तेस्रो चरणको स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोटलाई तीव्र बनाएको छ।
८ वटै जिल्ला कमिटीले सबै स्थानीय तहका उम्मेद्वारको नाम प्रदेशलाई सिफारिस गरिसकेको छ। केही स्थानमा प्रदेश कमिटीले निर्णय पनि गरिसकेको छ।
महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरबारे भने पार्टी केन्द्रले जिल्ला र प्रदेशको सिफारिसअनुसार निर्णय गर्छ।
वीरगञ्ज प्रदेश नम्बर दुईको एकमात्र महानगरपालिका हो। जिल्ला कमिटीले यहाँको उम्मेद्वारका रूपमा बसरूद्धिन अन्सारीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।
केही समयअघि माओवादी प्रवेश गरेका बसरूद्धिन मेयरको टिकट पाउने भएपछि एमाले फर्किएका थिए।
प्रदेशको सम्भावित राजधानीका रूपमा हेरिएको जनकपुरमा भने धनुषा जिल्ला कमिटीले लक्ष्मीनारायण भगत, दिपेन्द्र यादव र श्याम पूर्वे साहको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष राजकिशोर यादवले सेतोपाटीलाई जानकारी दिए।
बरिष्ठता र पार्टीमा पहुँच दुवै दृष्टिकोणमा भगत सबैभन्दा बलियो दाबेदार हुन्। अवकासप्राप्त कर्मचारी भगत कर्मचारी युनियन र पेशगत महासंघमा सक्रिय थिए। दिपेन्द्र यादव भने गत सालमात्रै एमाले प्रवेश गरेका हुन्। उनी अहिले युवा संघमा छन्। श्याम पूर्वे साह पार्टीका पुराना कार्यकर्ता हुन्। उनी अहिले जिल्ला कमिटीको सचिवालय सदस्य छन्।
अध्यक्ष यादव आफैं यहाँको सबैला नगरपालिकाको मेयरका लागि सिफारिस भएका छन्।
जनकपुरसँगै जोडिएको शिवेश्वरनाथ नगरपालिकामा हरिनारायण यादव, पल्टु पण्डित र रामपुकार यादव सिफारिस भएका छन्।
बाराका दुई उपमहानगरमध्ये कलैया र जितपुर-सिमरामा ४-४ जनाको नाम सिफारिस भएको जिल्ला अध्यक्ष सुन्दर विश्वकर्माले जानकारी दिए। उनका अनुसार जिल्ला सदरमुकाम कलैया उपमहानगरपालिकाको मेयर उम्मेदवारको दौडमा महम्मद समी उल्लाह, सुरेश मदक,ध्रुव यादव र बिनोद साह छन्। समी उल्लाहको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरिएको विश्वकर्माले बताए। उल्लाह एमाले जिल्ला कमिटी सचिव हुन्।
जिल्ला कमिटीका उपाध्यक्ष देवनारायण चौधरीको नाम भने जितपुर-सिमराको मेयरका लागि सिफारिस भएको छ। उनको नामलाई पहिलो नम्बरमा राखेर ४ जनाको नाम सिफारिस गरिएको हो। चौधरीपछि मनोज पौडेल, भरत खड्का र कृष्ण पौडेल सिफारिसमा परेका छन्।
सप्तरीको राजविराज नगरपालिकाको मेयरमा सुखराम चौधरी सर्वसम्मत रूपमा सिफारिस भएका छन्। यहाँको उपमेयरको टिकट ममता चौधरीले पाउने भएकी हुन्।
जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले जिल्ला कमिटीमा लामो छलफल गरेर एक जना मात्रै उम्मेद्वारको नाम सिफारिस गर्न सफल भएको बताए।
'हामीले लामो छलफल गरेर नाम टुंगो लगाएका हौं,' उनले भने, 'हामीले अरू नाम सिफारिस गरेका छैनौं। चुनाव लड्ने उहाँहरूले नै हो।'
बैंकको जागिरको अनुभव संगालेका सुखराम यादव संघीय समाजवादी फोरममा थिए। उनी गत जेठमा मात्रै फोरम छोडेर एमाले प्रवेश गरेका हुन्।
