नेकपा एमालेको आसन्न ११औं महाधिवेशनअन्तर्गत मंगलबारबाट प्रतिनिधि छनोटको कार्यसूची अघि बढेको छ।
यसरी महाधिवेशन प्रक्रिया अघि बढिरहँदा एमाले वृत्तमा एउटा कुरा चासो छ — के आज ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्लान्?
संस्थापन इतर समूहले दिएको जानकारी अनुसार आज मंगलबार वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा उम्मेदवारी घोषणा गर्ने तयारी थियो। तर यो प्रक्रिया केही दिनलाई थाती रहेको छ।
स्रोतका अनुसार मंगलबार पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेर वक्तव्य जारी गर्दै छन्। पोखरेलसहित केही नेताले भने अर्को साता मात्र उम्मेदवारी घोषणा गर्नेछन्।
'उहाँले पार्टी सचिवालय बैठकमै आफू पार्टीको नेतृत्व गर्न तयार रहेको सन्देश दिइसक्नुभएको छ,' एक नेताले भने, 'प्रतिनिधि छनोटको पूर्वसन्ध्यामा वरिष्ठ उपाध्यक्ष पोखरेलले त्यही सन्देशका साथ कार्यकर्ता पंक्तिलाई आह्वान गर्न लाग्नुभएको हो।'
ईश्वर पोखरेल कोअर्डिनेसन केन्द्रदेखि नै पार्टी आन्दोलनमा लागेका हुन्।
उनी २०३५ सालमा मोरङको डिफु गाउँमा नेकपा (माले) गठन गर्दाका संस्थापक केन्द्रीय सदस्य हुन्। त्यति बेला मालेको १२ सदस्य केन्द्रीय कमिटी थियो। मालेको चौथौ, मार्क्सवादीसँग एकता भएपछि पाचौं हुँदै लगातार केन्द्रीय कमिटीमा रहेका पोखरेल २०६५ मा बुटवलमा भएको आठौं महाधिवेशनबाट महासचिव निर्वाचित भएका थिए।
नवौंमा पनि महासचिव निर्वाचित भएका पोखरेल माओवादी केन्द्रसँग एकतापछि महासचिव हटाइएका थिए। दसौंपछि वरिष्ठ उपाध्यक्ष बनेका पोखरेल पार्टीभित्रका कुशल संगठक पनि मानिन्छन्। उनले लामो समय जनकपुर बसेर तराई–मधेसमा आन्दोलन विस्तार गर्न भूमिका खेलेका थिए।
२०५६ सालमा काठमाडौं ३ बाट निर्वाचित पोखरेल २०६४ र २०७० सालमा काठमाडौं–५ बाट पराजित भएका थिए। २०७४ सालमा उनी काठमाडौं–५ बाटै निर्वाचित भएका थिए।
२०७९ सालमा भने उनी चुनाव जित्न सकेनन्। नेपाली कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएका थिए। २०५१ सालमा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उनी प्रमुख सल्लाहकार थिए।
११औं महाधिवेशनमा उनले अध्यक्षमा उम्मेदवारी दिने गरी तयारी गरेका छन्। एमाले निर्वाचन आयोगले प्यानलगत प्रतिस्पर्धा गर्न, चुनावअगाडि प्यानल घोषणा गर्न बन्देज लगाएको छ। तथापि केन्द्रीय महाधिवेशनबाटै यसको उल्लंघन हुँदै आएको छ। दसौं महाधिवेशनमा यही निर्देशनका बाबजुद संस्थापन पक्षले नै प्यानल बनाएर चिट बाँडेको थियो।
वरिष्ठ उपाध्यक्ष पोखरेल समूहमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराई लगायत छन्।
उनीहरूले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङलाई पनि आफ्नो समूहमा जोड्ने प्रयत्न गरिरहेका छन्। यीमध्येलाई समेटेर टिम बनाउने तयारीमा पोखरेल छन्।
यसबीच केही जिल्लाले सोमबारबाटै प्रतिनिधि चयनका लागि मतादाता नामावलीको सूची टाँस्ने काम अघि बढाए पनि अधिकांश जिल्लाले आज त्यसको तयारी गरेका छन्।
मतदाता नामावली प्रकाशनको पूर्वसन्ध्यामा केन्द्रीय संगठन विभागले थप निर्देशनसमेत जारी गरेको छ। केन्द्रीय संगठन विभागले प्रतिनिधि चयन गर्दा सकेसम्म सहमति र नभए मतदानबाट टुंग्याउन भनेको छ।
प्रतिनिधि टुंग्याउँदा निर्वाचनकै विधि अपनाउन भनेको छ। त्यो भनेको मतदाता नामावली प्रकाशन, दाबी विरोध, उम्मेदवारी आह्वान र मतदानको प्रक्रिया हो। यी सबै प्रक्रिया मंसिर १३ गते टुंग्याएर त्यसको भोलिपल्ट विवरण माथिल्लो कमिटीमा पठाउन भनेको छ।