एमालेले २ नम्बर प्रदेशमा स्थानीय तह निर्वाचनको तयारीका लागि महासचिव ईश्वर पोखरेलको संयोजनमा दुई उपमहासचिव र पाँच सचिवलाई जिम्मेवारी दिएको छ। २ नम्बर प्रदेशका ८ जिल्लामध्ये एक-एक जिल्लाको कमाण्ड पाएका यी नेताहरूमध्ये अधिकांश एकपटक आफ्नो कार्यक्षेत्रमा पुगिसकेका छन्। केही नेताहरू काठमाडौं फर्किसकेका पनि छन्।
महासचिव पोखरेलले पर्सा, उपमहासचिव विष्णु पौडेलले बारा, अर्का उपमहासचिव घनश्याम भूसालले रौतहटको जिम्मेवारी तोकिएको छ। उनीहरू तीनैजना आफ्नो कार्यक्षेत्र एकपटक पुगिसकेका छन्।
सचिव योगेश भट्टराई धनुषामा छन्। अर्का सचिव प्रदीप ज्ञवाली सिराहामा छन्। भीम आचार्य सप्तरीमा जिल्ला कमिटीको बैठक गराएर धनकुटाको कार्यक्रममा भाग लिन गएका छन्। गोकर्ण विष्ट सर्लाही पुगेका काठमाडौं फर्किएका छन्।
महोत्तरीको जिम्मेवारी पाएका सचिव पृथ्वीसुब्बा गुरूङ शुक्रबार त्यता जाँदैछन्।
आफूले जिम्मेवारी पाएको जिल्लामा निर्वाचन तयारी कसरी भइरहेको छ भनेर सेतोपाटीले उनीहरूलाई सोधेको छ।
उनीहरूको जवाफ पढौं उनीहरूकै शब्दमा:
ईश्वर पोखरेल, महासचिवजिल्ला: पर्सा
जिम्मेवारी पाउने बित्तिकै म वीरगञ्ज आएँ। पहिले हामीले कार्यकर्ताहरूको भेला गर्यौं। त्यसपछि जिल्ला कमिटीको मिटिङ सम्पन्न गर्यौं। कतिपय ठाउँमा उम्मेद्वारहरू तय गर्यौं। यसले निर्वाचनको वातावरण सिर्जना गरेको छ।
अब के के गर्ने भन्ने सबै योजना जिल्ला कमिटीले बनाउँछ। हामी यहाँका पार्टी कमिटीहरूलाई नै परिचालन गर्छौं।
विगतमा पर्सामा एमालेविरुद्ध उक्साइएका तत्वहरूले हाम्रा कार्यकर्तामाथि आक्रमण गर्ने, एमालेलाई गतिविधि गर्न नदिने प्रयास पनि गरे। तर यहाँ एमाले कमजोर छैन। अहिले हामीले निरन्तर गतिविधि गरिरहेका छौं। कार्यकर्ताको मनोबल उच्च छ। उनीहरूमा उत्साह छ।
पर्सामा १ महानगरपालिका, १ नगरपलिका र ११ गाउँपालिका छन्। यी मध्ये बहुमत स्थानमा हामी एमालेलाई विजयी गराउन सक्छौं। साथीहरूले यहि भन्नुभएको छ।
घनश्याम भूसाल, उपमहासचिवजिल्ला: रौतहट
म मेरो जिम्मेवारीमा रहेको रौतहट पुगेर काठमाडौं फर्किएको छु। फेरि केही दिनमा त्यसतर्फ जान्छु।
म गएपछि सबैभन्दा पहिले जिल्ला सचिवालयको बैठकमा सहभागी भएँ। बैठकले मुख्य रूपमा पार्टीका जनसंगठनहरू अनेरास्ववियु, युवा संघ, अनेमसंघ लगायतलाई परिचलान गर्ने, सक्रिय बनाउने योजना बनायौं। प्रत्येक गाउँपालिका नगरपालिकामा पार्टीको भेला गर्ने, निर्वाचन परिचालन कमिटी र अनुगमन समिति बनाउने काम गर्यौं। उम्मेद्वारहरूबारे छलफल गर्यौं र प्रतिबद्धतापत्र बनाउने लगायतका काम सुरू गर्यौं।यसले पार्टीलाई निर्वाचनको तयारीमा पूर्णरूपमा होम्ने काम गरेको छ।
यसपछि मैले पार्टीका नेता कार्यकर्तासँग छलफल गरेँ। त्यहाँ भएका आन्तरिक समस्यालाई न्युनिकरण गरेर निर्वाचनका केन्द्रीत गर्न यो छलफल फलदायी भयो।
रौतहटमा १६वटा स्थानीय तह छन्। यीमध्ये अरू सबै पार्टीले जति जित्छन्, त्यति नै वा त्यो भन्दा धेरै स्थानमा हामी जित्न सक्छौं।
विष्णु पौडेल, उपमहासचिवजिल्ला: बारा
बारा र सर्लाहीका केही कार्यक्रममा उपस्थित भएर भर्खरै काठमाडौं आइपुगेको छु।
हामीले १५ गते कलैयामा जिल्ला कमिटीको बैठक गर्यौं। बैठकमा साथीहरूले प्रत्येक स्थानीय तहको रिपोर्टीङ गर्नुभयो। यहाँका दुई उपमहानगरपालिकासहित ११ स्थानमा एमाले सबैभन्दा बलियो पार्टी हो, यहाँ हामी निर्वाचन जित्छौं। तीन स्थानीय तहमा अरू पार्टीहरूसँग निकै प्रतिस्पर्धा हुन्छ। एउटामा भने हामी निकै कमजोर छौं। त्यसमा अलि बढी नै मेहेनत गर्नपर्ने देखिन्छ।
बैठकपछि मैले कार्यकर्ताहरूसँग व्यक्तिगत रूपमा कुराकानी पनि गरेँ। यहाँ पुगेपछि मैले दुईवटा निष्कर्ष निकालेको छु। पहिलो, यहाँका जनतामा चुनावबारे द्वीविधा छैन, असोज २ मानै चुनाव हुन्छ भन्नेमा उनीहरू ढुक्क छन्। दोस्रो, एमाले यहाँको पहिलो शक्ति हो र हामी बहुमत स्थानीय तह जित्छौं।
योगेश भट्टराई, सचिवजिल्ला:धनुषा
अस्ति बेलुका (मंगलबार) जनकुपर आइपुगेँ।
हिजो बुधबार पार्टी जिल्ला कमिटीका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र प्रदेश कमिटीका सदस्यसँग ६ घण्टा निरन्तर बैठक भयो। मैल उहाँहरू सबैका सबै कुरा सुनेँ। हिजो बेलुका यहाँ पार्टीका अगुवाहरूसँग छलफल गरेँ।
बिहान पत्रकारहरूसँग अन्तरक्रिया गरेँ। अहिले जिल्ला कमिटीको बैठक चलिरहेको छ। भोलि जनसंगठनको भेला छ। त्यसअघि बिहान उद्योग वाणिज्य संघसँग छलफल गर्छौं।
पर्सि एमाले जिल्ला कमिटीले गर्ने पार्टी कार्यकर्ताको बृहत भेला हुँदैछ।
त्यसपछि हामी योजना बनाएर गाउँगाउँ जान्छौं। कतिपय स्थानमा उम्मेद्वार छनोट भइसकेको छ। बाँकी ठाउँमा पनि यही महिनाभित्रमा छनोट गर्छौं।
धुनषामा ८ गाउँपालिका, ८ नगरपालिका र १ उपमहानगरपालिका गरी १७ स्थानीय तह छन्। यसमध्ये कम्तिमा पनि १० वटा स्थानीय तहमा जित हासिल गर्न सकिन्छ भन्ने रिपोर्टिङ छ। यसलाई सार्थक बनाउन र यो संख्या अझ बढाउन हामी निरन्तर काम गर्ने छौं।
हिजो आन्दोलनका क्रममा एमालेविरूद्ध नियोजित प्रहार भएको थियो। तर, अहिले कार्यकर्ताको मनोबल सुदृढ छ। पार्टीको अवस्था राम्रो छ। धनुषामा र जनकपुरमा निरन्तर कार्यक्रम गरिरहेका छौं। अहिले यहाँ सबैभन्दा उत्साही कार्यकर्ता नै एमालेका कार्यकर्ता छन्।
प्रदीप ज्ञवाली, सचिवजिल्ला: सिराहा
अहिले पनि यहाँ जिल्ला कमिटीको बैठक चलिरहेको छ।
पहिलो चरणमा हामी मुलत स्थितिको यथार्थ आकलन गर्ने उद्देश्यले यहाँ आएका हौं। म अस्तिको दिन यहाँ आइपुगेको छु। यहाँ आएपछि म लाहानमा भएको जिल्ला कमिटीको बैठकमा सहभागी भएँ। पार्टीका तर्फबाट स्थानीय तहमा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूसँग छलफल गरेँ। अब शान्तिसुरक्षाको अवस्थाबारे छलफलमा सहभागी हुन्छु। यहाँको नागरिक समाजसँग पनि छलफल र भेटघाट गर्ने योजना छ।