सुखरामलाई उम्मेद्वार बनाएर एमालेले मधेस आन्दोलन र एमालेको मेचीकाली अभियानका बेला भएको घटनाको जवाफ दिने प्रयास पनि गरेको छ। उनलाई उम्मेद्वार बनाएपछि एमाले थप बलियो भएको र चुनावको तयारी गर्न सहज भएको जिल्ला अध्यक्ष न्यौपानेले बताए।
'अभियानका बेला तनाव थियो, एमालेविरूद्ध झुठो प्रचार गरेर आतंकित गरिएको थियो,' उनले भने,'अहिले सबैले वास्तविक कुरा बुझिसके।'
उनले राजविराजमा एमाले अब चुनाव जित्ने अवस्थामा रहेको दाबी गरे।
सिराहाको सदरमुकाम सिराहा नगरपालिकामा डा.नवीन यादव सिफारिस गरिएको जिल्ला कमिटी अध्यक्ष प्रमोद यादवले जानकारी दिए।
उनी एमालेका पूर्वसांसद हेमनारायण यादवका छोरा हुन्। सांसद २०६० सालमा धनगढीमा भएको पार्टीको कार्यक्रमबाट फर्कने क्रममा उनका बुवा बेपत्ता भएका थिए। केही दिनपछि उनको शब भेटिएको थियो। उनलाई नेपाली सेनाले बेपत्ता बनाएको प्रमाण भेटिएकाले सेनाले नै हत्या गरेको एमालेको निष्कर्ष छ।
उनका छोरा डा.नवीन यादव एमाले छोडेर मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक)मा गएका थिए। केहीसमयअघि उनी एमाले फर्किएका हुन्।
सिराहाको अर्को नगर लाहानमा मुन्नि साह मेयर उम्मेदवारमा सिफारिस भएका छन्। उनी २०५४ सालको स्थानीय निर्वाचनमा पनि एमालेबाट यहाँको मेयरमा निर्वाचित भएका थिए।
उनी बीचमा केहीसमय माओवादीमा पनि सक्रिय थिए। केहीसमय अघि उनी एमाले फर्किएका हुन्।
अर्को नगर मिर्चैयाको मेयरमा प्रदीप महासेठाई सिफारिस गरिएको अध्यक्ष यादवले बताए। महासेठ जिल्ला कमिटीका सचिवालय सदस्य हुन्।
महोत्तरी सदरमुकाममा जलेश्वरको मेयरका लागि तीन जनाको नाम सिफारिस भएको छ। माधव मण्डल,मनोहर महतो र गोपाल महतको नाम सिफारिस भएको जिल्ला कमिटी सचिव भानु पोख्रेलले जानकारी दिए।
सर्लाही सदरमुकाम मलङ्वा नगरपालिकाको मेयरमा देवेन्द्र यादवलाई उठाउने निर्णय भएको जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए।
पन्तका अनुसार सर्लाहीका सबै स्थानीय तहका उम्मेद्वारका लागि जिल्ला कमिटीले एक-एक जनाको मात्रै नाम सिफारिस गरेको थियो। अहिले प्रदेश कमिटीले पनि निर्णय गरिसकेको छ।
'अब प्रदेश कमिटीले पनि निर्णय गरिसकेको छ,' अध्यक्ष पन्तले भने,'उम्मेद्वारहरू भोट माग्न हिडिसक्नु भएको छ। गाउँगाउँमा कार्यक्रम भइरहेको छ।'
सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरको टिकट मान बहादुर खड्काले पाएका छन्। यस्तै, बाग्मती नगरपालिका राजघाटका पूर्वअध्यक्ष विष्णु पुलामी र हरिवन नगरपालिकामा गणेश प्रसाईंले मेयरको टिकट पाएका छन्।
रौतहट सदरमुकाम गौरमा शम्भु साह सिफारिस भएका छन्। उनी एमाले गौर नगर कमिटीका सदस्य हुन्। जनतामाझ लोकप्रिय उम्मेद्वार भएका कारण साहलाई अघि सारिएको जिल्ला कमिटी अध्यक्ष कमल यादवले बताए।
रौतहटको अर्को महत्वपूर्ण नगरपालिका चन्द्रनिगाहपुरमा एमालेले युवा उम्मेद्वार बाबुराम दाहाललाई अघि सारेको छ। उनी युवा संघको पृष्ठभूमिबाट आएका हुन्।