बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको 'एनडिए' गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ।
योसँगै जनता दल युनाइटेडका ७४ वर्षीय नितिश कुमार दुईतिहाइ बहुमतसहित बिहारका शक्तिशाली मुख्यमन्त्री बन्ने भएका छन्।
कुल २४३ सिटको विधानसभामा अहिले राति साढे ११ बजेसम्मको मतपरिणाम अनुसार एनडिए गठबन्धनले २०२ सिटमा विजय हासिल गरिसकेको छ।
बिहारमा शुक्रबार बिहानदेखि मतगणना जारी छ। यहाँ बहुमतको सरकार बनाउन १२२ सिट जित्नुपर्छ भने १६२ भन्दा बढी सिट जिते दुईतिहाइ हुन्छ।
राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेसको महागठबन्धन जम्मा ३४ सिटमा विजयी भएको छ भने एक सिटमा अग्रता लिइरहेको छ। महागठबन्धनले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा ३५ वर्षका तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको छ।
पहिलो पटक चुनावमा होमिएका रणनीतिकार प्रशान्त किशोरको जन सुराज पार्टीले एउटा सिट पनि जित्न सकेन।
अन्य दलहरूले ६ सिट जितेका छन्।
यसअघि सार्वजनिक विभिन्न मत सर्वेक्षण (एक्जिट पोल) का नतिजाले पनि एनडिए गठबन्धनले स्पष्ट बहुमत ल्याउने अनुमान गरेको थियो।