विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण घोषणा सभामा प्रश्न उठ्यो- 'तपाईंहरुको पार्टीको राजनीतिक आइडियोलोजी के हो?'
जवाफमा उज्ज्वल थापाले भने, 'नेपालका राजनीतिक दल कुनै 'लेफ्ट' र कुनै 'राइट' छन्, हाम्रो पार्टी 'फरवार्ड' हो।'
साविकको विवेकशील दलका अध्यक्ष तथा एकीकृत विवेकशील साझाको ८ सदस्यीय संयोजक समितिका सदस्य थापाको यो जवाफलाई घोषणासभामा उपस्थित झन्डै चार सय शुभेच्छुकले ताली बजाएर स्वागत गरे।
यही प्रश्नमा साविकको साझा पार्टीका अध्यक्ष तथा एकीकृत दलका संयोजक रवीन्द्र मिश्रले भने, 'थोरै 'सेन्टरबाट लेफ्ट'तिर छौं।'
एकीकरणपछि आफूलाई वैकल्पिक राजनीतिक दलका रुपमा प्रस्तुत गरेका उनले 'पुराना राजनीतिक दलका नेताहरुले गोलघरको जेलमा बसेर अधिकारको लडाइँ लडेकोमा अब आफूहरु समृद्धिको लडाइँ लड्ने' बताए।
घोषणा सभामा थापाले विदेशमा अध्ययन गरेर नेपाल आउँदा 'उत्कृष्टता'को बाटो बन्द हुने देखेपछि राजनीतिमा त्यसलाई स्थापित गर्न आएको बताए। 'यो एकीकरण दुई दलबीचको होइन, विवेकशील नेपालीहरुको साझा प्ल्याटर्म हो,' थापाले भने, 'यो विवेकशील नेपाली बनाउने यात्रा हो।'
मिश्रले भने आफ्नो दलले सुरुआतदेखि नै 'किन जन्मनुभयो' भन्ने प्रश्न सामना गरिरहेको बताए। 'परम्परागत राजनीतिक दलहरु अधिकार स्थापित गर्न जन्मनुभयो, हामी समृद्धिको नेतृत्व गर्न', मिश्रले भने, 'समृद्धि नभई अधिकार मात्र ह्वात्त अगाडि बढ्दा विकराल अवस्था आउन सक्छ।'
मिश्रले आफ्नो पार्टीलाई क्लबका रुपमा नलिइदिन आग्रह गरे। 'यो क्लब चलाएको होइन। सामाजिक काम गर्न लागेको पनि होइन। देश बदल्न लागेको हो,' उनले भने, 'तपाईंहरु हामीलाई सक्दैनौं नभनिदिनुस्, २/३ वर्ष मौका दिनुहोस्।'
झन्डै २५ मिनेट सम्बोधन गरेका मिश्रले ६ लेनको बाटोमा झन्डा हल्लाएर हिँड्न राजनीतिमा नलागेको दाबी गरे। 'हामी अन्धकार टनेलमा प्रवेश गरेका छौं। नेपालमा व्यक्ति परिवर्तन भए तर राष्ट्र परिवर्तन भएन,' मिश्रको भनाइ थियो।
एकीकृत पार्टीमा साविकका दुवैबाट १७/१७ जना सामेल हुने गरी ३४ जना केन्द्रीय समिति गठन गरिएको छ। प्रत्येक प्रदेशबाट कम्तीमा एक-एक जना संयोजकको भूमिकामा रहने गरी ७ जना सदस्य केन्द्रीय समितिमा रहने छन्। केन्द्रीय समिति थप विस्तार गरेर महाधिवेशनसम्मका लागि ५१ जना सम्म पुर्याइने छ। नयाँ पार्टीको चिह्न भने यसअघि साझा पार्टीको चिन्ह रहेको तराजु हुने भएको छ। नयाँ बनेको पार्टीको २ वर्षभित्र महाधिवेशन गरेर नयाँ नेतृत्व चयन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
