नेकपा एमालेको आसन्न ११औं महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्न गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भएका निर्वाचनमा कार्यकर्ताको खासै उत्साह देखिएको छैन।
लमजुङ, गोरखा र नवलपुरमा मतदानबाट प्रतिनिधि चयन गरिएको छ। तनहुँको क्षेत्र नम्बर १ मा मतदान भए पनि नतिजा घोषणा गरिएको छैन।
यी क्षेत्रमध्ये लमजुङमा बहुमत कार्यकर्ता मतदानमा अनुपस्थित रहेको पाइन्छ भने अन्य क्षेत्रमा पनि कम संख्यामा सहभागी भएको देखिन्छ।
एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार गत शनिबार भएको महाधिवेशन प्रतिनिधि चुनावमा १९१६ जनाले मतदान गरे। जबकि, लमजुङमा एमालेको पार्टी सदस्य ५४०० जना रहेको अध्यक्ष अधिकारी बताउँछन्।
'लमजुङमा महाधिवेशन प्रतिनिधिको चुनावमा ३५ प्रतिशत मत खस्यो,' उनले भने, 'कार्यकर्ताले सहमति गरेर जाऊ भने, मतदान गर्न रूचि राखेनन्।'
गोरखा-१ मा करिब १२ सय सदस्य रहेकामा ४९७ जना मात्र मतदानमा सहभागी भएको एमाले केन्द्रीय सदस्य तथा गोरखा इन्चार्ज रामशरण बस्नेतले जानकारी दिए।
उनका अनुसार गोरखा-२ मा ३४२ जनाले मात्र महाधिवेशन प्रतिनिधिको चुनावमा मतदान गरे। गोरखाकै उत्पीडित क्षेत्रमा ८२२ जना पार्टी सदस्य रहेकामा १३५ जना मात्र मतदानमा उपस्थित भए।
यसरी अत्यन्त न्यून संख्यामा मात्र पार्टी सदस्य निर्वाचनमा सहभागी हुनुका पछाडि कोही कार्यकर्ता विदेश जानु, कोही खेतबारीमा व्यस्त हुनु र दुर्गम भूगोल पनि कारक रहेको बस्नेत बताउँछन्।
'गोरखा भूगोल निकै दुर्गम छ। कोही साथीहरू विदेश जानुभएको छ भने कोही खेतबारीमै व्यस्त हुनुहुन्छ,' उनले भने, 'जति मतदान भयो, त्यसलाई हामीले उत्साहपूर्वक सहभागी भएको भनेर लिएका छौं।'
उता सहमतिको प्रयास असफल भएको भन्दै नवलपुरमा भएको निर्वाचनमा पनि अत्यन्त कम संख्यामा पार्टी सदस्यले मतदान गरे।
नवलपुर क्षेत्र नम्बर १ मा ३७४२ जना पार्टी सदस्य रहेकोमा महाधिवेशन प्रतिनिधि छनौट गर्न १८४५ जना मात्र सहभागी भए।
नवलपुर-२ मा ३३४२ जना पार्टी सदस्य रहेकामा १३०८ जना मात्र मतदानमा सहभागी भएको एमाले नवलपुरका अध्यक्ष जीवन श्रेष्ठले बताए।
'पार्टीका धेरै साथी जिल्ला बाहिर छन्, कोही देशबाहिर छन्,' उनले भने, 'भूगोलका कारण पनि कति साथीहरू मतदान गर्न आउनुभएन।'
तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि छनोटका लागि मतदान भए पनि अहिलेसम्म मतपरिणाम घोषणा गरिएको छैन।
गणनाका क्रममा मतभेद भएपछि बन्दीपुर गाउँ कमिटीबाट मतदान भएको मतपेटिका हराएको भन्दै निर्वाचन समितिले परिणाम घोषणा गर्न सकेको छैन।
मत परिणाम सार्वजनिक नभए पनि तनहुँ १ बाट पनि अत्यन्त कम संख्यामा मात्र पार्टी सदस्य मतदानमा सहभागी भएको देखिन्छ।
एमाले तनहुँका इन्चार्ज एवं केन्द्रीय सदस्य केदार सिग्देलका अनुसार तनहुँ-१ मा करिब २५०० जना पार्टी सदस्य छन्। जसमा ११६६ जनाले मात्र महाधिवेशन प्रतिनिधिको चुनावमा मतदान गरे।
'महाधिवेशन प्रतिनिधि बन्न पाउनु सबै पार्टी सदस्यको बराबर अधिकार हो। धेरै जना साथीले आकांक्षा राखेपछि सहमति हुन सकेन,' उनले भने, 'सहमति हुन्छ भनेर नै धेरै पार्टी सदस्य मतदान गर्न आउनुभएन।'
महाधिवेशन प्रतिनिधिका छनोट गर्न निर्वाचनमा बहुमत कार्यकर्ता अनुपस्थित भएजस्तै सर्वसम्मतिका नाममा माथिबाट घोषणा गरिएको प्रतिनिधिप्रति पार्टीकै नेता तथा कार्यकर्ता झन् आक्रोशित छन्।
कास्कीबाट २२ जना महाधिवेशन प्रतिनिधि छनौट गर्न १२२ जनाले मनोनयन दर्ता गरे पनि केही नेताहरू बसेर प्रतिनिधि घोषणा गरेका थिए। यसविरूद्ध महाधिवेशन प्रतिनिधिका आकांक्षीले पार्टीका जिल्ला, प्रदेश र केन्द्रीय संगठन विभागमा उजुरी मात्र दिएका छैनन्, तत्काल निर्वाचन प्रक्रिया थाल्न आग्रह पनि गरेका छन्।
कास्की– १ बाट ७ जना महाधिवेशन प्रतिनिधिका लागि ४७ जनाले मनोनयन दर्ता गरेकामा माथिबाटै महाधिवेशन प्रतिनिधि घोषणा गरिएको भन्दै बाँकी ४० जना आकांक्षीले विरोध जनाएका छन्।
एमाले कास्कीका युवा नेता विवेक त्रिपाठीले सर्वसम्मतिका नाममा माथिबाट महाधिवेशन प्रतिनिधि घोषणा गरेर पार्टीको विधान, अन्तरपार्टी निर्देशन (अपानी) र लोकतान्त्रिक विधि र प्रक्रियाविरूद्ध गएको बताएका छन्।
'आफूलाई छान्ने प्रतिनिधि आफैले छानेर लाने अभ्यास नेतृत्वले गरेको छ। अपानी, पार्टीको विधि र प्रक्रियालाई नेतृत्वले गुमराहमा राखेको छ,' उनले भने, 'अविलम्ब निर्वाचन प्रक्रिया सुरू गरेर महाधिवेशन प्रतिनिधि छनौट गरियोस्।'
उनले पार्टीका कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीलाई ज्ञापनपत्र बुझाएर माथिबाट घोषणा गरिएका महाधिवेशन प्रतिनिधि आफूहरूका प्रतिनिधि हुन नसक्ने र कार्यकर्ताले अपनत्व नलिने बताएका छन्।