नेकपा (एमाले) निकट विद्यार्थी संगठनभित्र तीब्र विवाद देखिएको छ।
भदौ २३ गतेको जेनजी आन्दोलनका दिन पदबाट राजीनामा दिएका अध्यक्ष डा. सुजन कडरिया पदमा फर्कने प्रयासमा छन्।
गत कात्तिक २४ गते एमालेले सञ्चालन गरेको घर फर्क अभियानको मौका छोपेर अध्यक्ष कडरिया दलबलसहित कार्यालय फर्किएका थिए। मोटरसाइकल र्यालीसहित राष्ट्रिय सभागृह पुगेका कडरियाले सोही दलबल लिएर अध्यक्षको कार्यकक्षमा प्रवेश गरेपछि महासचिव दीपक धामीले प्रतिवाद गरेका छन्।
उनले मंगलबार कायरतापूर्ण हिसाबले राजीनामा दिएको अध्यक्ष फेरि पदमा फर्कन खोज्नु विधान र प्रक्रिया विपरीत भन्दै भ्रममा नपर्न कार्यकर्तालाई अपिल गरेका थिए।
‘केही दिनदेखि अनेरास्ववियुको आधिकारिक फेसबुक पेज तथा संगठनको लेटरप्याड समेत दुरुपयोग हुँदै आएका घटनाप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ। जेनजी आन्दोलनपश्चात् देशमा घटित परिस्थितिको हवाला दिई दृढतापूर्वक नेतृत्व गर्नुपर्ने बेला संगठनलाई ध्वस्त पार्ने नियतका साथ कायरतापूर्वक राजिनामा दिएर अध्यक्ष पद परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन कडरियाले गरेको गैह्रजिम्मेवार, अराजक र अनुशासनहीन हर्कतप्रति अनेरास्ववियु घोर भर्त्सना गर्दछ,’ उनले विज्ञप्तिमार्फत् भनेका थिए।
त्यसलगत्तै उपमहासचिव कमल जोशीले विज्ञप्ति निकालेर अध्यक्षको प्रतिरक्षा गरे। उनले अनेरास्ववियुलाई संगठनले तय गरेको विधिअनुसार सञ्चालन गनुपर्ने बताएका थिए। ‘हाहु गरेर संगठन चलाउन नसकिने, विधि र विधान सबैले पालना गर्नुपर्छ’ भन्दै उनले महासचिव धामीलाई प्रक्रिया सम्झाउन खोजेका थिए।
अनेरास्ववियुको विवादबारे एमालेको नेतृत्वले मुख खोलिसकेको छैन। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको दसौं बैठकमा अनेरास्ववियुका अध्यक्ष डा. कडरियाले पद त्यागेका प्रति कटाक्ष पनि गरेका थिए। उनले सबैतिर युवा आउनुपर्छ भनिरहँदा ३२ वर्षमुनिकै युवालाई अनेरास्ववियुको अध्यक्ष दिँदा मैदान छाडेर भागेको टिप्पणी गरेका थिए।
भदौ २३ गते आफू तरंगित भएर राजीनामाको कदम उठाउनु त्रुटि थियो भन्दै कडरिया अहिले पदमा फर्कन खोजेपछि अनेरास्ववियुको पंक्ति तरंगित छ।
यसबारे हामीले अनेरास्ववियुका अध्यक्ष कडरियासँग कुरा गरेका छौं।
उनले पनि आफ्नो पुनरागमनले अनेरास्ववियुमा अन्तरविरोध पैदा भएको, पक्ष–विपक्षको माहौल बनेको स्वीकार गरे। सेतोपाटीसँगको कुराकानीमा आफू विधिसम्म निकास दिन तयार रहेको बताउँदै पदकै छिनाझपटीमा आफू कहिल्यै नलागेको प्रतिक्रिया दिए।
‘हाम्रो मातृ पार्टी एमालेले अनेरास्ववियुको विषय आन्तरिक रूपमा मिलाउन सकिन्छ कि भनेर लामो समयदेखि छलफल गरेकै थियो। सहजीकरणको प्रयत्न पनि गरेको थियो,’ उनले भने, ‘मैले राजीनामा दिएको लामो समय हुँदा पनि कुनै निकास निस्किएन। संगठनको गति अवरूद्धजस्तै भयो। झन्झन् विवाद र अन्तरविरोध देखिन थाल्यो। यो समस्या धेरैबेर राख्नु भएन, गाँठो फुकाउनुपर्यो भनेर लागेको हुँ।’
उनले भदौ २३ गते बहकाउमा परेर राजीनामा दिएको बताए। त्यतिबेला विद्यार्थीको रगतले आफूलाई भावुक बनाएकाले पदमा बसिरहन अनुचित ठानेको बताए। तर बुझ्दै जाँदा भावुकतावश निर्णय गरेछु भन्ने ठाउँमा पुगेको पनि बताए।
‘सामाजिक सञ्जालको भावनाबाट मात्रै चल्दैन भन्ने बुझेँ। मलाई महाधिवेशनले निर्वाचित गरेको थियो। भदौ २३ गते छुट्टै खालको परिस्थिति थियो। स्कुल ड्रेसमा विद्यार्थी ढलिराखेका थिए। जताजतै रगत बगेको स्थिति थियो। त्यो दिन हामीमा परिपक्वताको पनि कमी भयो अथवा हामी कुनै न कुनै बहकाउमा पर्यौं। विद्यार्थी ढलिराखेको छ, विद्यार्थी नेता हुँ कसरी भन्नु भन्ने भाव आयो केही त गर्नुपर्यो भनेर सामाजिक सञ्जालमा स्टेटमेन्ट दिएको हुँ,’ उनले भने।