एकीकृत पार्टीको नेतृत्वका लागि ८ जनाको संयोजन समिति बनाइएको छ भने रवीन्द्र मिश्र र उज्ज्वल थापा सहसंयोजक बनेका छन्। संयोजन समितिमा गोविन्द नारायण, निरुपमा यादव, सूर्यराज आचार्य, अनुषा थापा, मुमाराम खनाल र रमेश पौडल छन्। सामुहिक नेतृत्वमा गएको विवेकशील साझा पार्टीका बैठकको अध्यक्षता भने मिश्रले गर्ने छन्।
एकीकरणसभामा दुवै सहसंयोजकले उभिएरै प्रश्नको सामना गरेका थिए। पत्रकारभन्दा शुभेच्छकहरुले बढी प्रश्न सोधेका थिए। भारतमाथिको दृष्टिकोण, संघीयता, कार्यकारी प्रमुख र धर्मनिरपेक्षताको विषयमा समेत प्रश्न सोधिएको थियो। देशलाई समृद्धिमा लैजाने ग्यारेन्टी के भन्ने प्रश्न समेत शुभेच्छुकले गरेका थिए।
'अहिले चाडपर्वमा डाक्टर, इन्जिनियर बनोस् भनेर शुभकामना दिनुपर्ने ठाउँमा उद्यमी बनोस् नभनेसम्म देश अगाडि बढ्दैन,' थापाको भनाइ थियो।
मिश्रले पनि कतिपय मधेसका जिल्लामा बोरा बोकेर स्कुल जाने, त्यसमै बसेर पढ्ने र त्यही बोरा घर ल्याएर सुत्ने विद्यार्थी रहेको भन्दै समृद्धिको आवश्यकता दर्शाउन खोजे।
विवेकशील साझा पार्टी वैकल्पिक मात्र नभई 'नवीन र पृथक शक्ति' रहेको थापाको भनाइ थियो। 'हामी हाम्रो देशमा दुई शक्ति मात्र होस् भन्ने चाहान्छौं,' थापाले भने, 'एउटा विवेकशील शक्ति पावरमा होस्। अर्को विवेकशील शक्ति प्रतिपक्षमा होस्।'
मिश्रले आफ्नो पार्टीले कार्यकारी राष्ट्रप्रमुखको विषयमा छलफल गर्ने बताए। 'हामी अहिले संविधानअनुसार जानुपर्छ भन्नेमा छौं,' कार्यकारी प्रमुख हुने विषयमा छलफल गर्छौं,' उनले भने।
कार्यक्रममा कतिपयले व्यक्तिगत प्रश्न सोध्दै मिश्रलाई बिबिसीमा हुँदा नेपाल भारतमा गाभ्नुपर्छ भनेर कार्यक्रम चलाएको आरोप लगाए। अर्का सहभागीले थापालाई बाबुराम भट्टराईसँग मिल्न खोजेको विषयमा जिज्ञासा राखेका थिए।
एकीकरण सभामा काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवारी दिएपछि चर्चा कमाएकी रञ्जु दर्शना भने उपस्थित भइनन्। उनी सार्वजनिक गरिएको ३४ सदस्यीय केन्द्रीय समितिको सदस्य भने छिन्।
केन्द्रीय सदस्यमा अब्दुल मिया, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, जीवन श्रेष्ठ, दिनेश प्रसाईँ, प्रकाशचन्द्र परियार, पुकार बम, मानवी पौडेल, रन्जु दर्शना न्यौपाने, रमेश महर्जन, राम शाह र रेशु अर्याल छन्। त्यस्तै शशिविक्रम कार्की, शोभा शाक्य, सरोज धिताल, साधना राई, सुवुना बस्नेत, शोभिता परियार र ज्ञानेन्द्र निरौला पनि केन्द्रीय सदस्य बनेका छन्।
३४ जनाको केन्द्रीय कार्यसमिति भनिए पनि ४ जनाको नाम अझै टुंगो नलागेको उक्त पार्टीले जनाएको छ।