भारतीय राज्य विहारमा राजीनामा दिएको २४ घन्टा नबित्दै नितिशकुमार मुख्यमन्त्री बनेका छन्। उनी भारतीय जनता पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। नितिशकुमारको मन्त्रिमण्डलमा भाजपा नेता सुशील मोदी उपमुख्यमन्त्री बनेका छन्।
विहार विधानसभाका २४३ सांसदमध्ये नितिशकुमारको जनता दल युनाइटेडका ७१ सांसद छन् भने भाजपाका ५३ सांसद छन्। अरु साना दल समेत गरी नितिशकुमारको पक्षमा १३२ जना सांसदले समर्थन गरेपछि नितिशकुमारले बिहिबार बिहान छैठौं पटक विहारको मुख्यमन्त्रीको सपथ लिएका हुन्।
उनले अब विधान सभामा विश्वासकोे मत हासिल गर्नुपर्ने छ। त्यसपछि उनले मन्त्रिमण्डल विस्तार गर्नेछन्। यसअघि लालुप्रसाद यादवको राष्ट्रिय जनता दलसहितको गठबन्धन बनाएर उनी मुख्यमन्त्री बनेका थिए।
सो मन्त्रिमण्डलमा उपमुख्यमन्त्री रहेको लालुका छोरा तेजस्वी यादवमाथि भ्रष्टाचारको आरोपमा सिआइबीले छानबिन थालेको थियो।
गत साता सिबिआईले लालुप्रसाद यादवको पटनास्थित घरसहित १२ स्थानमा छापा मारेको थियो। यादव रेल मन्त्री हुँदा होटल मर्मतका लागि दिएका डेन्डरमा देखिएको घोटलालाई लिएर अनुसन्धान गरिरहेको सिबिआईले छापा मारेको थियो। लालुले स्टेसनसँगै रहेका भारतीय रेल्वेका होटलहरूको मर्मत र सञ्चालनका लागि दिएको टेन्डरहरूमा घोटला गरेको आरोप लागेको थियो।
यादव उनकी पत्नी राब्री देवी र उनका छोरा तेजस्वीविरूद्ध उक्त घोटलाको अभियोग लागेको छ।
सिबिआईले शुक्रबार बिहान यादवको पटनास्थित घरसँगै दिल्ली, हरियाणाको गुडगाउँ, उडिसाको पुरी र झारखण्डको राँचीमा रहेका यादव परिवारको घर तथा सम्पत्तिमा छापा मारेको थियो।
सिआइबीले छानबिन थालेपछि नितिशकुमारले उनले राजीनामा दिनुपर्ने बताएका थिए। पटक पटकको वार्तामा लालु यादवले आफ्नो छोराले राजीनामा नदिने बताएपछि बुधबार साँझ नितिशकुमार आफैंले राजीनामा दिएका थिए।
नितिशकुमारको राजीनामा लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत् उनलाई बधाई दिएका थिए। नितिशले पनि ट्वीट गरेर मोदीलाई धन्यवाद दिएका थिए।
दुई नेताबीच सामाजिक सञ्जालमा बधाई र धन्यवाद आदानप्रदान भएको केहीघन्टाभित्रै पहिला प्रतीपक्षमा बसेको भाजपाको समर्थनमा नितिशकुमार बिहारका मुख्यमन्त्री बनेका हुन्।
आफूलाई छोडेर भाजपासँग मिलेर गठबन्धन बनाएपछि लालुले नितिशकुमार अवसरवादी भएको आरोप लगाएका छन्। ‘मैले उनलाई सानो भाइलाई जस्तै ठानेको थिएँ, तर उनले मलाई धोका दिए,’ यादवले भने।