सिराहामा एमाले पहिलो शक्तिका रूपमा अगाडी आउने बलियो आधार छ। एमालेको प्रतिस्पर्धीको रूपमा कांग्रेस रहनेछ । त्यसपछि क्रमश:माओवादी र संघीय समाजवादी फोरम रहनेछन्।
हामीलाई र यहाँका जनतलाई शान्ति सुरक्षाको अवस्था कस्तो हुन्छ र चुनाव निष्पक्ष हुन्छ कि हुँदैन भन्ने चिन्ता छ। यी चिन्ताका बावजुद असोज २को स्थानीय तहमा बहुमत स्थानीय तहमा एमालेलाई विजयी गराउन हाम्रा नेता-कार्यकर्ता साथीहरू लागिरहनु भएको छ।
गोकर्ण विष्ट, सचिव,जिल्ला: सर्लाही
अहिले म सर्लाहीबाट धनकुटा आइपुगेको छु।
सर्लाहीमा साउन १६ गते जिल्ला कमिटीको बैठक गर्यौं। बैठकमा जिल्ला कमिटीका साथीहरूले यहाँ पार्टीको अवस्था, कार्यकर्ता परिचालनको अवस्था, अन्य राजनीतिक पार्टीहरूको अवस्था र गतिविधि, निर्वाचनको तयारीका लागि हामीले गर्नपर्ने काम आदी विषय रिपोर्टिङ गर्नुभयो।
१८ गते जिल्ला भयो। भेलामा पाँचसय हाराहारीमा जिल्लाका नेता-कार्यकर्ता उपस्थित भएका थिए। महासचिव ईश्वर पोखरेल पनि आउनु भएको थियो। निर्वाचन हुने भएपछि एमालेका कार्यकर्तामा ठूलो उत्साह देखिएको छ। स्थानीय निर्वाचनमा जिल्लाको पहिलो शक्ति बनाउँछौं भन्ने अठोट उहाँहरूसँग छ । हामी एमालेलाई यहाँको पहिलो पार्टी बनाउन सक्छौं।
जिल्लाको दक्षिणतिरका स्थानीय तहमा पार्टीलाई अलि बढी चुनौति छ। चुनाव जित्न यहाँ निकै मेहेनत गर्नुपर्छ।
अब हामी यहाँ गाउँपालिका स्तरका र वडास्तरका सानाठूला आमसभा गर्दै घरदैलोसम्म गर्छौं। स्थानीय पार्टी कमिटीसँग समन्वय गरेर जिल्ला कमिटीले यसको योजना बनाउँदैछ।
भीम आचार्य, सचिवजिल्ला: सप्तरी
विभिन्न उतारचढाव पछि पनि सप्तरीमा एमाले नै पहिलो 'पोजिसन'मा छ। निष्पक्ष, स्वतन्त्र चुनाव भयो भने एमालेले सबैभन्दा धेरै सिट जित्छ।
अधिकांश ठाउँमा हाम्रा उम्मेद्वारहरू तय भइसकेका छन्।
हिजो बुधबार यहाँको जिल्ला कमिटी बैठक थियो, जसले उम्मेद्वारबारे प्रदेश कमिटीलाई सिफारिस गरेको छ। यहाँ १७ वटा स्थानीय तह छन्। यीमध्ये अधिकांशमा एमालेको अवस्था दिनप्रतिदिन सुदृढ हुँदै गइरहेको छ।
मेची-महाकाली अभियानको बेला राजविराजमा दुखद घटना गराइयो। यही घटनालाई लिएर एमालेविरोधी जनमत तयार गर्न अरू पार्टीहरू लागि परेका छन्। तर, यहाँका जनताले वास्तविकता बुझेका छन्। हामी शान्तिपुर्ण ढंगले आफ्ना कुरा राख्न आएका थियौं। त्यहाँ अवरोध सिर्जना गर्ने मधेसी मोर्चाक कार्यकर्ता थिए भने गोली चलाउन आदेश दिने कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार थियो। यसमा एमालेको कमजोरी छैन तर एमालेविरूद्ध अनावश्यक प्रचारबाजी भएको कुरा जनताले बुझेका छन्।
यहाँ हाम्रा कार्यकर्तालाई हिजो अत्यन्तै सताइएको थियो। कार्यकर्ताहरूलाई मनोवै ज्ञानिक रूपमा मात्रै होइन, भौतिक आक्रमण नै भएको थियो। तर अहिले कार्यकर्ताको मनोबल माथि उठेको छ। एमाले प्रवेश गर्न कार्यकर्ताको संख्या पनि ठूलो छ।
राजविराज नगरपालिकामा पनि हाम्रो अवस्था सुदृढ बन्दै गइरहेको छ।