमा आमन्त्रित शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले विधेयक पारित गर्नुसंसदको अधिकारको कुरा भएको बताए। ‘डा. केसी अनसनमा हुनुहन्छ। संसदीय सर्वोच्चताको कुरा पनि छ, ’उनले भने, ‘माथेमा आयोगको प्रतिवेदनका आधारमा विधेयक तयार पारेका हौं। अब यसलाई पारित गर्नुपर्छ।’
स्वास्थ्य सचिव डा किरण रेग्मीले केसीको स्वास्थ्य अवस्था बिग्रिएकाले यसमा ध्यान दिनुपर्ने बताइन् ।
‘सामान्य अवस्थामा मुटुको चाल ७० देखि ८० हुनपर्छ तर उहाँको २ सय पुगेको छ,’ उनले भनिन्, ‘अनसनको दिन लम्बियो भने उहाँ ‘डिसेबल’ हुन सक्नुहुन्छ।’