नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट २७ जना केन्द्रीय सदस्यहरूले नेता शेखर कोइरालासँग कुराकानी गरेका छन्।
२०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४ औं महाधिवेशनमा सभापति पदमा कोइराला देउवासँग पराजित भएका थिए। त्यसैले कोइरालालाई संस्थापनइतर समूहका नेताका रूपमासमेत लिइन्छ।
उक्त महाधिवेशनमा सभापति देउवा प्यानलबाट केन्द्रीय सदस्य जितेकाहरूले आज विशालनगरस्थित सम्पर्क कार्यालय पुगेर नेता कोइरालासँग दुई घन्टा कुराकानी गरेका हुन्।
कुराकानीको मुख्य विषय १५ औं महाधिवेशनसँग सम्बन्धित छ।
देउवानिकट २७ केन्द्रीय सदस्यहरूले नेता कोइरालासँग छलफल गर्दा त्यहाँ सहमहामन्त्रीद्वय जीवन परियार र बद्रीप्रसाद पाण्डे, केन्द्रीय सदस्यहरू मीनेन्द्र रिजाल, रामकृष्ण यादव, सञ्जय गौतम, गोविन्दराज पोखरेललगायत पनि थिए।
सभापति देउवा पक्षका केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की, चीनकाजी श्रेष्ठ, तारामान गुरूङ, जानकी सिंह चुनावअघि महाधिवेशनका पक्षमा छन्।
कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ। जसमा सभापति देउवा पक्षका दुई तिहाई बढी केन्द्रीय सदस्य छन्। सभापति देउवा पक्षकै करिब ८० जना केन्द्रीय सदस्यहरू भने चुनावपछि मात्रै महाधिवेशनका पक्षमा छन्।
चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका सभापति देउवानिकट केन्द्रीय सदस्यहरूले १५ औं महाधिवेशन कार्यतालिका ल्याउन केन्द्रीय कार्यालयमा हस्ताक्षरसहित ७ बुँदे मागपत्र बुझाएका छन् भने सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई यसअघि नै भेटिसकेका थिए। साथै उनीहरूले आज नेता शेखर कोइरालासँग भेटेर नियमित महाधिवेशन कार्यतालिका ल्याउन पहल गरिदिन आग्रह गरेका हुन्।
केन्द्रीय सदस्य आङगेलु शेर्पाले सेतोपाटीसँग कुराकानी गर्दै आज नेता कोइरालासँग करिब दुई घन्टा कुराकानी गरिएको बताए।
‘आज बिहान साढे ८ देखि साढे १० बजेसम्म नेता कोइरालासँग हामीले कुराकानी गर्यौं, हिजो सानेपामा बसेको केन्द्रीय समिति बैठकमा किन १५ औं महाधिवेशन कार्यतालिका आएन भनेर जिज्ञासा राख्यौं,’ शेर्पाले भने।
जबाफमा नेता कोइरालाले किन १५ औं महाधिवेशन कार्यतालिका केन्द्रीय समितिमा ल्याइएन भन्ने विषयमा आफू पनि अनविज्ञ रहेको बताएका थिए।
‘तपाईंले नियमित महाधिवेशनका पक्षमा अलि दह्रोसँग कुरा राख्नुपर्यो भनेर हामीले सामूहिक रूपमा भन्यौं,’ उनले भने, ‘उहाँले आफू नियमित महाधिवेशनका पक्षमा पहिलादेखि नै भएको र पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने कुरा पनि राख्नुभयो।’
केन्द्रीय समितिले पुस मसान्तभित्रको कार्यतालिका ल्याएर भए पनि १६ औं महाधिवेशन गर्नुपर्ने पक्षमा कोइराला छन्।
यदि पुस मसान्तभित्र १५ औं महाधिवेशन गर्न नसक्ने हो भने केन्द्रीय समिति बैठकबाट सर्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने कोइरालाको भनाइ छ।
‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेको अवस्था छ। त्यतिमात्र होइन, केन्द्रीय समितिले नै सर्वसम्मत रूपमा विशेष महाधिवेशनमा जाने निर्णय गर्यो भने विवाद कम हुन्छ, नियमित महाधिवेशन गर्न नसकेको खण्डमा केन्द्रीय समितिले निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्छ,’ कोइरालाले देउवा पक्षका केन्द्रीय सदस्यहरूसँग भने।
केन्द्रीय सदस्यहरूले भोलि विशेष महाधिवेशन माग गरेका नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ।
विशेष महाधिवेशन पक्षधरलाई विश्वासमा लिन नसक्दा केन्द्रीय समितिबाट नियमित महाधिवेशन कार्यतालिका नआएको हो कि भन्ने कुरा पनि कोइरालाको थियो।
‘विशेष महाधिवेशन पक्षलाई विश्वासमा लिन नसक्दा पनि १५ औं महाधिवेशन कार्यतालिका आउन नसकेको हो कि जस्तो मलाई लाग्छ भनेर उहाँले भन्नुभयो,’ उनले भने।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय कार्यालयमै भेटेर विशेष महाधिवेशन माग गरेका थिए।
त्यसअनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यकारी अवस्था छ तर कांग्रेस नेतृत्व विशेष महाधिवेशन गर्न तयार देखिएको छैन।
केन्द्रीय समिति बैठक मंसिर ११ गतेसम्म स्थगित गरेर महाधिवेशन तिथिमितिबारे सहमति खोज्ने प्रयासमा सभापति र कार्यवाहक सभापति छन्।
महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्न सकिने र त्यसभन्दा पछि जाने हो भने अब विशेष महाधिवेशन नै निर्विकल्प हुने प्रतिक्रिया दिएका छन्।