नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन र सिंहदरबारको अधिकार जनताको हातमा पुर्याउनका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन्।
प्रेस चौतारी मोरङद्वारा शुक्रबार विराटनगरमा अयोजित पत्रकार भेटघाटमा उनले दोस्रो चरणअन्तर्गत हुने निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु राजनीतिक दललगायत सम्बन्धीत सबै पक्षकोे साझा दायित्व भएको बताए।
महासचिव पोखरेलले निर्धारित समयभित्रै तीनवटै तहको निर्वाचन गराउनुपर्ने उल्लेख गर्दै स्थानीय सरकार बनेपछि मात्र सिंहदरबारको अधिकार जनताको हातमा पुग्ने विश्वास व्यक्त गरे।
पहिलोचरणको तुलनामा दोस्रो चरणको निर्वाचनमा एमालेले अझ राम्रो गर्ने विश्वास व्यक्त गर्दै उनले प्रदेश नं– २ को निर्वाचनको मिति सार्ने काम गैरजिम्मेवारपूर्ण भएको बताए।
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले द्वन्द्वपीडितलाई राहतको नाममा ६ अर्ब रुपैयाँ वितरण गरेर सरकारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाए।
यी घटनालगायत अन्य आचारसंहिता उल्लङ्घनको विषयमा एमालेले निर्वाचन आयोग र सरकारलाई ध्यानाकर्षण गराएको पनि बताए । रासस