शहरी विकास मन्त्री प्रभु साहले निर्माणाधिन योजनाहरुमा ढिलाइ कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। वीरगन्जमा निर्माण भइरहेका विभिन्न योजनाहरुको कार्यान्वयन निरीक्षण गर्ने क्रममा मन्त्री साहले यस्तो बताएका हुन्।
शुक्रबार वीरगन्जमा सञ्चालित विभिन्न योजनाको कार्यान्वयन गर्ने र अन्तरसम्बन्धित निकायहरुलाई निर्देशन दिँदै मन्त्री साहले ठेकेदारको इच्छाअनुसार निर्माण योजनाहरुलाई निर्माण समयअवधि लम्ब्याउने कार्यहरु कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। विकास निर्माणमा ढिलाइ हुँदा वीरगन्ज जस्तो राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने शहर लथालिङ्ग बनेकोमा मन्त्री साहले दुख समेत व्यक्त गरे ।
वीरगन्ज क्षेत्रमा कार्यान्वयन भइरहेको विकास निर्माणका योजनाहरुको अनुगमन गर्दै भइरहेका कामहरुमा देखिएको ढिलाइलाई इंगित गर्दै योजना चाँडोभन्दा चाँडो पूरा गर्न निर्देशन दिएका थिए।
निर्धारित समय तालिकाभन्दा बिलम्व भएका करिब ७ अर्ब लगानीका ५ वटा ठूला र वीरगन्जका लागि अति महत्वपूर्ण योजनाहरु मन्त्री साहको टोलीले अनुगमन गरेको थियो।
विभिन्न सरकारी निकायहरु बीच समयमै उचित समन्वयको कमी, स्थानीय जनताका अवरोध, योजना कार्यान्वयन गर्नेहरुको कमजोरी र ठेकेदार कम्पनीको लापारवाहीले निर्माण योजनाहरुमा ढिलाइ हुने गरेको गुनासो आएको थियो।
‘ठेकेदारको चाहना अनुकुल डिजाइन परिवर्तन गर्ने, विभिन्न कारण देखाएर निर्माणमा ढिलाइ गर्ने प्रवृतिहरू देखिएका छन्,’ मन्त्री साहले भने, ‘अब यस्ता कुनै पनि बाहानामा विकास निर्माणका काममा ढिलाइ गर्न पाइँदैन्, नीतिगत निर्णय र बजेटको प्रबन्ध गर्नुपर्ने भए त्यो सरकारले गर्नेछ ।’ विकास निर्माणमा तीव्रता तपार्इहरू ल्याउनुस्’ मन्त्री साहले भने ।
निर्धारित समयभन्दा १४ महिना ढिलोमा २० प्रतिशत काम अझै बाँकी रहेको ती आयोजनामा एशियाली विकास बैंकको ८१ प्रतिशत तथा नगर विकास कोषबाट ११ प्रतिशत रकम ऋण र आयोजना कार्यान्वयन गर्ने शहरको ८ प्रतिशत लगानी रहेको छ ।
मन्त्री साहले सम्बन्धित निकायका अधिकारीहरुलाई आवश्यक कदम चाल्न निर्देशनसमेत दिए। यसै योजना अन्तरगत बनिरहेको ढलको पानी प्रशोधन गर्ने केन्द्रको पनि उनले निरीक्षण गरेका थिए ।
त्यसैगरी यसै योजनाको बेग्लै ‘प्याकेज’को रुपमा वीरगन्जमा निर्माणधीन रहेको करीब ५० करोड लागतको फोहर मैला व्यवस्थापन केन्द्रको पनि साहले निरीक्षण गर्दै बेलैमा काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए।