नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच एउटै पार्टी बनाएर जाने विषयमा सहमति भएको छ।
नेसपा (नयाँ शक्ति) की संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती र सन्तोष परियारबीच शुक्रबार पाँचबुँदे सहमति गरी एउटै पार्टी बनाएर जाने सहमति भएको हो।
बाबुराम भट्टराईले अध्यक्ष परित्याग गरेपछि सोब संयोजक बनेकी थिइन्, किराँती जनार्दन शर्मा नेतृत्वको अभियानमा छन् भने परियार आजै रास्वपा छाडेर आएका हुन्।
मंसिर ७ गते बृहत् एकता घोषणा गर्ने सहमति भएको नेता सुदन किराँतीले बताएका छन्। अब पार्टी कसरी अघि बढ्छ भन्ने विषयमा नेता सुदन किराँतीसँग कुराकानी गरेका छौं —
तीन फरक-फरक विचारबाट एक ठाउँमा आउनुभो? कसरी अगाडि बढ्दै हुनुहुन्छ?
हामी अलिकति नयाँ ढंगले नै जाने तयारीमा छौं। नेपालको समग्र राजनीतिको पुनर्संरचना गर्ने उद्देश्य र लक्ष्यले यो एकता हुन लागेको हो। त्यसैले हामी नेतृत्व प्रणालीमा पनि सोहीअनुसार छलफल गरिरहेका छौं। हाम्रो मोडालिटी भनेको सामूहिक नीति र सामूहिक नेतृत्वको हुन्छ।
अहिले को-को जोडिनुभयो यो तपाईंहरूको अभियानमा?
अहिलेलाई दुर्गा सोब संयोजक रहेको नेपाल समाजवादी (नयाँ शक्ति) र रास्वपाबाट सन्तोष परियारसहित हामी एकै ठाउँमा उभिएका छौं।
अब बाबुराम भट्टराईलाई नेतृत्व स्वीकारेर अगाडि बढ्ने भन्ने हो?
होइन। अब हाम्रो अभिभावकका रूपमा मात्रै बाबुराम भट्टराई र जनार्दन शर्माहरू बस्नुहुन्छ। उहाँहरूले अभिभावकका रूपमा मात्र बस्ने भनेर पूर्वघोषणा नै गरिसक्नुभएको छ। त्यसैले उहाँहरू कार्यकारी पदमा, कार्यकारी कमिटीमा वा कार्यकारी जिम्मेवारीमा आउनुहुन्न।
पार्टी चुनावमा जान्छ कि जाँदैन?
जाने हो नी। किन नजाने?
कसको नेतृत्वमा जान्छ?
अब सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, कर्मशील र वामपन्थी शक्ति एक ठाउँमा आउन हामीले अपिल गरेका छौं। अहिलेसम्म देशमा ३५-४० वर्ष एउटै अनुहारहरूले देश चलाएर आज यो स्थितिमा आइपुग्यो। यो भ्रष्टाचार, नातावाद, कृपावाद र आर्थिक संकटलाई समाधान गर्न नयाँ सोच र शक्तिहरू एक ठाउँमा आउनुपर्छ भनेर हामीले अपिल गरिसक्यौं।
भनेपछि हामीले अनुहार देखिरहेका जनार्दन शर्मा, बाबुराम भट्टराई, घनश्याम भुसालहरू अब कार्यकारी भूमिका वा चुनावमा देखिनुहुन्न?
उहाँहरू कार्यकारी कमिटीमा आउनुहुन्न। उहाँहरू अभिभावककै भूमिकामा मात्र आउनुहुन्छ।
पार्टीको नाम र चुनाव चिह्न के हुन्छ?
पार्टीको नाम र चुनाव चिह्न एउटै राख्ने भनेर हाम्रो टुंगो भएको छ। हामी मंसिर ७ गते यसलाई टुंगो गर्छौं। प्राविधिक रूपमा यो अघि बढिसकेको छ।
संगठन निर्माण र विस्तारको विषयमा अब कसरी अगाडि बढ्ने योजना छ?
