एकिकरणको आठ महिनापछि राप्रपा विभाजित भएको छ। पार्टी एकिकरणका बेला प्रवेश गरेकी गायिका तथा सञ्चारकर्मी कोमल वली र एकिकरणको केही समयपछि प्रवेश गरेकी अभिनेत्री रेखा थापा भने संस्थापनपक्षतिरै रहने भएका छन्।
गायिका वली स्वयं र अभिनेत्री थापाको पारिवारिक स्रोतले यो जानकारी दिएका हुन्। गत फागुनमा सम्पन्न महाधिवेशनमा यी दुवै केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए।
गायिका वलीले आफू पहिलेदेखि पार्टी सुदृढिकरणको पक्षमा रहेकाले विभाजनले दुःख लागेको बताइन्। ‘म पहिलेदेखि नै पशुपतिसमशेर राणाज्यू र कमल थापा दुवैसँग निकट थिएँ,’ वलीले फोनसम्पर्कमा सेतोपाटीसँग भनिन्, ‘दुवै पार्टी एकिकरण हुने भएपछि मात्र मैले पार्टी प्रवेश गर्ने निधो गरेकी थिएँ। यदि एकिकरण हुन्थेन भने म कुनै पनि पार्टीमा प्रवेश गर्दैनथेँ। अब म संस्थापनपक्षतिरै रहन्छु।’
वलीका अनुसार अध्यक्ष राणासँगको भेटमा उनले पहिलेदेखि नै पार्टी फुटाउन नहुने बताउँदै आएकी थिइन्। ‘स्थानीय तहको निर्वाचनका बेला अध्यक्षज्यूले चुनाव चिन्हको कुरा उठाउँदा मैले भनेको थिएँ, चुनाव चिन्ह मुख्य होइन, संगठन मुख्य हो,’ वलीले भनिन्, ‘त्यसैले होला, पार्टी विभाजनका बेला उहाँले मलाई खबर गर्नुभएन।’
वलीले राप्रपाको विभाजनले देशलाई नै ठूलो घाटा लाग्ने बताइन्। उनले राप्रपा विभाजनलाई लिएर कसैले पनि ‘इन्जोय’ गर्न नहुने भन्दै हरेक नेपालीमा विभाजनको असर पर्ने बताइन्।
‘एउटा पार्टी बलियो हुनु भनेको अर्को पार्टीका लागि पनि राम्रो बन्ने पाठ हो,’ वलीले भनिन्, ‘पार्टीहरु यसरी विभाजन हुँदै जाने हो भने देश कमजोर हुन्छ। तर, पनि म आशावादी छु, दुई राष्ट्रवादी शक्तिहरु यसरी अलग हुन सक्दैनन्। उहाँहरुलाई चाँडै एकिकरणको खाँचो महसुस हुनेछ।’
पारिवारिक स्रोतका अनुसार अभिनेत्री थापा हाल कमल थापाले सोमबार डाकेको आकस्मिक बैठकमा रहेकाले सम्पर्क हुन सकेन।