नेपाली काँग्रेसले ०५६ सालयता ८ पटक मुलुकको वागडोर सम्हाल्ने मौका पायो । त्यसमध्ये गिरिजाप्रसाद कोइरालाले र शेरबहादुर देउवा ३/३ पटक सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री भए । त्यस्तै सुशील कोइराला र कृष्णप्रसाद भट्टराई १/१ पटक प्रधानमन्त्री भए ।
तर, नेपाली काँग्रेसकै सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहको सम्मानार्थ स्थापना भएको झापाको शिवसताक्षी ११ स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यावसायिक शिक्षालय करीब दुई दशकदेखि अलपत्र बनेको छ । यस्तै छ, लौह पुरुष गणेशमान सिंह अध्ययन प्रतिष्ठानको दूरदर्शा । पार्टीले सरकारको नेतृत्व गरेपनि संस्थाको उद्धेश्य अनुसारको काममा पार्टीले सहयोग नगर्दा सो संस्थाले मुर्तरुप पाउन नसकेको हो । यहाँका स्थानीयवासी भन्छन्, ‘मध्य झापाको लागि प्रशस्त सम्भावना बोकेको प्रतिष्ठान सरकारकै असहयोगका कारण अलपत्र पर्यो ।’
०५६ सालमा स्थापना भएको प्रतिष्ठानले अझैसम्म मूर्तरुप पाउन सकेको छैन । लौह पुरुष गणेशमान सिंहको सम्मानमा प्रतिष्ठान स्थापना गरिएपनि प्रतिष्ठानलाई मूर्तरुप दिन नसकेकोमा आफूहरु लज्जित बनेको प्रतिष्ठानका अध्यक्ष सन्तोषकुमार मेन्याङ्बोले बताए । उनले राज्यले सहयोग नगर्दा प्रतिष्ठानलाई लक्ष्यअनुसार अघि बढाउन नसकेको आरोप लगाए । ‘गणेशमान देशका नायक हुन् । तर, नायकलाई सम्मान गर्न सरकारले जानेन’ मेन्याङ्बोले भने,‘हामी प्रतिष्ठान निर्माणमा सहयोग माग्दै कैयौं पटक सिंहदरबारका मन्त्रालयहरु धायौं । तर, कसैले सहयोग गरेन ।’
प्रतिष्ठानले अहिले झिलझिलेमा साढे १२ बिगाहा जमिन भोगाधिकार गरिरहेको छ । बजेट अभावमा प्रतिष्ठानको जमिन गौ चरनको रुपमा परिणत भएको छ । तर, गत आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयले १५ लाख सहयोग गरेपछि अहिले जमिन घेराबार गरिएको कार्यवहाक अध्यक्ष गणेश प्रधानले बताएका छन । ५ लाख घेराबारमा खर्च गरेको प्रतिष्ठानले १० लाखको लागतमा मिनी कभर्डहल निर्माण गरिरहेको छ । ‘यो बजेट पनि झुक्किएर आइपुगेको हो ।’ उनले भने । हामीले कुनै पहलै नगरी माओवादी केन्द्रका साथी दुर्गा नेम्वाङ्गको सहयोगमा खेलकुद मन्त्रालयले बजेट उपलब्ध गराएको उनले बताए । हामीले यी दुई काम गरेका हौं’ प्रतिष्ठानका कार्यबहाक अध्यक्ष प्रधानले भने ‘यी कामपछि बजेट नभएकोले अब के गर्ने भन्ने ठोस योजना छैन ।’
प्रतिष्ठानले एक सय शैय्याको हस्पिटलका लागि ४ बिगाहा जग्गा छुट्याएको छ । यस्तै प्राविधिक शिक्षालयका लागि २ बिगाहा, अन्तर्राष्ट्रियस्तरको रंगशालाका लागि ३ बिगाहा र बाल उद्यानका लािग १ बिगाहा जग्गा छुट्याएको छ । ‘लक्ष्यअनुसार काम गर्न सरकारको सहयोगबिना सम्भव छैन’ प्रधानले भने,‘तर, वर्षौसम्म सरकारको असहयोग रहिरदा हामीले चाहेर पनि केही गर्न सकेनौं ।’ उनले गणेशमान देशैकै ठूलो नेता भएकोले उसको नामबाट प्रतिष्ठान स्थापना गरेपनि नेपाली कांग्रेस र उनकै छोरा प्रकाशमान सिंहको असहयोगका कारण प्रतिष्ठानले मुर्तरुप पाउन नसकेको बताए ।
प्रधानले भने,‘सुशील कोइराला प्रधानमन्त्री हुँदा प्रकाशमान सिंह उपप्रधानमन्त्री बन्नु भयो । छोराले सहयोग गर्छ होला ठानेर हामीले एक सय शैय्याको हस्पिटल बनाउने प्रपोजल बोकेर काठमाडौं गयौं । हुन्छ, म सहयोग गर्छु भनेर आश्वासन दिनु भयो तर, अहिलेसम्म केही सहयोग गर्नु भएको छैन ।’ मलाई लाग्छ अब पनि वहाँले केहि गर्नुहुन्न ।’
अध्यक्ष मेन्याङ्बोले सरकारले सहयोग नगरेपनि अब, भने स्थानीय स्तरबाटै प्रतिष्ठानलाई मूर्तरुप दिने बताए । उनले यसका लागि स्थानीय जनप्रतिनिधि र सामाजिक व्यक्तित्वहरुसँग छलफल गर्ने काम भइरहेको बताएका छन् । झिलझिलेमा सुविधासम्पन्न हस्पिटल बनाउन सके जिल्लाको मध्यक्षेत्रका जनता प्रत्यक्ष लाभान्वित हुने उनले बताए । ‘एमडी डाक्टर भेट्न जानुपर्यो भने बिर्तामोड कि दमक जानुपर्छ । बोर्डर छेउका जनतालाई सामान्य चेकजाँचका लागि पनि एक दिन खर्चिनुपर्ने बाध्यता छ’ उनले भने, ‘तर, यहा“ हस्पिटल बनाउन सकियो भने जनताले सर्वसुलभ र नजिकै उचित सेवा पाउने छन् ।’
पूर्वपश्चिम राजमार्गको झिलझिलेसँगै जोडिएको प्रतिष्ठानलाई शेरबहादुर देउवा प्रधामन्त्री हुँदा क्याविनेटबाटै निर्णय भएर तत्कालीन सरकारले जग्गाको स्वामित्त दिएको थियो । तर, त्यो जग्गा यो अवधिसम्म पनि बाँझै छ ।