दाङमा साढे २२ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । यसअघि मतदाता नामावलीमा छुट्न गएका मतदाताहरुका लागि शुरु गरिएको मतदाता नामावली संकलनका क्रममा हालसम्म २२ हजार ५ सय ३० जना नयाँ मतदाता नामावली थपिएको जिल्ला निर्वाचन अधिकारी दाङका विजय कार्कीले जानकारी दिएका छन् ।
जिल्लाका दश स्थानीय तहमा ११ हजार ९ सय ९१ महिला र १० हजार ५ सय ३९ पुरुष गरी हालसम्म कुल २२ हजार ५ सय ३० जना नयाँ मतदाता थपिएको अधिकारी कार्कीले बताए ।
दाङमा साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय घोराहीबाट मतदाताको नामावली संकलन गरिएको भएपनि साउन १६ गतेदेखि भने सम्वन्धित स्थानीय तहबाट नै मतदाताको नामावली संकलन कार्य भइरहेको छ । मतदाता नामावली संकलन कार्य साउन ३२ गतेसम्म जारी रहने जिल्ला निर्वाचन अधिकारी कार्कीले जानकारी दिए ।
जिल्लाका नौं स्थानीय तहका केन्द्रमा मतदाता नामावली संकलनका लागि गणक टोली संकलन केन्द्र मै रहेको भएपनि घोराही उपमहानरका हकमा भने निर्वाचन कार्यालय दाङमा मतदाता नामावली संकलनको भइरहेको कार्कीले बताए । स्थानीय निर्वाचनमा मतदाता नामावलीमा छुटेका नयाँ मतदाताको नाम संकलन गर्न, त्रुटि सच्याउन र स्थान परिवर्तनका लागि समेत गणक टोलीले काम गर्दै आएको छ ।
त्रुटि सच्चाउन एक घरको जोकोही आएपनि हुने तर मतदाता नामावलीमा स्थान परिवर्तन गर्न स्वयम उपस्थित भएर आवश्यक प्रमाणहरु समेत पेश गर्नुपर्ने उनी बताउँछन् ।
दाङमा असार १४ गते भएको दोस्रो चरणको निर्वाचनमा २ लाख ९१ हजार बढी मतदाता थिए भने २ लाख १८ हजार मात्र मत खसेको थियो । तर हालसम्म दाङको मतदाता संख्या ३ लाख १३ हजार बढी पुगिसकेको छ । अझैं एक हप्ताभन्दा बढी समय रहेकोले त्यसमा थप वृद्धि हुने देखिएको छ । निर्वाचन आयोगले प्रदेश र केन्द्रीय निर्वाचनलाई लक्षित गरी फोटो सहितको मतदाता नामावली संकलन गर्न जारी राखेको छ ।