नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन प्रक्रिया अघि बढाउन मागसहित ध्यानाकर्षण पत्र बुझाउन खोजे पनि समय नपाएको बताएका छन्।
विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरूले अनामनगरमा छलफल गरेर कार्यवाहक सभापति खड्कालाई ध्यानाकर्षण पत्र बुझाउनेदेखि केन्द्रीय कार्यालय घेराउसम्मका दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेका थिए।
त्यसअनुसार नेता गुरूराज घिमिरे लगायतले कार्यवाहक सभापति खड्कालाई फोन गरी उक्त कार्यक्रमबारे जानकारी गराएर भेट्न समय मागे पनि नपाएको बताएका हुन्।
कार्यवाहक सभापति खड्काले फोनमा कुराकानी गरे पनि पत्र बुझ्न नमानेको घिमिरेको भनाइ छ।
‘कार्यवाहक सभापतिज्यूलाई हिजो फोन गरेर ध्यानाकर्षण पत्र बुझाउन समय मागेको हो, उहाँले कुनै पनि ध्यानाकर्षण पत्र, स्मरण पत्र अहिले म बुझ्दिनँ भन्नुभयो, अहिले धेरै मानिसहरू भेट्दिनँ भन्ने खालको कुरा उहाँको थियो,’ नेता घिमिरेले सेतोपाटीसँग भने।
आज भने कार्यवाहक सभापति खड्काको फोन नउठेको घिमिरेको भनाइ छ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेका थिए। कार्यवाहक सभापति भएको भोलिपल्ट (असोज २९ गते) खड्काले विशेष महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझेका थिए।
साथै यसबीचमा कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन माग गरेका नेताहरूसँग कुराकानीसमेत गरेका थिए। कात्तिक १५ गते केन्द्रीय कार्यालय सानेपामा नेता घिमिरे लगायतसँग कार्यवाहक सभापति खड्काले कुरा गरेका थिए।
विशेष महाधिवेशन पक्षधरले अब नियमित महाधिवेशनको चर्चासमेत नगर्ने भन्दै विशेष महाधिवेशन प्रक्रिया अघि बढाउन हस्ताक्षर सनाखतलगायत अघि बढाइदिन मागसहित ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन्।
ध्यानाकर्षण पत्र बुझ्न समय नदिएकोजस्ता विषयमा हामीले कार्यवाहक सभापति खड्कासँग कुराकानी गर्न खोज्दा फोन उठेन।
भोलि केन्द्रीय समिति बैठक पनि बस्दैछ। बिहीबार दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक राखिएको हो।
कार्यवाहक सभापति खड्काले केन्द्रीय समिति बैठक रोकेर नेताहरूबीच सहमति जुटाउन अनौपचारिक कुराकानी गरेका थिए। यसबीचमा सिंगापुरबाट फर्केर सभापति शेरबहादुर देउवाले पनि अनौपचारिक कुराकानी गर्दै आएका छन्।
तैपनि महाधिवेशनबारे सहमति जुटेको छैन।
सभापति देउवाले कार्यवाहक सभापति खड्का, नेता शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत र आफूनिकट केही केन्द्रीय सदस्यहरूलाई बेग्लाबेग्लै भेट गरेर कुराकानी गरेका थिए।
सभापति देउवाले नेताहरूसँगको भेटमा पार्टीलाई एकढिक्का राख्ने गरी सर्वसहमतिमा अघि बढ्नुपर्छ भनिरहेका छन्। तर केन्द्रीय समितिबाट के निर्णय लिएर जाने हो भन्ने विषयमा उनले प्रष्ट कुरा राखिसकेका छैनन्।
विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समिति बैठक बसेका दिन केन्द्रीय कार्यालय घेराउलगायत तयारी पनि गरेका छन्।
त्यसका लागि बागमती प्रदेशभित्र रहेका जिल्ला सभापति लगायतसँग कुराकानी भएको नेताहरूले जनाएका छन्।
फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि पछि वैशाखमा भन्नेमा कांग्रेस केन्द्रीय समितिभित्र मतभेद छ।