हामी देशव्यापी रूपमा अभियान चलाउँछौं। हाम्रो पहिलो अभियान नै निर्वाचन सफल पारौं र अहिलेसम्म देशलाई भ्रष्टीकरण गरेर सञ्चालन गर्ने प्रवृत्तिहरूलाई समाप्त पारौं भन्ने हुन्छ।
तपाईंहरू नै नेता रहनुभएको पूर्वपार्टी ठूलो आकारको बनेको छ। कतिको प्रतिकूल होला?
के अप्ठ्यारो? उनीहरूसँग एजेन्डा हुनुपर्यो नि। अहिलेसम्म त उहाँहरूले नै चलाएको हो नि त।
तपाईंहरूमाथि नै विश्वास किन गर्ने भनेर मतदाताहरू अलिकति दिग्भ्रमित पो हुनुभयो कि?
होइन, अब मतदाता दिग्भ्रमित हुने होइन। अब राम्रो र नराम्रोको ध्रुवीकरण हुने बेला आएको छ। म त भन्छु, पुरानो दलभित्रका राम्रा मान्छेहरू पनि अब यो अभियानमा निस्किनुपर्छ। जसले हैकमवाद लादेर पार्टी चलाए, तिनीहरूलाई त्यहीँ छाडिदिएर, नयाँ चाहने पुरानो दलका 'सफा' मान्छेहरू यहाँ आउनुपर्छ। यो अब आउने लडाइँ भनेको सत्य र असत्यबीचको लडाइँ हो।
पूर्व माओवादीमा रहेका कति मान्छेहरू यता आउँछन् जस्तो लाग्छ? केही छलफलमा छन्?
कति आउँछन् भन्ने कुरासँग हामीलाई अहिले सरोकार भएन। देशभरिको राम्रो मान्छे एक ठाउँमा आउनुपर्यो। सबैसँग छलफल भइराखेको छ। हामीले यति आउनुपर्छ भनेर पार्टी फुटाएको वा विभाजन गरेको होइन। सकेसम्म हामीले त्याग, बलिदान, आँसु-पसिना बगाएको पार्टीलाई नै रुपान्तरण गर्न चाहन्थ्यौं। हामीलाई निकालियो।
तर तपाईंहरू त आफै निस्किनुभएको हो नि, धकेलेर भन्नुभयो?
हामीलाई त धकेलियो नि त! हाम्रो एजेन्डा सुनिएन। हाम्रो प्रस्तावलाई बेवास्ता गरियो। बहुमतको डन्डा लगाएर (महाधिवेशनको) एकताका नाममा अधिवेशनलाई काटियो। त्यहाँभित्रको 'जनता' को हत्या गर्ने काम गरियो। त्यसैले हामी निस्कियौं।
समग्रमा त सबै कम्युनिस्ट पार्टी एकै हुनुपर्छ भन्ने यहाँहरूको पनि बुझाइ होइन र?
अब कम्युनिस्ट पार्टी भनेको विचारबाटै फेरिएर आउनुपर्छ। त्यस कारण हामीले 'पुनर्संरचना'को कुरा गरेका छौं।
आजभन्दा ९० वर्षअगाडि 'इन्जिनियरिङ' गरेको जुन जग छ नि, त्यसैलाई हामीले फेर्नुपर्छ। त्यो जगले अबको आवश्यकता, आजको चाहना र अवस्था धान्न सक्दैन। त्यस कारण हामी त नेपाली राजनीतिको समग्रमा पुनर्संरचना गर्ने; हाम्रो विचारमा, राजनीतिमा, संगठनमा, कार्यशैलीमा, अर्थप्रणालीमा, छिमेकी नीतिमा, सबैमा बदल्नुपर्छ भन्नेमा छौं।
भन्नाले अहिलेसम्म भइरहेका यी सबै अभ्यास फेल भइसक्यो भन्ने तपाईंको निष्कर्ष हो?
फेलै भयो। फेलै भयो त। जुन पार्टी गठन गरे पनि किन फेल हुँदैछ त? एकमना सरकार दिँदा पनि फेल भयो, दुईतिहाइ बहुमत दिँदा पनि फेल भयो। १२ वटा मिले पनि, २० वटा मिले पनि केही भएन नि त। त्यसैले हामी छुट्टियौं।