पार्टी दर्ताको प्रकृयामा रहेको राप्रपा प्रजातान्त्रिक निर्वाचन आयोगले दिएको पत्र लिएर संसद सचिवालय गएको छ ।
विभाजित पार्टीमा ४० प्रतिशत सांसद रहेको/नरहेको यकिन गरेर पठाउन आयोगले संसदलाई काटेको पत्र बोकेर सिंहदरबार गएको नेता किरण गिरीले जानकारी दिए। 'निर्वाचन आयोगले पत्र दिएको छ,' उनले भने, 'यो पत्रअनुसार ४० प्रतिशत सांसद रहेको संसद सचिवालयले प्रमाणित गरेर पठाएपछि आयोगमा दर्ता हुन्छ।'
विभाजित पक्षले आफूसँग २२ जना सांसद रहेको दाबी गरे पनि निर्वाचन आयोगमा दिएको निवेदनमा १९ सांसदले हस्ताक्षर गरेका छन्। राप्रपामा जम्मा ३७ सभासद छन्। जसको ४० प्रतिशत हुनका लागि कम्तीमा १५ सांसद हुनुपर्छ। केन्द्रीय समितिमा भने ६३ जनाले निर्वाचन आयोगमा गएर आफ्नो नाम भेरिफिकेस गरिसकेको नेता गिरीले बताए।