एक दर्जन वाम घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीलाई भोलि मतदाताले कुन हैसियतमा राख्लान्, त्यो त निर्वाचनपछि नै थाहा हुन्छ। तर अहिलेलाई यो यस्तो पार्टी बनेको छ, जसमा केन्द्रीय स्तरका नेताहरूको फौज छ।
विभिन्न पार्टीबाट विभिन्न कारणले निस्किएर वा निकालिएर एकठाउँ आइपुगेका यी नेताहरू आफ्नो एकतालाई 'कम्युनिस्ट आन्दोलनकै ऐतिहासिक क्षण' भन्छन्। तर नेताहरूको विशाल फौज उभिएको यो पार्टीमा तिनै नेताको व्यवस्थापन कसरी हुन्छ भन्ने सबैको चासोको विषय बनेको छ।
सबभन्दा पहिला नेपाली कम्युनिस्ट पार्टीमा देखिएका शीर्ष तहका अनुहार हेरौं।
यसमा पहिले प्रधानमन्त्री भइसकेका नेता नै तीन जना छन् — पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल र झलनाथ खनाल।
पार्टीमा उनीहरूको वरीयता क्रमशः पहिलो, दोस्रो र तेस्रो तोकिएको छ।
त्यसपछि वामदेव गौतम चौथो, नारायणकाजी श्रेष्ठ र भीम रावल छैटौं वरीयताका नेता हुन्।
छैटौं वरीयताका रावल सबभन्दा पछिल्लो पटक समाहित भएका हुन्। नेकपा एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि मातृभूमि जागरण अभियान चलाएका डा. भीम रावल बुधबार यो पार्टीसँग जोडिएका थिए।
यीबाहेक पूर्वमाओवादी केन्द्र र एकीकृत समाजवादीका पदाधिकारी तहका नेता मात्र ५० जना भन्दा बढी छन्। त्यसमा थुप्रै प्रभावशाली अनुहार पनि छन्।
उदाहरणका लागि — पूर्वमाओवादी केन्द्रको पदाधिकारी तहका प्रचण्ड र नारायणकाजीबाहेक कृष्णबहादुर महरा, अग्नि सापकोटा, पम्फा भुसाल, नन्दबहादुर पुन, देव गुरूङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, मातृका यादव, दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य, सुरेन्द्र कार्की, गंगानारायण श्रेष्ठ लगायत यो पार्टीमा छन्।
पूर्व नेकपा (एकीकृत समाजवादी) सचिवालयको आकार २४ सदस्यीय थियो।
पदाधिकारी तहमा माधव, झलनाथ र वामदेवबाहेक राजेन्द्र पाण्डे, डा. बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, धर्मनाथ साह, जयन्ती राई, प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, घनश्याम भूसाल, राजेन्द्र राई, गरिमा साह, मेटमणि चौधरी, रामकुमार भट्टराई, सावित्रा भूसाल, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, बलदेव चौधरी, श्रीनाथ बराल, गणेशबहादुर विश्वकर्मा र शेरबहादुर कुँवर थिए।
यीमध्ये घनेन्द्र बस्नेत, घनश्याम भूसाल, प्रेम आले लगायतका नेता एकीकरणमा गएनन्। रामकुमारी झाक्री र किसन श्रेष्ठ एमाले फर्किसकेका छन्।
यति मात्र होइन, नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादव, जनसमाजवादी पार्टीका सुवासराज काफ्ले, नेकपा समाजवादीका राजु कार्की, नेकपाका महासचिव चिरन पुन, नेकपा (माओवादी समाजवादी) का कर्णजित बुढाथोकी, नेकपा साम्यवादीका प्रेमबहादुर सिंह, देशभक्त समाजवादी पार्टीका गोपाल किराती, नेकपा श्रमजीविका प्रमोद यादव लगायतका नेता पनि छन्।