कात्तिक १८ गते महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्न प्रस्ताव गरेका थिए।
महाधिवेशन कार्यतालिका केन्द्रीय समितिले सार्वजनिक गरेको एक सातामा क्रियाशील सदस्यता नवीकरण सकिने उनको भनाइ थियो भने केही समय दिएर नयाँ क्रियाशील बाँड्न सक्ने उनको भनाइ थियो। अहिलेसम्म ६ लाख क्रियाशील सदस्यता नवीकरण भएको महामन्त्री थापाको भनाइ थियो।
सोही दिन सहमहामन्त्री महेन्द्र यादवले पनि वैशाख मसान्तमा १५ औं महाधिवेशन उपयुक्त हुने धारणा राखे। उनले विगतको अभ्यास हेर्दा क्रियाशील सदस्यता टुंगो लगाउन ६ देखि ८ महिना लाग्ने गरेको सुनाएका थिए। त्यसैले राष्ट्रिय सभा र प्रतिनिधि सभा चुनाव तयारीमा पार्टी होमिनुपर्ने यादवको भनाइ थियो।
सभापति देउवानिकट यादवले वैशाखमा महाधिवेशन गर्ने भनेपछि केन्द्रीय समिति मतभेद पनि देखियो। सहमहामन्त्रीले प्रस्ताव राख्न नपाउने भन्दै आलोचना पनि भयो। अर्को दिनको बैठकमा कार्यवाहक सभापति खड्काले दुई कार्यतालिका व्यक्तिगत भन्नुपरेको थियो। देउवानिकट नेता, सहमहामन्त्री फरमुल्लाह मन्सुरले यादवले ल्याएको कार्यतालिकामाथि प्रश्न उठाएपछि खड्काले ती धारणा व्यक्तिगत भन्दै प्रष्ट पारेका थिए।
त्यसपछि धेरै दिनसम्म केन्द्रीय समिति बैठक चले पनि सहमतिको कार्यतालिका आएन। केन्द्रीय सदस्य र पदाधिकारीले धारणा राखिसके पनि कात्तिक २७ गतेपछि केन्द्रीय समिति बैठक नै बस्न सकेको छैन। कार्यवाहक सभापति खड्काले भने केन्द्रीय समितिमा धारणा राख्न बाँकी छ।
महामन्त्री गगन थापाले मंगलबार एक भिडिओ सन्देश जारी गरी पार्टी रूपान्तरणका लागि आफूहरू लागेको र यसपटक नझुक्ने तथा नझुक्किने अडान राखेका छन्।
उनले त्यसअघि नेता शेखर कोइरालालाई विशालनगरमा पुगेर भेटे। भेटमा नेता कोइरालाले पुसभित्रै नियमित महाधिवेशन गर्न नसकिएको खण्डमा केन्द्रीय समितिबाट निर्णय गरेर विशेष महाधिवेशनमा जान सकिने कुरा बताएका थिए।
उक्त भेटमा नेता कोइराला, महामन्त्री थापा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे, नेताहरू गुरूराज घिमिरे तथा देवराज चालिसेलगायत थिए।
केन्द्रीय समिति बैठक नजिकिँदै गर्दा सभापति देउवा पक्षका केन्द्रीय सदस्यहरू पनि आज बेग्लाबेग्लै ठाउँमा आन्तरिक छलफलमा जुट्दैछन्।
केन्द्रीय सदस्य गुरू बरालले बानेश्वरमा आज पनि आन्तरिक छलफल गर्न लागेको बताए। अर्का केन्द्रीय सदस्य आङगेलु शेर्पाले कुपन्डोलमा २५ जना केन्द्रीय सदस्य बेग्लै छलफल गर्न लागेको बताए। शेर्पासहित २५ केन्द्रीय सदस्य महाधिवेशन गरेर मात्र चुनावमा जानुपर्नेमा छन्।
सभापति देउवा पक्षका करिब ८० जना केन्द्रीय सदस्यहरू बानेश्वरमा र २५ जना केन्द्रीय सदस्यहरू कुपन्डोलमा छलफल गर्न लागेका हुन्। देउवा पक्षका केन्द्रीय सदस्यहरू पनि चुनावअघि वा पछि महाधिवेशन भन्नेमा विभाजित छन्।
असोज २८ को केन्द्रीय समितिमा महामन्त्री थापाले १० एजेन्डा पेस गरेका थिए। ती एजेन्डामा केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा निर्णय गर्ने तयारीमा नेताहरू छन् तर केन्द्रीय समितिले निर्णय गर्न ढिलाइ गर्दा आन्तरिक छलफलहरू दिनहुँजसो भइरहेका छन्।