निर्वाचन आयोगले आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाट नाम दर्ता गराउन सकिने व्यवस्था गर्नु फलदायी साबित भएको छ।
आयोगले कात्तिक २७ गते राष्ट्रिय परिचयपत्रलाई मतदाता नामावलीसँग लिंक गरेपछि अनलाइनबाट नाम दर्ता गर्नेको संख्या उल्लेख वृद्धि भएको जनाएको छ।
आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने समय थपेर कात्तिक ५ सम्म कायम गरेको थियो। त्यस अवधिमा ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन्। तीमध्ये राष्ट्रिय परिचयतपत्र मार्फत नाम दर्ता गराउनेहरूको संख्या आधाभन्दा बढी छ।
आयोगले दिएको अन्तिम विवरण अनुसार फोटो तथा औंठाछाप सहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत ३ लाख ४४ लाख ९१४ ले नाम लेखाएका छन् भने राष्ट्रिय परिचयपत्र मार्फत नाम लेखाउनेको संख्या ४ लाख ९२ हजार १८० रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
राष्ट्रिय परिचयपत्रसँग लिंक गरिएको पहिलो ५ दिनमै ३ लाखभन्दा धेरै मतदाताले नामावलीमा नाम दर्ता गराएका थिए।
थपिएका कुल मतदातामध्ये ४ लाख ७३ हजार २५५ पुरूष र ३ लाख ६३ हजार ७८० जना महिला र ६१ जना अन्य छन्। अन्तिम दिन शुक्रबार मात्र ७ हजार ८६२ जनाको विवरण दर्ता भएको आयोगले जनाएको छ।
नयाँ दर्ता गराउने सबैको नाम मतदाता नामावलीमा भने समेटिने छैन। १६ वर्ष उमेर पुगेका नागरिकले मतदाता नामावलीमा नाम लेखाउन पाउँछन्। मतदानमा भने १८ वर्ष उमेर पुगेका व्यक्तिले मात्र भाग लिन पाउँछन्।
आयोगका अनुसार अहिले नाम दर्ता गराए पनि फागुन २० गतेसम्म १८ वर्ष नपुग्ने व्यक्तिको नाम मतदाता नामावलीमा हुने छैन।
२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता थिए। अहिले प्राप्त तथ्यांकलाई आधार मान्ने हो भने २०७९ बाट २०८२ सालमा आउँदा कम्तिमा १० लाख मतदाता थपिने देखिएका छन्।
सामान्यतया नेपालमा पाँच वर्षको अन्तरालमा निर्वाचन हुने गरेको छ। २०७४ सालमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता थिए। यो २०७९ मा बढेर १ करोड ७९ लाख ८८ हजार ५ सय ७० पुगेको थियो। अर्थात्, पाँच वर्ष अन्तरालमा २५ लाख ६० हजार ८ सय ३९ मतदाता बढेका थिए।
त्यसअघि २०७० सालमा १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता थिए। यो २०७४ मा बढेर १ करोड ५४ लाख २७ हजार ७ सय ३१ पुगेको थियो। अर्थात्, पाँच वर्ष अन्तरालमा ३२ लाख ७९ हजार ८ सय ६६ मतदाता बढेका थिए।