नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिना सङ्ग्रौलाले प्रदेश निर्वाचनमा महिलालाई ५० प्रतिशत आरक्षण दिनुपर्ने बताएकी छन् । दाङको तुलसीपुरमा आइतवार आयोजित पत्रकार सम्मेलनमा उनले स्थानीय तहको निर्वाचनमा दलहरुले गठबन्धनका नाममा महिलालाई झुक्काएको बताईन् ।
स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको भएपनि राजनीतिक गठबन्धनको बहानामा महिला अधिकार खोसिएको सङ्ग्रौलाकोे आरोप थियो । ‘गठबन्धनको बहानामा प्रमुख, उपप्रमुख दुवै पदहरूमा पुरुषलाई उम्मेदवार बनाएर महिलालाई छक्काउने खेल भयो ।’ सङ्ग्रौलाले भनिन् । त्यस्तै प्रमुख पदमध्ये अधिकांश महिलालाई उपप्रमुख पदको उम्मेदवार बनाइएको प्रति पनि उनको असन्तुष्टि थियो। त्यसैगरी उनले प्रतिनिधिसभाको निर्वाचनमा संविधानमा व्यवस्था भएअनुरुप ३३ प्रतिशत महिलाको अधिकार सुरक्षित गर्न महिलालाई प्रत्यक्ष निर्वाचनका लागि टिकट दिनुपर्ने उनको माग थियो । ‘समानुपातिक मार्फत महिलाको कोटा पूर्ति गर्नुभन्दा महिलालाई आरक्षण सिट अन्तरगत महिला –महिला उम्मेदवार खडा गरेर भएपनि प्रत्यक्ष उम्मेदवार बनाउनुपर्छ ।’ काँग्रेस नेतृ सङ्ग्रौलाले भनिन् ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व केन्द्रीय सदस्य एवं सांसद उर्मिला थापाले सार्वजनिक मिडियाले महिलाको अधिकार रक्षामा अतुलनिय योगदान गरेको चर्चा गर्दै अझै पनि समाजका महिला प्रमुख भएको धेरैले मन नपराउने हुँदा त्यो सोच बदल्नका लागि मिडियाले भूमिका निर्वाह गर्नुपर्ने आग्रह गरेकी थिइन् । निर्वाचनबाट लोकतन्त्र संस्थागत भएपनि राजनीतिक सङ्क्रमण कायमै रहेको हुँदा महिलाका मुद्दा ओझेलमा रहेको बताईन् ।
अर्की महिला नेतृ निर्मला क्षेत्रीले पार्टी भित्रकै असहयोग तथा महिलाले जितेर के गर्न सक्छन् र ? भन्ने सोचका कारण महिलामाथि निर्वाचनमा घात भएको बताईन् ।