तर सामाजिक सञ्जालमार्फत् अभिव्यक्त गरेको त्यतिबेलाका्े स्टेटमेन्टलाई लिएर आफूलाई मार्ग प्रशस्त गर्ने मौका नै नदिइएको उनले बताए। आफूले विधिसम्मत ढंगले निकास दिन खोजेकाले केन्द्रीय कमिटी र अखिलको मौजुदा पदाधिकारीहरूले त्यो मौका दिइनुपर्ने पनि धारणा राखे।
‘त्यो स्टेटमेन्टलाई लिएर मार्ग प्रशस्त नै गर्न नपाउने, बैठकमा राजीनामा नै दिन नपाउने भन्ने त हुँदैन नि! हाम्रो संगठनको आफ्नै विधि छ, परम्परा छ, स्थापित मूल्य छ, नीति, सिद्धान्त पनि छ,’ उनले भने, ‘राजीनामा लगेर केन्द्रीय कमिटीमा प्रस्तुत गरिन्छ होला, केन्द्रीय कमिटी बैठकले त्यसलाई सदर गर्छ होला।’
आफूले राजीनामा दिएपछि विधिसम्मत निकास निकाल्नुको सट्टा अखिलका पदाधिकारीहरू आफै नेता बन्न दौडिँदा समस्या उत्पनन भएको र अहिलेको अन्तरविरोधको चुरो कुरा यही रहेको उनले बताए।
‘साथीहरू आफैआफै छलफल गरेर, एकदुई जना बसेर, कोही आफू अनुकूलका नेताहरूसँग बसेर आफू आफै नेता बन्न खोजिरहेका छन्। गुण्डु पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मेराविरूद्ध नचाहिँदो कुरा लगाइरहेका छन्,’ उनले भने।
अहिले अध्यक्षले सुनुवाइ नगरेको कारणले केही नेतामा छटपटी देखिएको अनेक अफवाह फैलाएको उनले आरोप लगाए।
‘पार्टीले घर फर्क अभियान चलाएपछि देशैभर एउटा सकारात्मक सन्देश प्रवाह भएको छ। उनीहरू सबैको उत्साह बोकेर, जेनजीसहितको उपस्थितिमा हामी कार्यालय प्रवेश गरेका हौं,’ उनले भने, ‘यहाँहरूलाई थाहा छ, हाम्रो कार्यालय तोडफोड भयो। अनधिकृत व्यक्तिहरू प्रवेश गरेर संगठनको अध्यक्षको फोटो जलाउने काम भयो। मैले पो राजीनामा दिएको थिएँ। अरू साथीहरूले कार्यालय जल्यो पनि भन्न सकेनन्, तोडफोड भयो पनि भन्न सकेनन्! यहाँ त शंका गर्नुपर्ने विषय देखियो। संगठनकै साथीहरूले पठाएका हुन् कि, आशंका गर्ने ठाउँ छ नि!,’ उनले भने।
अहिले विद्यार्थी राजनीतिमा पद मात्रै सर्वोपरि हो भन्ने अवस्था देखिएको भन्दै त्यसप्रति पनि आफूले विद्रोह गरेको दाबी गरे। संगठन विधिमा चलाउनुपर्छ भनेर आफू उभिएको पनि उनले बताए।
‘सामान्यतया म पदमा बस्नैपर्छ, त्यसका लागि सतिसाल बनेर उभिनैपर्छ भन्ने होइन। विधि, विधानअनुरूप केन्द्रीय कमिटीबाट निकास खोजौं भन्ने हो,’ उनले भने, ‘उपाध्यक्षहरूमध्ये कोही अध्यक्ष हुन्छन् होला, संगठनको। उपाध्यक्षहरूलाई बनाउने कुरामा म पनि सहमतिमा आउन सक्छु। तर महासचिव, उपमहासचिव, सचिवलाई अध्यक्ष कसरी बनाउनु! महाधिवेशनको म्यान्डेड त मैले पाएको हो नि।’
उनले अहिले महासचिवलाई अध्यक्ष बनाउन खोजिएको भन्दै विशेष महाधिवेशनमा पनि जान सकिने धारणा राखे। यद्यपि यसको छिनोफानो पनि केन्द्रीय कमिटी बैठकले गर्नुपर्ने उनको तर्क छ।
‘जुन किसिमले महासचिवलाई अध्यक्ष बनाउने प्रस्ताव छ, त्यो अवैधानिक प्रक्रिया हो। मान्न सकिँदैन। बरु विशेष महाधिवेशन गरौं। म मार्ग प्रशस्त गर्न तयार छु। राजीनामा दिएकाले केन्द्रीय कमिटीका बहुसंख्यक साथीहरूले मार्ग प्रशस्त गर्नुपर्छ भन्नुभयो भने प्रक्रियाअनुसार छाड्छु,’ उनले भने।
उनले अहिलेको कदम एमाले केन्द्रीय नेताहरूकै परामर्शमा उठाएको बताए। तर को नेतासँग छलफल गरेको भनेर चाहिँ बताएन्।
‘केन्द्रीय कमिटीको दसौं बैठकमा मेरो विषयमा प्रश्नहरू उठेको थियो। त्यतिबेला कुनै पनि निर्णय भएन। त्यसपछि मैले केन्द्रीय नेताहरूसँग छलफल गरेँ। संगठनको आन्तरिक जीवनको व्यवस्थापन संगठनको विधिबाट गरौं? भनेर सोधेँ। उहाँहरूले ठीक छ त्यही अनुसार गर्नुस्। तपाईं रहँदै गर्दा कति सजिलो हुन्छ, नरहँदा के हुन्छ, छलफल गर्नुहोला। तपाईंहरूको निर्णयले संगठनलाई असर नगरोस्। यही विचार गरेर कदम चाल्नुहोला भन्नुभएको थियो,’ उनले भने।