पूर्वमाओवादी केन्द्र र एकीकृत समाजवादीबाहेक अरू दलको केन्द्रीय कमिटीको आकार खुलेको छैन।
माओवादी केन्द्रको केन्द्रीय कमिटीको आकार ४०८ सदस्यीय थियो। एकीकृत समाजवादीमा त्योभन्दा ठूलो झन्डै ६०० सदस्यीय केन्द्रीय कमिटी थियो। ८८ जना केन्द्रीय सदस्य अन्तिम बैठकमा थपिएका थिए। त्यही कमिटीबाट माओवादी केन्द्रसहितका दलसँग एकतामा जाने निर्णय भएको थियो।
यसरी दुई पार्टीको मात्र केन्द्रीय सदस्य जोड्दा एक हजार नाघ्छ। सबै घटक जोड्दा केन्द्रीय कमिटीको आकार नै भीमकाय देखिने भएको छ।
पूर्व एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधर पार्टी एकीकरण घोषणा भए पनि सबै घटकको केन्द्रीय कमिटी मर्ज नभइसकेको बताउँछन्।
'त्यसको लेखाजोखा बाँकी नै छ। पूर्व माओवादी केन्द्रको नेतृत्वमा रहेका, हाम्रो पार्टीको नेतृत्वमा रहेका, दुवैको स्थायी कमिटी र अरू पार्टीका पनि पदाधिकारी तहका नेताहरू राखेर पार्टी दर्ताका निम्ति सानो आकारको सूची निर्वाचन आयोगमा पेस गरेका छौं,' उनले भने।
यति हुँदाहुँदै केन्द्रीय कमिटीको आकार २ हजार सदस्यीय पुग्ने आकलन रहेको उनी बताउँछन्।
'यथास्थितिमा सबै घटकको केन्द्रीय कमिटी जोड्दा १८ सयभन्दा कम हुँदैन,' उनले भने, 'दुई हजारभन्दा बढी हुँदैन भन्ने अनुमान छ।'
कात्तिक १९ गते दसवटा पार्टी मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीमा अहिलेसम्म १२ वाम घटक एकताबद्ध भइसकेका छन्। यसमा अहिलेसम्म केन्द्रीय संयोजक र सह-संयोजक मात्र छन्।
जेनजी आन्दोलनपछि केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति गठन गरेर संयोजक बनेका प्रचण्ड एकीकरणपछि बनेको पार्टीमा पनि संयोजक छन्। त्यस्तै, एकता हुनुअघि एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपाल एकीकरणपछि बनेको पार्टीमा सह-संयोजक तोकिएका छन्।
महाधिवेशन नहुँदासम्म केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिमा संयोजक र सह-संयोजककै संरचना बनाएर अघि बढ्ने सहमति छ।
अब प्रश्न उठ्छ, शीर्ष तहदेखि केन्द्रीय स्तरका यति धेरै नेताहरूको व्यवस्थापन कसरी हुन्छ?
पार्टी एकीकरण हुँदा नै ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति भएको थियो। त्यसका लागि कार्यविधि बन्न बाँकी छ।
यसको अर्थ, फागुन २१ को निर्वाचनसम्म पार्टीको केन्द्रदेखि तल्लो कमिटी संयोजक र सह-संयोजकको संरचनामा रहनेछ।
शीर्ष तहकाले नेताहरूको व्यवस्थापनमा समस्या नहुने दाबी गरे पनि वास्तविकता चुनौतीपूर्ण रहेको तुलाधर बताउँछन्। चुनावसम्म पार्टीभित्र जुँगाको लडाइँ नहुने परिस्थिति निर्माण गर्न कठिन रहेको उनको बुझाइ छ।
'कम्युनिस्ट पार्टीहरूको कमजोरी नै नेतृत्व व्यवस्थापन गर्न नसक्नु र टुटफुट हुनु हो,' उनले भने, 'त्यसो हुन नदिन शीर्ष तह जिम्मेवारी लिन र त्याग गर्न तयार हुनुपर्छ।'
