चीनले अमेरिकालाई दुर्लभ खनिज पदार्थ निर्यात खुकुलो पार्दा तीनको सैन्य सामाग्रीमा प्रयोग भने नियन्त्रण गर्ने नीति लिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच अक्टोबर महिनाको अन्त्यमा भेट भएपछि दुइ देशले एक वर्षका लागि व्यापार–युद्ध विराम गरेका छन्। त्यसो गरे पछि चीनले दुर्लभ खनिज पदार्थ निर्यातमा गरेको कडाइ फिर्ता लिएको छ।
दुर्लभ खनिज पदार्थ निर्यात सुचारू गर्दा अमेरिकी सेनासँग सम्बन्ध नभएका कम्पनीहरूलाई मात्रै द्रुत गतिमा निर्यात स्वीकृति दिने नीति चीनले अपनाएको भनेर अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ।
चीनले ती दुर्लभ खनिज पदार्थको अन्तिम प्रयोग कर्ता को हो भनेर प्रमाणित गर्ने प्रक्रिया ल्याएको छ। सो प्रक्रियाले ती पदार्थ अमेरिकी सेनाले सामाग्री आपूर्तिकर्ता गर्ने कम्पनीहरूसम्म नपुगुन् भन्ने सुनिश्चित गर्नेछ।
सो नीति कडाइका साथ पालना भयो भने सैन्य र गैरसैनिक दुवै प्रयोजनका लागि उत्पादन गर्ने हवाइ र मोटर कम्पनी लगायतलाई मुश्किल पार्ने भनेर जर्नलले जनाएको छ।
दुई हप्ताअघि दक्षिण कोरियामा दुई राष्ट्रपतिबीच भएको छलफलपछि उनीहरू एक वर्षका लागि व्यापार सुलह गर्न सहमत भएका थिए।
ट्रम्प आफूले केहि अघि चिनियाँ वस्तुमा थप १०० प्रतिशत भन्सार बढाउने भनेर दिएको धम्कीबाट पछि हटेका छन्।
त्यस्तै, चीनले अमेरिकी भटमास किन्ने बताएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार चीनले आगामी केही महिनामा एक करोड २० लाख टन र त्यसपछिका तीन वर्षसम्म वार्षिक दुई करोड ५० लाख टनका दरले अमेरिकी भटमास किन्ने वाचा गरेको छ।
चीनले फेन्टनिल लागुपदार्थ बनाउन चाहिने कच्चा रसायन बिक्रीमा कडाइ गर्ने वाचा गरेको छ। योसँगै चिनियाँ वस्तुमा लगाएको भन्सार १० प्रतिशतले घटाउन ट्रम्प सहमत भएका छन्। त्यस्तै दुवै देशले एकअर्काका पानीजहाजलाई लगाएको उच्च बन्दरगाह शुल्क पनि हटाएका छन्।
चीनले दुर्लभ खनिज पदार्थ निर्यातमा गरेको कडाइ फिर्ता लिएको छ। तर दुर्लभ खनिज पदार्थ निर्यात खुकुलो पारे पनि ती पदार्थ सैन्य प्रयोजनमा प्रयोग नहोस् भनेर चीनले सुनिश्चितता गर्न खोजेको देखिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)