उनले अगाडि भने, 'प्रचण्ड र माधव कमरेडले अभिभावकीय जिम्मेवारीमा रहन तयार छु भनेर सार्वजनिक रूपमै भन्नुभएको छ। परिस्थितिको माग भए त्यस्तै हुन्छ भन्नेमा विश्वस्त छौं। त्यसपछि महाधिवेशनबाट प्रतिस्पर्धामा खरो उत्रिने नेताहरू नै नेतृत्वमा आउने छन्।'
प्रतिस्पर्धा गर्न पनि नेताहरूको क्षमता, कार्यशैली, उमेर लगायत विभिन्न मापदण्डबाट योग्यता मापन गरिनुपर्ने उनले बताए।
'मेरै हकमा पनि मभन्दा योग्य व्यक्ति आउँछन् भने मैले मार्गप्रशस्त गर्नुपर्छ। तर मभन्दा कम योग्य आउँछन् भने मैले दाबी गर्नुपर्छ,' उनले भने, 'हिजो एमालेमा हुँदा ७० वर्षे उमेरहद वैज्ञानिक थियो। त्यसलाई कायम नराख्दा दलहरूमा अहिलेको अवस्था आयो। त्यसो नगरे नेतृत्वमा नयाँ व्यक्ति आउने सम्भावना रहँदैन। हामी त्यही अभ्यास गरेर व्यवस्थापन गर्छौं भन्ने लागेको छ।'
नेता तुलाधरले पछिल्लो जेनजी आन्दोलनको भावना अनुसार पार्टीले युवा पुस्तालाई पनि नेतृत्वमा ल्याउने बताए।
'नवपुस्तालाई ल्याउने कुरा जायज हो। तर कम्युनिस्ट पार्टीमा भरलाग्दा नेतृत्व बनिसकेका छैनन्। दिग्गज नेताहरूले अहिलेसम्म योग्य उत्तराधिकारी बनाउन सकेका रहेनछन्,' उनले भने, 'सम्पूर्ण पार्टीको नेतृत्वमा नभए पनि नवयुवाहरू अरू तहमा नेतृत्वदायी भूमिकामा आउने गरी पार्टीले वातावरण बनाउँछ।'
जतिसुकै त्याग गरेर भए पनि अहिलेको एकतालाई जोगाउनैपर्ने उनले बताए।
'अहिलेको एकता टिकेन भने कम्युनिस्ट आन्दोलन विसर्जनतिर जान्छ। अग्रजहरू नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा हुनुहुन्छ। फ्रन्टलाइनमा एक-से-एक नेता छन्। जतिसुकै चुनौतीपूर्ण भए पनि टुटेर होइन, जुटेर जानुपर्छ भन्ने साझा निष्कर्ष छ,' उनले भने।
पूर्व माओवादी केन्द्रका नेता हरिबोल गजुरेल महाधिवेशनअघि क्षमता र हैसियतअनुसार नेताहरूको व्यवस्थापन हुने बताउँछन्।
महाधिवेशनअघि उमेर, क्षमता र अरू विभिन्न आधारमा छानिएका नेताहरूको कार्यकारी तह बन्ने उनले बताए।
'एकताअघि माओवादी केन्द्रको पदाधिकारी थियो, सचिवालय थियो। एकीकृत समाजवादीको पदाधिकारी थियो,' उनले भने, 'सचिवालय, पदाधिकारी र थप अरू पार्टीबाट आउनेहरूलाई राखेर कार्यकारी तह बनाएपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषय त्यहीँ छलफल गरी निर्णय हुन्छ।'
महाधिवेशन आयोजक समिति लगायत विभिन्न तहमा नेताहरूलाई यथोचित जिम्मेवारी दिएर पार्टीले व्यवस्थापन गर्ने पनि उनले बताए।
'विभिन्न तहहरू बनाएर सबैलाई मिलाएर लगिन्छ। भूगोलको जिम्मेवारी छ। विभागको जिम्मेवारी हुन्छ। कहीँ संरक्षकजस्तो हुन्छ। सक्रिय भूमिका खेल्न सक्नेलाई कार्यकारी भूमिका दिनुपर्यो। त्यो स्थिति अवस्था हेरेर गर्ने कुरा हो। त्यसका लागि गृहकार्य भइरहेको छ,' नेता गजुरेलले भने।
***